बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • सिंहदरबार नधाएर पुग्दैन साइपालमा चामल
Breaking News

सिंहदरबार नधाएर पुग्दैन साइपालमा चामल

साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उनीहरूको आयस्रोत सिजनअनुसार यार्सागुम्बा संकलन नै हो । दुई जना वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा संकलनमा हिमाल चढ्छन् । त्यसबाट तामाङको परिवारले ५/६ लाख रूपैयाँ आम्दानी गर्छन् । त्योबाहेक उनीहरूको आम्दानीको स्रोत अन्य केही छैन ।

एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने धुलीमा ११ महिना किनेरै खानुपर्छ । सोनामको परिवारमा वर्षभरिका लागि करिब ११ क्विन्टल चामल आवश्यक पर्छ । गएको वर्ष मात्रै उनको परिवारले ९ क्विन्टल नै चामल किन्नुप¥यो । सहुलियत चामल (खाद्य संस्थानबाट प्राप्त) साढे दुई क्विन्टल मात्रै चामल पाएपछि महँगोमा किन्नुपरेको सोनामले बताए ।

तामाङको परिवारले एक वर्षमा एक लाख रूपैयाँ चामल ढुवानीमै खर्च गरे । चामलसँगै अन्य दैनिक उपभोग्य सामानमा पनि वार्षिक झण्डै एक लाख रूपैयाँ खर्च गरेको उनले सुनाए । ‘सदरमुकाम चैनपुरमा पाउने सामान साइपालमा पुग्दा चौबर हुने गर्छ,’ सोनामले भने, ‘साइपालको धुली पुग्न चैनपुरबाट पाँच दिन पैदल यात्रा गर्नुपर्छ । ५ दिन लगाएर बोकेको सामान चौबरभन्दा बढी नै हुन्छ ।’ चिसोले अलि बढी नै खाना खाने, त्यसैमा बिहान बेलुका भात खाने हुँदा बढी खरिद गर्नुपरेको उनले बताए ।

सोनामका जस्तै अवस्था छ, साइपाल गाउँपालिका–५ बलौडीका पदम बोहराको । पदमको परिवारमा पाँच जना छन् । उनको परिवारलाई वार्षिक ७ क्विन्टल चामल आवश्यक पर्छ । हिउँदेबाली कोदो र जौ एक महिना मात्रै पुग्ने भएपछि नियमित किनेरै खानु परेको उनले सुनाए । ‘गत वर्ष खाद्यको चामल डेढ क्विन्टल मात्रै पाएको हुँ,’ उनले भने, ‘त्यो चामल दुई महिना मात्रै पुग्यो । बाँकीका महिना किनेरै खायौँ ।’

ताक्लाकोट नाका बन्द हुँदा सास्ती

नेपाल–चीन सीमा नाका पूर्ण रूपमा बन्द भएको पाँच वर्ष भयो । नाकाबन्द हुँदा मारमा परे साइपालबासी । धुलीबाट नजिकै पर्ने हुँदा साइपालबासीका दैनिक उपभोग्य सामान ताक्लाकोटबाटै आउँथे । खाद्य संस्थानले दिने मूल्यभन्दा सस्तोमा चिनियाँ खाद्यान्न साइपाल पुग्थ्यो ।

सोनामकी श्रीमती सोनाम तामाङ (दम्पतीको एउटै नाम) ले भनिन्, ‘हामीलाई खाद्य संकट हुन लागेको पाँच वर्ष नै भयो । ताक्लाकोट नाका बन्द भएपछि सदरमुकामबाट सामान ल्याउन सुरू ग¥यौँ । सदरमुकामबाट ल्याउँदा सामानको मूल्य चौबरभन्दा बढी पर्न थाल्यो ।

साइपाल–५ न्यूनाका वडाध्यक्ष जैपाल बोहराका अनुसार नाकाबन्दी हुनुअघि वडा नम्बर ३, ४ र ५ का गाउँहरू न्यूना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, एैराडी, पराली, डाउगाउँलगायतका गाउँमा चिनियाँ सामान नै हुन्थ्यो ।’ धलौनमा भने तलकोट गाउँपालिका पनि नजिक पर्ने हुँदा दुबैतिरबाट आवश्यकताअनुसार सामान आउने गरेको उनी सम्झन्छन् । तर, नाकाबन्दीपछि भने आवतजावत नै ठप्प भएको उनले बताए ।

मान्छेले बोकेको (ज्याला) प्रतिकेजी दुई सय रूपैयाँ

दुई वर्ष अगाडि साइपालमा निकै खाद्य संकट थियो । भोकमरी हुने भएपछि धुलीका भीम धामीले चैनपुरबाट चामल अर्डर गरे । तलकोटको रूपातोलाका गोविन्द बोहरा, उनका दाई प्रदिपसहित तीन जनाले एक क्विन्टल चामल उनको घर पु¥याए । एक क्विन्टल चामल पु¥याएबाफत भीमबाट प्रतिकेजी दुई सय रूपैयाँका दरले बीस हजार लिए । ‘रूपातोलाबाट धुलीसम्म प्रतिकेजी दुई सय रूपैयाँ लागेकै दररेट हो,’ गोविन्दले भने, ‘अरू सामान त दुई सयकै दरले सधैँ बोकिन्थ्यो, अहिले पनि सोही मूल्यका बोकिरहेका छौँ । चामल भने त्यसबखत नै पहिलो चोटी नै थियो ।

मान्छेले चामल बोकेर साइपालको धुली पुर्‍याउँदा प्रति क्विन्टल (मोटो चामल) साढे २२ हजार रूपैयाँमा पुग्छ । खच्चडमा बोकाउँदा प्रति क्विन्टल १३ हजार पर्छ । न्यूनाका जीवन बोहराले भने, ‘खच्चड हिउँदे याममा मात्रै आउँछ । बर्खामा खोलानाला बढ्ने हुँदा मान्छेले मात्रै आवतजावत गर्छन् । बर्खामा खाद्यसंकट भए बोकेरै ल्याउनुपर्छ । आफैँले बोक्न नसके भरियालाई ज्याला तिरेर ल्याउनुपर्छ ।’

गोविन्दका अनुसार किर्किट्या हुँदै कालडाँडाबाट न्युनासम्म प्रतिकेजी १८० रूपैयाँ ज्याला लाग्छ भने बलौडीसम्म १९० र धुलीसम्म प्रतिकेजी दुई सय रूपैयाँ लाग्छ । बोहोराले भने, ‘हामी महिनामा ४/५ पटक साइपालको सामान बोकेर गन्तव्यमा पु¥याउँछौँ ।’ प्रायः फलामका रडहरू, किला, जस्तापाता, भाँडाकुँडालगायतका विभिन्न सामानहरू बोक्ने गरेको उनले बताए । ‘खाद्यको ढुवानी बढी जसो खच्चडबाट नै हुन्छ ।’ उनले भने ।

स्थायी डिपो नहुँदा सास्ती

साइपालबासीले खाद्य संकटको समस्या लिएर राज्यको दैलो चहार्न थालेको वर्षौं बितिसक्यो । करिब तीन हजार जनसंख्या रहेको साइपालमा खाद्यान्नका लागि पालिकाले हरेक वर्ष सिंहदरबार चहार्दै आएको छ ।

साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी आफ्नो पाँच वर्षे कार्यकालमा चार पटक खाद्यान्नका लागि बालुवाटार पुगेका थिए । अहिलेका अध्यक्ष मानविर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पनि खाद्यको समस्या समाधानका लागि यसै वर्ष तीन पटक राजधानी पुगिसके । उनीहरूको माग हो साइपालमा खाद्य संस्थानको स्थायी डिपो । ‘त्यो भएमा खाद्य संकट टर्ने थियो,’ अध्यक्ष बोहराले भने ।

प्रधानमन्त्रीको ध्यानाकर्षणपछि मात्रै साइपालले छिटो चामल पाउने गरेको पूर्वअध्यक्ष धामीले बताए । उनले भने, ‘साइपालका लागि स्थायी डिपो नहुँदा सधैँ खाद्यान्नका लागि पिरलो हुन्छ ।’ ठेकेदारले पनि आफूखुसी खाद्यान्न पु¥याउँदा वितरणमा समानता नभएको उनले बताए ।

साइपालमा खाद्यान्नका लागि यस वर्ष २५ सय क्विन्टल चामलको ठेक्का परेको छ । चालू आर्थिक वर्षमा साइपालमा ढुवानी गर्ने गरी देवराज जोशीले ठेक्का लिएका छन् । तर, चालू आवको १० महिना बित्नै लाग्दासमेत १५ सय क्विन्टल मात्रै चामल पुगेको साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहराले बताए ।

बोहराका अनुसार साइपालमा चामलको आवश्यकता पाँच हजार क्विन्टल हो । तर, ठेकेदारले समयमै ढुवानी नगर्दा न ठेक्का रद्द गर्न सकिने, नत थप्न नै सकिने भएको छ । ‘साइपालमा खाद्यान्न नभएर कन्दमुलको खोजी गर्नुपर्ने अवस्था भइसकेको छ,’ उनले भने, ‘यता ठेकेदारले लापरबाही गरिरहेको छ । हामीले २५ सय क्विन्टल चामल दसैँअगावै पु¥याइसक्नुपथ्र्यो । त्यसपछि फेरि दोस्रो चरणमा थप २५ सय क्विन्टलको तयारी गर्ने सोच बनाएका थियौँ । तर, ठेकेदारले १० महिना बित्न लाग्दासमेत पहिलो ठेक्का नै पूरा गरेको छैन ।’ उनले भने ।

अध्यक्ष बोहराका अनुसार अहिले साइपालमा गएको चामल पनि निश्चित व्यक्तिको कब्जामा गइरहेको छ । ‘स्थानीय सबैसँग धेरै खरिद गर्न पैसा पनि हुँदैन । व्यापारीदेखि हुनेखानेले बढी चामल राख्ने गरेको सुनिएको छ ।’ अब निगरानी बढाउनुपर्ने उनले बताए । चालू आवका लागि साइपालमा गएको चामल वडा नम्बर ४ र ५ मा बढी गएको छ । गएको मंसिरमा सबैभन्दा बढी न्यूना गाउँमा चामल गएको अध्यक्ष बोहराले बताए । यता वडा नम्बर ५ का वडाध्यक्ष जैपाल पनि यसपटक भोकमरी टर्नेमा ढुक्क छन् । ‘पहिलो लडमा टाढा भन्दै त्यतै पठायौँ, अहिले अन्य गाउँमा संकट भयो ।’ पालिका अध्यक्ष बोहराले भने ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्येयले पनि खाद्यान्न वितरणमा एकरूपता हुनुपर्ने बताए । ‘योभन्दा अगाडि मनोमानी ढंगले चामल वितरण गरेको देखियो,’ पाण्डेयले भने, ‘कुनै गाउँमा चार÷पाँच महिनाकै लागि पुग्ने गरी चामल गएको देखिन्छ भने कुनै गाउँमा एक÷एक बोरा मात्रै छ । अब वडाध्यक्षहरूले आफ्नो मातहतमा लिएर नुन, खाद्यान्न वितरण गर्नुपर्छ ।’ त्यसका लागि पत्राचार गरेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार