शुक्रबार, पुस ५, २०८१
  • होमपेज
  • जुजी जिउलो : अब तरकारी उत्पादनको ‘केन्द्र’
Breaking News

जुजी जिउलो : अब तरकारी उत्पादनको ‘केन्द्र’

बझाङ । दुर्गाथली गाउँपालिका जुजीका सिद्धराज खाती अचेल हरेक दिन बारीमै देखिन्छन् । बारीको रेखदेख उनको नियमित जिम्मेवारी नै हो । घरको आगनदेखि बजारसम्मै उनी भएको ठाउँमा तरकारीकै गफ हुन्छ । तरकारी लगाउने तरिका, बीउबिजनदेखि माटो परीक्षणसम्मका कुराहरू आफन्तलाई सुनाईहाल्छन् खाती ।

खाती तरकारी कृषक भनेर चिनिन थालेको धेरै समय भएको छैन । दुई तीन वर्षमै तरकारी उत्पादन गर्ने भएपछि उनी फरक तरिकाले चिनिन थाले । खाती मात्रै होइनन्, गाउँका अधिकांश कृषक नै व्यवसायिक बनिरहेका छन् । सिजनअनुसार दुइटा बाली मात्रै उत्पादन गर्दै आएका जुजीबासी अहिले हरेक सिजनमा तरकारी फलाइरहेका छन् ।

हिमाली जिल्लामा उत्पादनका लागि जुजी जिउलो कम कहिल्यै होइन । तराईको जस्तै उत्पादन हुने जिउलोमा खेत भएका कुनै कृषकले पनि भोकमरी झेल्नु परेन । गहुँ र धानका लागि प्रख्यात जिउलो गत वर्ष यता भने तरकारीको ‘हब’ बन्दै गएको छ । आलु, टमाटर, गोलभेडा, प्याज, सिम्लामर्चा, लसुन, पिँडालु प्रशस्तै मात्रामा उत्पादन हुन थालेपछि कृषि ज्ञान केन्द्र बझाङले पनि जुजीलाई ‘नमुना तरकारी गाउँ’ नामाकरण गरेको छ ।
‘विगतका वर्षहरूमा मंसिरमा गहुँ हरियाली भइसक्थ्यो,’ कृषक बिरदन रावलले भने, ‘अहिले भने हतार पनि छैन । घाटा होला भन्ने पनि छैन । सिजनअनुसार विस्तारै तरकारीका लागि मेहेनत गर्ने हो । नतिजा राम्रै आइरहेको छ ।’

रावलका अनुसार जुजी जिउलोमा उनको करिब ३ कट्टा जमिनमा ३ बोरा जति नै गहुँ फल्थ्यो । ‘हामीलाई खान त त्यसले पनि पुगिहाल्थ्यो, तर अहिले तरकारी सुरू गरेपछि भने त्यो खेतमा दुई वर्षसम्मै खान पुग्छ ।’ गएको वर्ष औलादेवी रावलको ३ नाली (कट्टा) खेतमा १६ बोरा आलु फलेको थियो । ‘गहुँ लगाएको भए ३÷४ बोरा नै हुन्थ्यो । आलु लगाउँदा आफूलाई तरकारी खानसहित बीस हजारभन्दा बढी बचत नै भयो ।’ उनले भनिन् ।

अहिले जुजीका कृषक तरकारीमा निकै रमाएका छन् । परम्परागत बालीभन्दा झण्डै दसौँ गुणा तरकारीले फाइदा गर्ने भएपछि खेती बदलेका हुन् । ‘सुरूका वर्षमा त सबैले एकै किसिमको तरकारी रोप्यो । त्यसले बजार खासै पाएन,’ रावलले भनिन्, ‘दोस्रो वर्षदेखि फरक फरक तरकारी फलाउन थालेपछि विक्री पनि राम्रै भयो । आफूलाई तरकारी बाँडेर खान पनि सजिलो भयो ।’

सिँचाईको अभाव

जुजी जिउलोमा पानीको अभावले हिउँदेबाली भने सोचेजस्तो उत्पादन हुँदैन । सिचाँई नपुग्ने भएपछि आकाशे पानीको भर पर्छ । ‘आकाशे पानी, हिउँ परे त खासै समस्या हुँदैन । तर, त्यो पनि नभए लगाएको बाली सुकेर जान्छ । सानो पानी जिउलोभरि छर्कन पनि पुग्दैन ।’ खाती भन्छन् । उनका अनुसार खोलाबाट ल्याएको पानी हिउँदमा कुलो नजिक खेत भएकालाई मात्रै सिचाई हुन्छ । तलकाले त आकाशकै भर पर्नुपर्छ । सिचाईका लागि अनुदानमा कृषि ज्ञान केन्द्र र पालिकाले ट्यांकी बनाउने तयारी गरिरहेको छ ।

‘तरकारीको बीउ, प्राविधिक, ढुवानी खर्च, बजार त दियौँ,’ कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, ‘सिँचाईको अभावले सोचेजति कृषकले उत्पादन गर्न सक्नुभएको छैन । हामीसँग सिँचाईका लागि पर्याप्त बजेट पनि हुँदैन । त्यसैमा सकेजति कृषकलाई मर्का नपर्ने गरी सहयोग गरिरहेका छौँ ।’ यता पालिकाले पनि जुजी जिउलोको सिचाईका लागि ठूलो ट्यांकी बनाएर जिउलोभरलाई पानी पुर्‍याउन जुटेको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार