सोमवार, पुस १, २०८१
  • होमपेज
  • व्यक्तिगत घटना दर्ता सन् २०२४ सम्ममा शतप्रतिशत पुर्याउने नेपाल सरकारले गरेको प्रतिबद्धता अधुरो हुने जोखिम
समाचार

व्यक्तिगत घटना दर्ता सन् २०२४ सम्ममा शतप्रतिशत पुर्याउने नेपाल सरकारले गरेको प्रतिबद्धता अधुरो हुने जोखिम

व्यक्तिगत घटना दर्ता सन् २०२४ सम्ममा शतप्रतिशत पुर्याउने संयुक्त राष्ट्रसङ्घमा नेपाल सरकारले गरेको प्रतिबद्धता पूरा नहुने जोखिम बढेको छ । संयुक्त राष्ट्र सङ्घको सन् २०१४ सेप्टेम्बरमा भएको ६९ औं महासभामा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सन् २०२४ भित्र नेपालले सबै व्यक्तिगत घटना दर्ता गरिसक्ने प्रतिबद्धता जनाउनुभएको थियो । तर नागरिकले घटना दर्तामा चासो नदिने तथा सरकारले पनि प्रभावकारी काम गर्न नसक्दा प्रतिबद्धता पूरा नहुने अवस्था देखिएको छ । जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्ता र सम्बन्ध विच्छेदसम्बन्धी घटना दर्ता भएपछि सरकार र व्यक्तिको सम्बन्ध सुरु हुन्छ ।

अंशबण्डा, नागरिकता, राहदानी, नाबालक परिचयपत्र, पठनपाठनदेखि राज्यबाट पाउने अरू सेवा सुविधा उपभोग गर्न पनि घटना दर्ता अनिवार्य मानिन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनले यस्ता घटना घटेको ३५ दिनभित्र स्थानीय पञ्जिकाधिकारी ९वडा कार्यालय० र विदेशमा भए कुटनीतिक नियोगमार्फत् घटना दर्ता गराउनुपर्ने कानुनी व्यवस्था छ । घटनादर्ता प्रमाणपत्र वडा कार्यालयबाट लिनुपर्ने हुन्छ । तर ३५ दिनभित्रै घटना दर्ता गर्ने दर ६ प्रतिशत मात्रै रहेको विभागको तथ्याङ्क छ ।

पछिल्लो राष्ट्रिय जनगणना अनुसार ५ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकामध्ये ७४ प्रतिशतको मात्रै जन्मदर्ता हुने गरेको छ । अझै पनि २६ प्रतिशत बालबालिकाको जन्मदर्ता हुन बाँकी नै छ । अहिले ६ हजार ७ सय ४३ वडामध्ये ६ हजार ५ सय ७६ वडामा घटना दर्ता अनलाइनमा दर्ता हुने व्यवस्था छ । अनलाइन माध्यमबाट झण्डै ४८ लाख व्यक्तिगत घटना दर्ता भएको सरकारको तथ्याङ्क छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेदका घटना गरी अहिलेसम्म ४८ लाख, ४५ हजार ९ सय १३ व्यक्तिगत घटना अनलाइनमार्फत् दर्ता भएका छन् । यस्ता विवरण नियमित अद्यावधिक गर्न सकेमा नीति निर्माण, सेवा प्रवाह, विकास निर्माणलगायतका लागि आवश्यक परेको समयमा तथ्याङ्क प्राप्त गर्न सहज हुन्छ । तर, यसप्रति सचेतना र चासो नबढेको विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित बताएका छन् ।

कानुनले घटना दर्ता गर्ने सरकारी अधिकारीका रूपमा वडा सचिवलाई स्थानीय पञ्जिकाधिकारी तोकेको छ । तर कतिपय वडामा सचिवको अभाव छ । वडा सचिवसहित विभिन्न क्षेत्रका कर्मचारीको पनि अभाव छ । त्यस्तै ६ हजार ७ सय ४३ वडामध्ये १ सय ६७ वडामा अनलाइन प्रणाली पुग्न सकेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्न नसक्दा पनि घटना दर्ताको काममा असर पुगेको विभागको भनाइ छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक पण्डितका अनुसार कतिपय अवस्थामा एक सचिवले अरु धेरै वडाको जिम्मेवारी लिएर पनि काम गर्नुपर्ने अवस्था छ ।

त्यस्तै घटना दर्तामा हचुवा विवरण दिने गर्दा पनि पूर्ण विवरण पाउन समस्या छ । सरकारले व्यक्तिगत घटना दर्ता अभियान चलाएर समेट्ने प्रयास गरिरहेको उहाँको भनाइ छ । यसवर्ष पनि आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार