शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • महाशिवरात्रिका लागि पशुपति मन्दिर सजाइँदै
Breaking News

महाशिवरात्रिका लागि पशुपति मन्दिर सजाइँदै

काठमाडौं । महाशिवरात्रिका लागि तयारी स्वरुप पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा झिलिमिली बनाउन थालिएको छ । महाशिवरात्रि नजिकिदै गर्दा पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाउन थालिएको छ । मारवाडी समितिको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम भइरहेको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्यस्थललाई रङरोगन गर्न थालिएको तथा बत्तीले सजाउने काम सुरु गरिएको छ । यसैगरी पशुपति क्षेत्रका भित्तामा रङरोगन लगाउने तथा भत्किएका सिडी मर्मत गर्ने कार्य सुरु भएको सदस्य सचिव डा.थापाले बताए ।

उनले भने, ‘पशुपतिनाथ क्षेत्रलाई रङ्गीचङ्गीसहित सजावट गर्ने काम सुरु भएको छ, अब केही दिनमा पशुतिनाथ निकै झकिझकाउ देखिने छ ।’ यसवर्ष पशुपतिनाथमा १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान समितिले गरेको छ । पशुपतिनाथ क्षेत्रमा झकिझकाउ गरिन थालिए पनि शौचालयको अभावमा समस्या हुने स्वयं कोषका कर्मचारी बताउँछन् ।

पशुपतिनाथ क्षेत्रमा फूलले सजावट गर्ने कार्यका लागि कम्तीमा पनि २० लाख रुपैयाँ खर्च आउने अनुमान गरिएको छ । यसैगरी यसवर्ष भगवान् पशुपतिनाथमा जगद्गुरु शङ्कराचार्य आउने भएपछि पशुपति क्षेत्रलाई झनै सुन्दर तथा झकिझकाउन गर्न थालिएको सदस्य सचिव डा.थापाले जानकारी दिए । उनका अनुसार जगद्गुरु शङ्कराचार्य आउँदो फागुन ४ गते पशुपतिनाथमा आउने तथा यहाँ प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ । महाशिवरात्री आउन अझै समय भए पनि अहिले नै पशुपतिमा भक्तजनको निकै चहलपहल बढ्दै गएको छ । पशुपतिनाथमा छिमेकी मुलुक भारतबाट साधुहरु आउने क्रम बढेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार