शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • नेपाल चिकित्सक सङ्घद्वारा डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग
समाचार

नेपाल चिकित्सक सङ्घद्वारा डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग

काठमाडौं । नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ ।
हिजो राष्ट्रपतिको सवारीको बेला सडकमा हिँडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरमा कार्यरत डाक्टर जनिथलाल सिंहमाथि लाठीचार्ज गरेको थियो । अस्पतालमा काम सकेर घर जान लागेका डाक्टरलाई परिचयपत्र देखाउँदासमेत सुरक्षाकर्मीले कुटपिट गरेको भन्दै सङ्घले दोषीमाथि कारबाही गर्न माग गरेको हो । आजसम्म कारबाही नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने सङ्घले चेतावनी दिएको छ ।

यस्तै ट्रमा सेन्टरकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ममता भट्टराईले पनि घटनाको विरोध गर्दै कुटपिट गर्ने सुरक्षाकर्मीलाई कानुनी कारबाही गर्न माग गरेकी छन् । उनकाअनुसार डाक्टर सिंहको टाउकोमा गम्भीर चोट लागेको छ र उनको ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ ।

हिजो सङ्घीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका डाक्टर सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । राष्ट्रपतिको सवारी व्यवस्थित गर्न भन्दै सरकारले सधैँ सडक खाली गराउने गरेको छ ।

सडक खाली हुँदा ट्राफिक अस्तव्यस्त हुने र नागरिकले सास्ती खेप्नु परेपछि सहज सवारी चलाउन माग हुँदै आएको छ । तर सरकार र सुरक्षा निकायले यसको बेवास्ता गर्दै आएका छन् । हिजो पनि राष्ट्रपतिको सवारीको बेला विद्यार्थी, बिरामी, कर्मचारी लगायत काम विशेषले ओहोरदोहोर गर्ने सबैले सास्ती भोग्नुपरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार