मङ्लबार, अशोज १, २०८१
Breaking News

प्रेमबहादुरको हजारे पसल

बझाङ । अगाडितिर गाउँतर्फै धार फर्किएको जडारीगाड । आवतजावत गर्नेहरू गाउँ भएरै हिड्थे । किनमेल गर्न जानेको लर्को । विश्रामस्थल खातीगाउँ । गाउँमा पसलको कमी । यस्तै कारणले प्रेमबहादुर खातीले सुरू गरे ‘हजारे पसल’ । एक हजार रूपैयाँमा दैनिक प्रयोगमा आउने सलाई, साबुनदेखि चकलेट, विस्कुट सुपारीसम्मको पसल ।

वर्खे भेलले सडक बगाएको मौकामा सुरू गरेको पसललाई अहिले पनि खातीले निरन्तरता दिएका छन् । पहिले खोलाले फर्काएको धारमा अहिले सडक बनेको छ । आवतजावत गर्नेहरू सडकबाटै गए पनि उनको पसलका ग्राहक गाउलेहरू नै छन् ।

खप्तडछान्ना गाउँपालिका-१ खातीगाउँका प्रेमबहादुर गत वर्ष आएको बाढीपछि बेसहारा बनेका हुन् । बाढीले सर्वस्व गुमाएसँगै उनको परिवारले आफन्तको छानोमा टाउको लुकायो । आफन्तहरूले लुगाकपडादेखि भाँडाकुँडा, खानेकुरा सबै सहयोग गरे । दाताले उपलब्ध गराएको खाद्यान्नले अहिलेसम्म गुजारा भएको छ ।

गत वर्ष मध्यम वर्गीय खाती परिवारलाई गत वर्षेदेखि खाने गास न कमाउने जमिन भएको छ । ‘घर न घाट जस्तै भयो,’ प्रेमबहादुरले भने, ‘वर्षभरि खाद्यान्न पुग्ने, सडकमै घर, उत्पादित वस्तु बेच्न सक्ने अवस्थामा थियौँ । गत वर्ष जडारीगाडले सम्पूर्ण जायजेथा लुट्यो ।’

अहिले प्रेमबहादुरको परिवारलाई न गाउँमा स्थापित हुने अवस्था छ, नत विस्थापित भएर अन्य ठाउँ जाने बाटो नै । त्यही अवस्थालाई भूलाउने काम उनको पसलले गरिरहेको छ । प्रेमबहादुरको त्यो पसल पनि कारूणिक छ । गाउँमा बाटो खन्ने योजना आएपछि उनी आफैँ काममा सहभागी भए । गरीबि निवारणबाट आएको योजनामा बाटो काट्ने काम गरेका खातीले दुई/तीन दिन काम गरेको पैसा मागे । बिहानै तमैल बजार गएर एक हजारसम्मको सामान ल्याए ।

बाटो बनाउने कामदारलाई चकलेट, बिस्कुट, बिँडीलगायतका सामान चाहिने भएपछि उनले सामान ल्याए । सामान ल्याएको बोरा नै काम गर्ने ठाउँमा लिए । ‘गाउँदेखि बयलपाटासम्म २५/३० मिटरसम्म बाटो काट्यौ,’ खातीले भने, ‘बाटो काट्दा हामीलाई दैनिक ७ सय रूपैयाँ ज्याला पायौँ । त्यसै पैसाले पाएको सुरूको दुई दिनको पैसाले आगनमै सानो पसल सुरू गरेँ ।’

खातीका अनुसार ८ दिनसम्म गरेको कामबाट ५ हजार रुपैयाँ मिल्यो । पछि पसलको सामान पनि थपेँ । ‘दैनिक दुई अढाई सय बराबरको सामान बिक्री हुन्छ,’ उनले भने, ‘त्यसबाट फाइदा त २०/२५ रुपैयाँ मात्रै हो । कहिलेकाँही एक सय रुपैयाँ जति पनि फाइदा हुन्छ । त्यसबाट साबुन सरप आउँछ ।’

घरमा रोजगारी कोही नभएको हुँदा नुन तेलका लागि भए पनि केही राहत हुने भन्दै पसल सुरू गरेको उनले सुनाए । ‘कमाउने मान्छे कोही छैन । आफू बृद्ध भइसके । खेतबारी नी छैन । छोरोको अवस्था (प्यारालाइसिसको बिरामी) त्यस्तै छ ।’

उनले आफू बृद्धले केही गर्न सक्ने बताए । ‘अब म बूढो कसरी के गरि खाउँ ? दिन बिताउनै निकै आपत परेको छ ।’ अहिले प्रेमबहादुरको परिवारमा ६ सदस्यीय छन् । नातिनातिनीसहित छोरा बुहारी र उनको दम्पती सबै बेसहाराजस्तै बनेको छ । खातीकी बुहारीले घरमा एक गाई पालेकी छन् । उनको दैनिकी दिनभर त्यसको स्याहारमै बित्छ । ‘अलि अलि भएको खानेकुरा पनि निल्न सकिँदैन, त्यसैले एउटा सानो गाई पालेका छौँ ।’ उनले भने ।

अहिले उनको परिवार बसेको छिमेकीको घर पनि सुरक्षित नभएको उनले बताए । ‘यता सुरक्षित खासै छैन । तलपट्टी पूरै खौले छ । घरवाला तराई गएका हुनाले त्यसैले यहाँ बसेका हौँ ।’ उनले भने । खाती दिनभरि पसल बाहिर फिजाएर राख्छन् भने साँझ बोरामा हालेर भित्र लिन्छन् । अहिले खातीका ४/६ वर्षका नाति नातिनी बयलपाटामा पढ्ने गर्छन् । उनीहरूलाई कापी कलम पनि हुन्छ कि भनेर पसल सुरू गरेको उनले बताए । ‘काम केही छैन । कतै जाने ठाउँ पनि छैन,’ उनले भने, ‘दिन काट्न पनि निकै गाह्रो हुन्छ । जग्गा जमिन केही छैन । दिनभर म वृद्धसँग बस्ने कोही छैन । त्यसैले यो पसलमा भुलिरेहको छु ।’

खातीका छोरा निकै अपाङ्ग छन् । केही वर्ष पहिले त खाना पनि अरूले नै खुवाउनु पथ्र्यो । अहिले पनि हातखुट्टा चल्दैन । ‘छोराको हात खुट्टा चल्दैन । दायाँ हात, दायाँ खुट्टाको भाग पुरै नचल्ने छ । अहिले खाना खुवाउनु त पर्दैन । बायाँ हातले खान सिकिहाल्यो ।’

खातीका छोराको समस्या भएको (प्यारालाइसिस) ६/७ वर्ष भइसक्यो । ‘उपचारका लागि धेरै ठाउँमा लियौँ, कतै सम्भव नभएर अहिले घरमै थन्किनुपरेको छ ।’ उनले भने । अस्पतालदेखि गाउँघरतिर सबैलाई सहयोग मागेको उपचारीय सहयोगले काम नगरेको उनले बताए । ‘के पो भयो खै कहाँ हड्डीमा रोगले समात्यो भन्ने छ । जडीबुटी सबै गरेका हौँ । तर, केही भएन ।’

अहिले उनले परिवारको गुजारा कसैले दिए खाने नत्र भोकै बस्ने छ । ‘खोला नजिक भएर कहिलेकाँही त माछा मारेर भए पनि छाक टार्छौं । जालमा तीन/चार माछा परे पनि त्यसैमा पानी हालेर झोल बनाउँदै एक÷एक रोटी खाएका छाक धेरै छन् ।’

खातीगाउँमा प्रेमबहादुरको जस्तै धेरै परिवारको समस्या छ । गाउँमा घरबाहेक केही नभएका सबै गाउँले अहिले कामको खोजीमा भौतारिरहेका छन् । ‘दुई परिवारको घरसहित केही बाँकी रहेन,’ स्थानीय सुरेन्द्र खातीले भने, ‘बाँकी गाउँलेको पाइला टेक्नलाई पनि जमिन रहेन । अहिले सबै रोजगार तथा अन्य ठाउँको खोजीमा छन् ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार