आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाउने
Breaking News

सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाउने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ । ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित दिवस १६ डिसेम्बरदेखि २२ डिसेम्बरसम्म सप्ताहव्यापी रूपमा मनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै उनीहरूमाथि हुन सक्ने विभेदलाई ध्यानमा राखि संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारकाे सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि १९९० पारित गरेको थियो । यो सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा पारित गरेको प्रस्ताव नम्बर ५५ र ९३ लाई पारित गर्दै संसारभर ठूलो सङ्ख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रूपमा मनाउने गरिएको छ ।नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक समाज, आप्रवासी श्रमिक तथा उनीहरूका परिवारलगायत सम्बद्ध पक्षहरूको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरि मनाउँदै आइएको छ ।

दिवसलाई प्रदेश र पालिकास्तरसम्म पुर्‍याउन प्रदेश सरकार तथा स्थानीय पालिकाको अगुवाइमा जिल्लामा रहेका विभिन्न सरकारी निकाय, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ–संस्था, राजनीतिक दल, नागरिक समाज, गैरसरकारी एवम् निजी सङ्घ–संस्था, ट्रेड युनियन, आप्रवासी श्रमिक तथा उनीहरूका परिवारसमेतको सक्रिय सहभागितामा मनाइने श्रम मन्त्रालयले जनाएको छ ।

देशभर कार्यक्रम मूल समारोह समितिबाट स्वीकृत भएका विविध कार्यक्रम १६ डिसेम्बर अर्थात् भोलिदेखि २२ डिसेम्बर अर्थात् पुस ७ गतेसम्म आयोजना हुनेछन् । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सन् २०२२ मा प्रकाशित गरेको माइग्रेसन रिपोर्ट अनुसार संसारभरि २८ करोड ५९ लाख मानिस आप्रवासी श्रमिकको रूपमा रहेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार