आइतवार, पुस ७, २०८१
  • होमपेज
  • समाज, राजनीति र निर्मलाहरू
Breaking News

समाज, राजनीति र निर्मलाहरू

समाजले ढुंगे युगदेखि विभिन्न चरण पार गर्दै औद्योगिक युगको दैलो उघारी सकेको छ । तर, त्यसभित्रको शिक्षा तथा चेतनास्तर भने पछाडि धकेलिँदै गएको छ । प्रविधिमा रूपान्तरण हुनुपर्ने समाज तिरस्कृतको बाटोतिर लागेको छ ।
हाम्रै पुस्तालाई हेर्ने हो भने पनि हिजो अस्तिभन्दा पछाडि धकेलिएको पाइन्छ । नैतिक संस्कार, जिम्मेवारीपन र परनिर्भरताले नेपाली समाज जवरजस्त रंगिएको छ । बाजे, बाउ र हाम्रो पुस्तामा आकाश धर्तिको फरक छ । वर्तमान पुस्ता प्रविधिमा केही अगाडि भए पनि समाज भुल्दै गएको छ । ‘हिड्दै पाइला मेट्दै’ भनेझैँ अहिलेको पुस्तालाई समाजले गिज्याइरहेको छ ।

राष्ट्रको विकासका लागि राज्य सञ्चालकले जुन तन्त्र ल्याए पनि समाज व्यक्ति केन्द्रित, परिवार केन्द्रित र नेतृत्व केन्द्रित मात्रै भइरह्यो । विगत सात दशकलाई हेर्ने हो भने पनि अति विपन्न परिवारका नेतृत्वहरू सबैभन्दा बढी धनी भए । सत्तामा बसेको दुई वर्षमै अर्बपतिको सूचीमा नाम अटाउँदै गयो । ग्रामीण समाज भने बिलिन हुँदै अस्ताउँदो बाटोतिर छन् ।

पितृसत्तात्मक समाजमा महिलामाथि हुने अन्यायको त के कुरा । पाइला पाइलामै महिलामाथि दमन । सत्तामा पुगे पनि महिलालाई हेर्न नजर पूरूषको फरक पर्दै गयो । कुनै एक महिलाले कयौँ पीडा, बाधा, अड्चन सहेर अर्को मान्छेलाई जन्म दिँदा पनि बच्चा जन्माउने मेसिनका रूपमा हेरिन्छ । उसो त भनिन्छ नि, स्त्रीबिना संसारको सृष्टिनै असम्भव छ । तर, सृष्टिकर्ताको शरीर स्वतन्त्र रूपमा लिनेको पनि कमी छैन ।

कयौँ पीडा सहेर शिशुलाई जन्म दिएकी महिलाले १३ वर्ष नपुग्दै छोरी बलात्कृत भएको खबर सुन्नुपर्छ । त्यसैमाथि ज्यानसमेत नरहेको पीडा सुनिँदा त्यो आमाको मन कति विचलन हुन्छ होला ? जो सबैले कल्पना गर्नै सक्दैनन् । यस्तो खबर सुन्नेहरूलाई पनि शिरदेखि पैतालासम्म जीउ सिरिंग हुन्छ । फेरि नारीले त धर्तिमा जन्मै नदिन भगवानसँग प्रतिज्ञा गराउँछन् ।

निर्मला, भागरथी, सम्झनाहरू मात्रै नभई हजारौँ निर्मलाहरू गुपचुपमा मरिरहेका छन् । आरोपी शक्ति र पैसाले प्रहरी, प्रशासन मात्रै नभई न्यायालय हुँदै कानुनसमेत किन्न सक्छ । परिवारमा बिहानै स्कुलका लागि छुटेकी छोरी ढिलो गरी फर्कँदा आत्तिनुपर्छ । परिवारको मनमा निर्मलाहरूले झल्काउँछन् र त्रसित हुन्छन् । अहिले सामाजिक सञ्जालदेखि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा बलात्कारका घटना दिनै पिच्छे सुनिन्छन् । खबर सुनिएको महिना दिन नपुग्दै सुकेर कहाँ पुग्छन् कहाँ ।

मुलुकको मुलुकी ऐनमा त सबै नियम कानुनबारे छापिएका छन् । तर, कागजमा छापिएका कानुनका अक्षर व्यवहारमा उत्रिन भने धेरै दुर हुन्छन् । समाजमा अनेकौँ थरीका मानिसहरू हुनु स्वभाविक हो । तर, फरक भन्दैमा अरूलाई मानवीय स्थान नै नदिनु अमानवीयपन हो ।

कोही त साँच्चिकै मानव कहलीनयोग्य छन् त कोही पशु कहलीन पनि योग्य छैनन् । समाजलाई निचोर्ने, चिथोर्नेहरूबाट भविष्य नै अन्धकारमय हुनु हो । मुलुकका नीति नियम कागजका पानामा भरिए पनि जनतासमक्ष न्याय पुग्दैन । लेखिएको कानुन कार्यान्वयनको सकसले दिनदहाडै चोरी, डकैती, बलात्कार हरेक ठाउँका लागि सामान्य झैँ भएको छ ।

समाजमा सबै महिला दोषी छैनन्, सबै पूरूष पनि दोषी छैनन् । तर, जो दोषी छन् तिनले न्यायमाथि डोजर चलाइरहेका छन् । यहाँ त पूरूष मात्रै होइनन्, महिलाको मिलेमतोमा पनि महिलाकै इज्जत लुटिँदा पनि न्यायालयहरू कानमा तेल हालेर बसेका हुन्छन् ।

एक पुरूषले महिलालाई अमानवीय व्यवहार गर्दा अर्को कुनै पुरूषले त्यस्तो निच काम गर्नेलाई सजायका लागि नारा लगाउँदा केही व्यक्तिले विरोध गरिरहेको पाइन्छ । समाजको बिकृति बिसंगतिलाई प्रोत्साहन दिनेलाई कहिले कारबाही कहिल्यै गरेको पाइदैन ।

समाजमा विभेदको चरम रूप परिवारबार्ट सुरू हुन्छ । परिवारमा छोरा भयो भने छैटी (उत्साह) मा खेल्ने, माङगल गाउने, मनोरञ्जन गर्ने समाजमा छोरी जन्मिदा अझैँ नाक खुम्च्याउने हाम्रै समाज हो । छोराका लागि पास्नी, नयाँ–नयाँ लुगा ल्याउने, पेटमा हुर्कदा देखिनै आमालाई मीठो मसिनो खाना दिने समाजमा छोरी पेटमा छ भन्ने थाहा पाउँदा नै भु्रण हत्या किन ?

हो, अझै पनि समाजभित्र गैरकानुनी पर्दा छर्लंगै छन् । २१ औँ शताब्दीमा पनि नेपाली समाजले यस्ता गतिविधिलाई प्रशय दिइरहेको छ भने हामी कुन शताब्दीतिर फर्किरहेका छौँ भन्ने हो । मुलुकमा हरेक परिवर्तन गर्छु भन्ने नेतृत्व सत्तालिप्त भयो । परिवर्तनका नारा घन्काउनेहरू आफैँ परिवर्तन भए, मुलुकको अनुहार उस्तै छ ।

भनिन्छ नि, बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरूलाई पनि घर बनाउन दिँदैन । आज २१ औँ शताब्दी भएरै होला यहाँ बाँदरहरू ठ्याक्कै उल्टा जन्मिएका छन् जो आफ्नो घर त खुब मज्जाले नानाथरी श्रीगारपटार गर्छन् अरूको भने एउटा इँट्टा पनि थपेको देख्न सक्दैनन् । त्यस्तै नेतृत्वलाई भएको छ । नेतृत्वले आफ्नो घरका लागि धेरै मेहेनत गर्ने, आफन्तका लागि धेरै नै संघर्ष गर्ने र अरूले गरेको पनि नसकिने । केही काम गर्नु परेमा कसैको राजनीतिक दलको कार्यकर्ता बन्नुपर्ने वा कसैसँग लिप्त हुनैपर्ने । त्यसपछि मात्रै केही गर्न पाउने अवस्था फेरिएको छैन ।

इतिहास हेर्दा अनि सुन्दा पूर्खाले देशप्रति गरेको माया, बलिदानी साँच्चै नै त्यस्तो पनि थियो है हाम्रो देश जस्तो लाग्छ । अही कापी किताबमा पूर्खाले देशलाई गरेको बलिदानी सुन्दा कुनै देशको कथा जस्तै लाग्छ । लगभग २५० वर्षको इतिहास भएको अमेरिका आज विश्व महाशक्तिको ताज भिरिरहेको छ । १६, १७ सय वर्ष पूरानो इतिहास बोकेको हाम्रो देशको स्थिति कस्तो छ ? हामी देख्न सक्छौ, सुन्न सक्छौ । कतिले राज गरे यहाँ ? कतिले देश बनाउने कसम खाए यहाँ ? त्यो पनि हामी पढ्न सक्छौ ।

यहाँ व्याक्तिहरूले जति कसम, राज गरे पनि प्रकृतिको सुन्दर धरोहरले भरिएको हाम्रो देश आज पनि अर्काले ओढाएको छाताभित्र छ । आज हाम्रो देश सानो छाताभित्र एक कमिलोझैं भएको छ । समस्या नै समस्याको परिधिमा यहाँका मानिस बाँचिरहेका छन् । गरिबी यहाँ छ, बेरोजगारी यहाँ छ, हिंसा यहाँ छ, बिकृति÷बिसंगति यहाँ छ, सबै कुरा यहाँ छ तर विकास यहाँ छैन ।

चीनजस्ता देशहरूले अथक प्रयास गरेर आज विश्वसामु उभिएका छन् भने नेपाल भ्रष्टाचार गर्दै विश्वसामु सुतेको छ । देशलाई नियन्त्रण गर्ने ड्राइभर खै कस्ता परेछन् ? जसले गाडीमा भएका अरू यात्रुको ख्याल नै नगरी गाडी कुदाएरहेका छन् । आशा गरौँ । आउँदो दिनमा देशलाई नियन्त्रण गर्ने ड्राइभर सक्षम, सबल, अथाह ज्ञान, सिर्जनशिल, देश र जनताप्रति अगम माया भएकै होस् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार