बिहिबार, भदौ २७, २०८१
  • होमपेज
  • ‘अब विकास र समृद्धिको नतिजा देखाउँछौँ’
Breaking News

‘अब विकास र समृद्धिको नतिजा देखाउँछौँ’

बझाङ । बझाङबाट प्रतिनिधिसभाका लागि सत्तारूढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य भानुभक्त जोशी निर्वाचित भए । नेकपा एमालेका युवा नेता अनेरास्ववियूका पूर्व केन्द्रीय अध्यक्ष ऐन महरलाई पछि पार्दै विजयी भएका हुन् । नेकपा एमाले बझाङका संस्थापक नेता जोशी साढे ४ दशकदेखि राजनीतिमा आवद्ध छन् । २०४८ सालदेखि नै संघीय संसदको निर्वाचन लड्दै आएका जोशीलाई बझाङीले ३ पटक संसद यात्रा गराएका छन् । जीवनको उत्तराद्र्धमा प्रवेश गरेका जोशीलाई यसपटक पुनः जनताले अनुमोदित गरेका छन् ।

झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषदका सदस्य (वनमन्त्री) भएका जोशीले यसपटक फेरि संसदीय यात्रा तय गरेका हुन् । बझाङका विभिन्न गाउँ–गाउँदेखि पालिकाका अधिकांश जनतामाझ परिचित जोशी यसपटक गठबन्धनको नेतृत्वमा सरकार बनेमा कुनै मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने सम्भावना बलियो छ । जोशी सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेतामा पर्छन् । नेकपा (एस)ले पाएको टिकटमा सुदूरपश्चिमबाट सबै उम्मेदवारले जित पनि हात पारेको हुँदा उनलाई मन्त्री बन्नका लागि प्रदेशबाट पार्टीले सिफारिस गर्ने सम्भावना रहेको पार्टी स्रोतले बताएको छ ।

प्रदेशसभा सदस्य–१ मा पनि नेपाली कांग्रेसका पुराना नेता पृथ्वीबहादुर सिंह निर्वाचित भएका छन् । नेकपा एमालेका युवा नेता अफिलाल ओखेडालाई पराजित गर्दै सिंह निर्वाचित भएका हुन् । उनी पनि सुदूरपश्चिम प्रदेशमा गठबन्धनकै सरकार बनेमा उनी मन्त्री हुने सम्भावना बढी छ ।

पार्टीमा पुराना तथा बौद्धिक नेताको छवि बनाएका सिंह पछिल्लो समय पार्टीका सबै संगठनमा समेत लोकप्रिय छन् । यसपछि आफू उम्मेदवार नै नबन्ने तर्क दिइरहेका सिंहलाई पार्टी पंतिबाटै मन्त्रीका लागि सिफारिस गर्न सक्ने कांग्रेस निकट स्रोतले बताउँछ । साढे ४ दशकदेखि राजनीतिमा आवद्ध भएका सिंह पटक–पटक सरकारको विरूद्धमा लाग्दा दर्जनौँपटक पक्राउ समेत परे । जिल्लामा नेपाली कांग्रेसको विभिन्न पद सम्हाल्दै आएको सिंह अहिल्लो पटक प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भैरवबहादुर सिंहसँग पराजित भएका थिए ।

प्रदेशसभा सदस्य २ मा नेकपा एमालेका पुराना नेता लालबहादुर रावललाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका युवा नेता भीम भण्डारी निर्वाचित भएका छन् । पार्टीमा लामो समयदेखि राम्रो छवि बनाएका एमालेका नेता रावललाई पराजितपछि भण्डारीको लोकप्रियता पनि निकै बढेको छ । आफू राजनीतिमा शासक नभई सेवा गर्नका लागि आएको उनी बताउँदै आएका भण्डारीलाई यसपटक सबै पार्टीका समर्थकले अनुमोदित गरेका हुन् । आफ्नो काम देखेर नै जनताले पहिलो पटक मूल्यांकन गरेको उनको बुझाई छ । अब जनताको विश्वास नतोड्ने उनी बताउँछन् ।

निर्वाचित भएपछि बझाङको विकास तथा निर्माणमा तीव्रता दिन र कमिसनका योजना निस्क्रिय पार्नका लागि आफू लागि पर्ने उनले बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममै प्रतिनिधि सभा सदस्य जोशी र प्रदेश १ का सदस्य सिंहलाई अब कमाउनतिर नलागेर बझाङ बनाउन जुट्नुपर्ने बताइरहेका छन् । यसै सन्दर्भमा तेस्रो ध्रुव साप्ताहिकले निर्वाचित सबै जनासँग कुराकानी गरेको छ । कुराकानीका आधारमा सम्पादित अंशः

पहिलो योजना ताक्लाकोट

भानुभक्त जोशी
प्रतिनिधिसभा सदस्य

हामी बझाङको विकासका लागि सत्तामा गएका वा नगएका सबै एकजुट भएर लाग्नेछौँ । जिल्लाको विकासका लागि पक्ष विपक्ष भन्ने केही हुँदैन । हामी सबै मिलेर जानेछौँ । व्यक्तिगत रूपमा मेरो अबको यात्रा राजनीतिक स्थायित्व लागि, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने काममा म राष्ट्रिय रूपमा बढी महत्व दिनेछु ।

जिल्लाको हकमा भन्दा यहाँ समस्याहरूको बारेमा बोल्नेछु । प्रदेशमा हुने ठूला उद्योग व्यवसायहरूको स्थापना, त्यसको साथ साथै सडक सञ्जालहरुको बारेमा बोल्नेछु । विद्यालयमा हुने समस्या, क्याम्पसमा हुने समस्या, स्वास्थ्यमा हुने समस्या, टेलिफोन, विद्युत, कृषि, पर्यटनका सन्दर्भमा पनि विशेष ढंङले मैले हेर्नुपर्ने छ । आज युवा बेरोजगारको संख्या धेरै भएकाले स्वरोजगार बनाउन विशेष पहल गर्नुपर्ने छ ।

उद्योग कलकारखानामा होस् या कृषिमा आत्मनिर्भर हो, या अरू कुनै कुराबाट भए पनि व्यवसायीकरण गर्छु भन्ने कुरामा म अगाडि छु । महिलाहरूका समस्या, दलितका समस्यामा पनि केन्द्रित हुनेछु । जिल्लाको एकीकृत विकासको लागि म लाग्ने छु । त्यसका लागि संघीय, प्रदेश र स्थानीय सरकार र स्थानीय जनताको समन्वय गरेर काम गर्नेछु । प्रदेश मन्त्रालयसँगको पहलमा काम अगाडि बढाउने छौँ ।

प्रदेशका विभिन्न मन्त्रालयहरूलाई मैले दिने सुझाव सल्लाह दिनेछु र सबै मन्त्रालयसँग समन्वय गरेर जिल्लाको विकास र रोजगारीका लागि पहल गर्नेछु । यदी गठबन्धनको सरकार बनेछ र म मन्त्री भएछु भने जिम्मेवारी पाएको मन्त्रालयको काम गर्नेछु । विशेष गरी यातायातलाई प्राथमिकतामा राख्नेछु ।

चैनपुर–ताक्लाकोटलाई सडकको विकास गरिनेछ । यो पाँच वर्षमा हामीले उत्तरतिर ताक्लाकोट जोड्ने सडकको ट्याक खोली सक्नु पर्नेछ भन्ने मेरो धारणा हो । सेती लोकमार्गको व्यवस्थित गरी गति बढाउने छौँ । खुटिया–दिपायल तराई जोड्ने दुर्त मार्ग छ, त्यसलाई पनि अगाडि बढाउने प्रयास रहने छ । साथै जयपृथ्वी राजमार्गलाई पनि स्तर बृद्धि गर्नुपर्ने छ । हामीले पश्चिम तिरको दार्चुलाबाट झसलाघाटभन्दा माथि जोड्ने एउटा सडकलाई पनि व्यवस्थित गर्नुपर्ने छ ।

त्यसलाई पनि क्याब ओपन गर्नुपर्ने अवस्था छ । सडक सञ्जालदेखि लिएर सेतीमा नदीमा धेरै पुल बनाउन बाँकी छ । त्यसको पनि व्यवस्थापन गर्नुपर्ने छ भने पूर्वाधारका आधारमा गाउँपालिका जाने सडकको बृद्धि गरेर पालिका केन्दसम्म पक्की सडक बनाउन योजना बनाउँछौँ । कार्यान्वयनका लागि त्यसको पहल गछौँ र यातायात क्षेत्रका साथै कृषि पर्यटन शिक्षा स्वास्थ्य यि सबै क्षेत्रको सुधारमा म निरन्तर लाग्ने छु । समस्या सामाधान गर्ने कुरामा नि म निरन्तर लाग्ने छु ।

सरकारमा गएछु हाम्रो सरकार बनेछ भने जिल्ला र जिल्लाबासीका लागि पहल गर्नेछु । कृषिमा भएको लगानीको समीक्षा गर्नुपर्छ भन्ने मेरो भनाई छ । कति लगानी भयो र कति काम भयो सबै कुरा नियमन गर्नुपर्छ । व्यवसायिक कृषि प्रणालीमा केन्द्रित या जुनसुकै काम गरे पनि त्यसमा व्यवसायिक रूपले कसरी काम गर्न सकिन्छ ? त्यो विषयमा बढी केन्द्रित हुनेछौँ । पर्यटनमा पनि हाम्रो चासो हो । खप्तड क्षेत्रमै पनि सरकारी क्षेत्रबाट नभएर निजी क्षेत्रबाट पनि प्रोत्साहित गर्नुपर्छ जस्तो लाग्छ ।

खप्तडमा सोचेजस्तो पर्यटक भित्रिन नसकेको हो र पर्यटनलाई सेवासुविधा पनि दिन सकिएको छैन । उल्लेख्य विकास भएको छैन त्यो ठाउँको । खप्तडमा पर्यटनको सेवा सुविधा र उल्लेख्य रूपमा त्यो क्षेत्रको विकास गर्न त्यहाँ नेपाल सरकार प्रदेश सरकारले निजी क्षेत्रलाई पनि झक्झक्याउनु आवश्यक छ । राष्ट्रिय रूपमा पनि ठूला उद्यमीलाई भित्र्याउनुपर्छ र उनीहरूले पनि राष्ट्रिय अन्र्तराष्ट्रिय रूपमा मार्केटिङ गर्छन् । लगानी गर्नेले मार्केटिङ पनि गर्छ ।

अहिले नेपाल सरकाले मात्रै लगानी लगाएको हुँदा त्यति प्रभावकारी देखिदैन मेरो अवधारण भने निजी क्षेत्रको पनि लगानी लगाउनु पर्नेछ । खप्तडबाट केही नयाँ उपलब्धि प्राप्त गर्ने सोच योजनाका साथ अघि बढ्ने छौँ । त्यसका अदावा बाढीपहिरोबाट पीडितहरूलाई पनि राहत तथा पुनर्निर्माणका लागि सक्दो पहल हुनेछ । बाढीपीडितको तथ्यांक संकलन गरी आवश्यकता अनुसारको सुविधा प्रदान गर्न संघीय र प्रदेश सरकारबाट एउटा कार्यक्रम नै सञ्चालन गर्नु पर्नेछ ।

चैनपुर सडकको स्तरोन्नति

पृथ्वीबहादुर सिंह
प्रदेशसभा सदस्य–१

बझाङमा गर्नुपर्ने काम धेरै छ । समस्या पनि धेरै छन् । हाम्रो भूगोलले गर्दा यहाँ धेरै काम देखिँदैन । अहिले म निर्वाचित भएको छु । अब मेरो प्राथमिकतामा सबैभन्दा पहिले चैनपुर सडक पर्नेछ । सेती नदीमा डीपीआर भएका पुलहरूको निर्माण कार्यलाई अगाडि बढाउने मेरो तत्कालको काम हुनेछ । जयपृथ्वी राजमार्गलाई स्तरोन्नति गर्नैपर्ने छ । गाडी चल्नै नसक्ने अवस्था भएकाले यसको स्तरोन्नति पहिलो चरणमै गर्नुपर्ने देखिएको छ । अब सडकमा खाल्डा खुल्डी नपर्ने गरी दिगो रूपमा काम गर्नुपर्नेछ । अरू पनि धेरै काम छन् । तर सबैभन्दा पहिलो प्राथमिकतामा मैले यि काम नै राखेको छु ।

म सकिने जति काम गर्छ । बोल्न पनि त्यसरी नै बोल्छु । मैले निर्वाचन लड्दा जनतालाई अनावश्यक र नसकिने आश्वासन पनि दिएको छैन । म सकेजति काम गर्छु । काम गर्नैका लागि आएको हुँ । जतनाले अब हामीभन्दा पछिल्लो आउने व्यक्तिलाई गुनासो गर्न नपाउने गरी बझाङको विकासमा लाग्नेछु । मलाई जनताले विश्वास गरेर जिताएर पठाएका छन् । म उहाँहरूको आसा टुटाउने छैन । जनताको मागअनुसार अघि बढ्ने छु ।

अहिले जनतामा प्रदेश नै खारेज हुनुपर्ने माग उठेको छ । प्रदेशप्रति बितृष्णा यति धेरै किन भएको छ भन्ने विषयलाई पनि हामीले गम्भीर रूपमा सोचेका छौँ । सबैभन्दा प्रदेशबाट योजना किनबेच हुँदा जनतालाई निरास हुनुपरेको हो । यसमा हामी अब संलग्न कसैलाई पनि बाँकी राख्दैनौँ । योजना किनबेचमा संलग्न हुने जो कोही पनि कारबाहीको दायरामा आउँछन् । जनताको मागअनुसार कानुनी प्रक्रियामा रहेर हामी काम गर्नेछौँ ।

स्थानीय तहलाई पनि बलियो बनाउन हामीले दिने योजना स्थानीय तहमार्फत् नै हो । त्यसैले स्थानीय तहसँग राम्रो समन्वय गर्नेछौँ । बेलाबेला अनुगमन गर्ने योजनाका प्रदेशबाट र स्थानीय तहबाट हालेका योजनाहरूको अब प्रदेश स्थानीय तहको समन्वयको बीच काम हुनेछ । कुनै पनि योजना प्रदेशले किन दियो होला भन्नुपर्ने अवस्था हुने छैन ।

म त यो पटक जनताको सेवा गर्नकै लागि आएको हुँ । यो मेरो अन्तिम चुनाव पनि हो । म ५ वर्षसम्म जनताको सेवा गर्नेछु । त्यसपछि कुनै पदमा पनि उमेदवारी दिने छैन । अरू साथीहरूलाई पालो दिनेछु । सहयोग गर्नेछु । ६५ वर्षको भइसकेँ । अर्को ५ वर्षपछि ७० पुग्छु । त्यसपछि कुनै पदका लागि लड्नु पनि छैन । यो कार्यकालमा राम्रो गर्न सके जनताले मलाईं सधैँभरि सम्झिरहने छन् ।

जनताका नजरमा राम्रो भइरहनका लागि पनि मैले निरन्तर जनताको सेवा गर्नुपर्नेछ । जनताको हित हुने काम मेरो क्षेत्रबाट म सबै गर्नेछु ।

बझाङमा ठूलो लगानी आवश्यक

भीमबहादुर भण्डारी
प्रदेशसभा सदस्य–२

भरखर म निर्वाचित भएको छु । मलाई जिताउने प्रिय मतदाताहरूप्रति आभारी छु । अब हामीले जिल्लाको विकासका लागि के गर्ने के नगर्नेभन्दा पनि पहिले राजनीति भनेको कस्तो पेशा हो बुझ्नुपर्छ । राजनीतिक क्षेत्र भनेको समाज सेवाको क्षेत्र हो । विशेष गरी हाम्रो जिल्ला बिकटमै पर्दछ । यहाँ सम्भावना हुँदाहुँदै पनि राज्यको नजरमा नपरेको क्षेत्र हुँदा कमसेकम पनि जिल्लालाई राज्यको भित्र पर्छ है भन्ने पहल गर्नु अति आवश्यक हो । सँगै प्रदेश सरकार होस् या संघीय सरकार होस् पिछडिएको क्षेत्रमा अहिले सम्मकै साँवा ब्याजसहित अली बढी लगानी हुनुपर्छ भन्ने ढंगले मेरो पहल रहन्छ ।

मुख्यगरी यो क्षेत्रको सम्भावनाको खानी हुँदाहुँदै राज्यले ध्यान नदिएका क्षेत्र हो । यहाँ पूर्वाधारका क्षेत्र उस्तै छन् । सडक यातायातको अवस्था जरजर नै छ । शिक्षा, स्वास्थ्य, पर्यटनलगायतमा राज्यको लगानी पुगेको छैन । साथै सडक सञ्जालको ठेक्का भएको ठाउँमा पनि राजनीतिक दलका व्यक्तिहरू, ठेकेदारहरूले कमिसन खाएर अहिले नबोलीकन बेपत्ता भएका छन् र कर्मचारीहरूले पनि अहिलेसम्म ताकेता नगरेको अवस्था छ ।

अब कर्मचारी प्रशासनलाई पनि चुस्त–दुरूस्त बनाएर जनताको सेवा गर्ने रूपमा उहाँहरूलाई पनि चिनाउन जरूरी छ । अब कर्मचारीहरूसँग पनि बस्दैछौँ । सरकारी कार्यालयबाट गरेका कामका रिपोर्ट लिन्छौँ । निर्वाचनको बेला हामी कुनै पार्टीका थियौँ भने अब हामी आम बझाङीका भइसक्यौँ । अब सबैलाई समेटेर लैजाने हो ।

म नसक्ने काम बोल्दैन । चुनावको बेलामा पनि एक÷दुई ठाउँमा विद्यालयको नराम्रो अवस्था देखेर बेलेको छु, खाने पानीको समस्या भएको ठाउँमा बोलेको छु । बाँकीको ठाउँमा विश्वासको मत मागेको हुँ । मैले कुनै पनि ठाउँमा राजनीतिक रूपले आश्वासन दिएको छैन । राजनीतिक रूपमा सहयोग आदानप्रदान भएको भए काम गर्न असजिलो हुन्छ । मैले जनतालाई बिश्वासको मत दिनुहोस् म सके जति तपाईँको समस्या समाधान गर्नतिर लाग्छु भनेको छु । सकेजति इमान्दार ढंगले काम पनि गर्नेछु । नसके सकिन भन्छु तर, बेइमानी गर्दैन भनेको छु । त्यसैले मलाई पक्ष विपक्ष हुनु पनि पर्दैन ।

विकासका काममा पार्टीमै आवद्ध भएका ठेकेदारसँग मिलेर गएको भए भोलि बदमासी गर्दा पनि कारबाही गर्न सकिन्न । म चुनावमा आर्थिक रूपले कसैमा निर्भर भएन । चुनावको बेला यदि कसैले ठेकेदारसँग पैसा मागेको प्रमाणित गर्छ भने म भोलि नै पदबाट राजीनामा दिनेछु । त्यसैले निर्माणका काम गर्ने जो सुकै निर्माण व्यवसायीले आयोजनाहरू अलपत्र पार्ने, नेता तथा सांसदलाई प्रभावमा पार्न खोज्ने चेष्टा नगर्दा हुन्छ । समयमा काम नगर्ने हरेक निर्माण कम्पनी तथा ठेकेदार कारबाहीमा पर्छन् ।

त्यसैले पनि यसको मतलब म स्वतन्त्र र निष्पक्ष रूपले काम गर्न सक्छु भन्ने कुरा पुष्टि गर्छु । कतै साथीभाइले सहयोग गरे भन्दैमा जे पनि हुन्छ भन्ने पनि हुँदैन । यो कुरालाई हामीले रोक्नु नै पर्छ । हिजोको प्रदेश सरकार बदनाम भएको छ त्यो कुरा हामीले रोक्नैपर्छ । नत भने संघीयता कार्यान्वयन नै हुदैन । हामी यस्तो ठाउँमा छौँ कि काम नगरी हुदैन, काम गर्नु नै पर्छ । अब हामीलाई हामी नयाँ भयौँ, प्रदेशका संरचना बनाउँदा जनशक्ति अभाव भयो, ज्ञान भएन भन्ने ठाउँ नै छैन ।

हामी काम नगरी नहुने ठाउँमा पुगेका छौँ । नयाँ भयो, अनुभव भएन भन्न पाइदैन । हिजोका जस्तो छल्ल पनि पाइदैन । सहयोग हामी मागौँला साथी भाइको तर रिटनमा हामीले पनि साथीभाइले जे भन्यो त्यहीनै मान्ने भन्ने कुरा हुदैन ।चुनावबाट निर्वाचित भएपछि एउटा स्वतन्त्रता हुन्छ नी । त्यो स्वतन्त्रताभित्र म छु । मेरो तहमा नि त्यो निर्णय गर्नेछु । कार्यान्वयन गर्ने सन्दर्भमा पनि म छु । सबै साथीभाइका राम्रा कुरा निरन्तरता गर्ने हो, नराम्रा कुरा हेरिँदैन ।

अहिले पनि जिल्लामा धेरै बजेट आएको तर सबै काम लथालिङ भएको छ । ठेक्का भएका छन्, प्रक्रियामा गएका छैनन् । गएका पनि निरन्तर कार्यान्वयनमा छैनन् । पैसा अर्बौँ आउँछ तर पनि सबै काम लथालिङ छ । यसलाई कसरी रोक्न सकिन्छ ? यो विषयमा हामी छलफल गर्दैछौँ । बेथिति गर्ने सबै अहिलेबाटै निकालिन्छ। (कुराकानीका आधारमा)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार