सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • बिहीबार उधौली पर्व मनाइँदै
समाचार

बिहीबार उधौली पर्व मनाइँदै

काठमाडौं । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ । किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राईका अनुसार अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो ।

बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा/पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ । संस्कृति अध्यता भोगिराज चाम्लिङका अनुसार उधौली र उभौली पर्व मनाउने तरिका फरक छ । उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ । उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय सहर बजारमा कृषि संस्कृति र जीवनशैली नभएका कारण उभौली झैँ ढोल झ्याम्टा बजाउँदै नाचगानसमेत गर्ने गरिएको छ।

यसैविच आज धानको विधिपूर्वक पूजाआजा एवम् दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाण्डौको चम्पादेवी, नुवाकोटको शिखरबेसी र दुप्चेश्वरलगायत ठाउँमा समेत मेला लाग्ने गर्दछ । यस्तै, नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुह्नी पनि भनिन्छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार