शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • २०७४ पछिका ६ जना स्वास्थ्यमन्त्री पराजित [कसको मत कति]
Breaking News

२०७४ पछिका ६ जना स्वास्थ्यमन्त्री पराजित [कसको मत कति]

काठमाडौँ । २०७४ को निर्वाचनपछिको पाँच वर्षमा स्वास्थ्य मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा १० जना आए । जसमध्ये अहिलेको निर्वाचनमा हालका मन्त्री भवानीप्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीबाहेक सबै जना उम्मेदवार बनेका थिए ।

निर्वाचनमा होमिएका ८ जना पूर्वमन्त्री र राज्यमन्त्रीमध्ये पद्मा अर्यालको निर्वाचन क्षेत्रमा विवादका कारण अझै मतगणना हुन सकेको छैन भने डा. सुरेन्द्र यादवको क्षेत्रमा अझै मत गणना सकिएको छैन । डा. यादव पनि धेरै मतले पछाडि छन् । अन्य ६ जना मन्त्री र राज्यमन्त्री भने निर्वाचनमा पराजित भएका छन् ।

ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचनमा होमिएका थिए । उनलाई नोबल मेडिकल कलेजका सञ्चालक नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले पराजित गरेका हुन् । शर्मा ४५ हजार ०९७ मत ल्याई विजयी भएका हुन् । उनले ढकाललाई २१ हजार १०४ मतान्तरले पराजित गरेका हुन् । पराजित भानुभक्त ढकालले २३९९३ मत ल्याएका छन् । ढकाल २०७६ मंसिर ५ गते स्वास्थ्य मन्त्रालयमा आएका थिए ।

ढकालभन्दा अगाडि स्वास्थ्यमा उपेन्द्र यादव मन्त्री थिए । उपप्रधानसहितको जिम्मेवारी लिएर आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव पनि भारी मतान्तरले पराजित भएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट यादवलाई १८ हजारको मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । विजयी भएका राउतले ३५ हजार ४२ मत ल्याए । उनका प्रतिस्पर्धी यादवले १६ हजार ९६३ मत ल्याएका छन् । दुवै बीच १८ हजार ६३ मतको अन्तर रह्यो ।

अहिलेको निर्वाचनमा पराजित भएका अर्का पूर्व स्वास्थ्यमन्त्री हुन् हृदयेश त्रिपाठी । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा थिए । उनलाई नेपाली कांग्रेसका विनोद चौधरीले पराजित गरेका हुन् । चौधरीले पूर्व स्वास्थ्यमन्त्री त्रिपाठीलाई ७ हजार १८७ मतले पराजित गरेका हुन् । चौधरीले २९ हजार ४९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन् ।

त्रिपाठीपछि ओलीले स्वास्थ्यमा शेरबहादुर तामाङलाई मन्त्री नियुक्त गरेका थिए । तामाङलाई ०७८ जेठ २१ गते मन्त्रीमा नियुक्त गरिएको थियो । उनको कार्यकाल पनि निकै छोटी रह्यो । उनी असार १० गतेसम्म मात्र मन्त्री भए । तामाङ पनि यसपटकको निर्वाचनमा पराजित भएका छन्। सिन्धुपाल्चोक २ बाट कांग्रेसका मोहन बस्नेतले तामाङलाई पराजित गरेका हुन् । मोहन बस्नेतले ३९ हजार ३६७ मत ल्याएर जित हासिल गरे भने एमाले उम्मेदवार तामाङले २७ हजार ४९३ मत ल्याए ।

त्यसपछि स्वास्थ्यमा राज्यमन्त्रीका रुपमा उमेश श्रेष्ठले जिम्मेवारी सम्हाले। तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि श्रेष्ठ राज्यमन्त्री भएका हुन् । देउवाले २०७८ साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका हुन् । स्वास्थ्य तथा शिक्षा व्यावसायीलाई स्वास्थ्यको नेतृत्व दिएको भन्दै प्रधानमन्त्री देउवा र श्रेष्ठको तीव्र आलोचना भयो ।

श्रेष्ठ यसपटकको निर्वाचनमा चितनव क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा होमिएका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारी मतान्तरले पराजित गरेका हुन् । लामीछाने श्रेष्ठ भन्दा ३४ हजार १७० मत बढी ल्याउँदै विजयी भएका हुन् । लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् भने श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् ।

श्रेष्ठ मन्त्रालयमा असोज २२ गतेसम्म मात्र राज्यमन्त्रीका रुपमा रहे । त्यसपछि प्रधानमन्त्री देउवाले २०७८ असोज २२ गते एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई स्वास्थ्यमन्त्री र सोही पार्टीका भवानीप्रसाद खापुङलाई राज्यमन्त्रीको जिम्मेवारी दिए । खतिवडा पनि यो निर्वाचनमा पराजित भएका छन् । मकवानपुर– २ बाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका खतिवडालाई एमालेका महेशकुमार बर्तौलाले पराजित गरेका हुन् । बर्तौलाले ३४ हजार ९१६ मत ल्याएर जित हासिल गरे भने खतिवडाले ३० हजार ३९६ मत ल्याए । स्वास्थ्य खबरबाट

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार