शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सुरक्षित र शान्तिपूर्ण रूपमा मतदान गराउन बिहानैदेखि देशभरको सुरक्षा व्यवस्था कडा
समाचार

सुरक्षित र शान्तिपूर्ण रूपमा मतदान गराउन बिहानैदेखि देशभरको सुरक्षा व्यवस्था कडा

सुरक्षित र शान्तिपूर्ण रूपमा मतदान गराउन बिहानैदेखि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । देशका धेरै ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । चोक चोकमा खटिएका प्रहरीले सुरक्षा जाँचमा कडाइ गरिरहेका छन् । सुरक्षा व्यवस्थापन गरेकाले ढुक्क भएर मतदान केन्द्रसम्म पुग्न र कसैको दबाबमा नपरी भोट हाल्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुरक्षाको सबै व्यवस्थापन भएकाले ढुक्क हुन आग्रह गेरेका छन् । उनका अनुसार सुरक्षाका लागि तीनै घेरामा सुरक्षाकर्मी खटिसकेका छन् । यस अघिका चुनावमा केही ठाउँमा बुथ क्याप्चर र धाँधलीका घटना भएकाले यसपालि त्यस्तो हुन नदिन कडाइका साथ तयारी थालिएको उनले बताए। २०६४ सालदेखि भएका घटना, अस्वाभाविक मतदान भएका आधारमा १० भन्दा बढी जिल्लाका केही मतदान केन्द्रलाई विशेष संवेदनशील सूचीमा राखेर हवाई गस्तीसमेत थालिएको गृह प्रवक्ता पोखरेले बताए।

यस अघिका चुनावमा झडप हुने तथा बुथ कब्जाको प्रयास हुने गरेका ठाउँमा थप मद्दतका लागि विशेष प्रहरी टोली खटिएका छन् । दोलखा, बाजुरा, कैलालीलगायत जिल्लामा यस्तो टोली खटाइएको गृह मन्त्रालयले जनाएको छ । यस्ता ठाउँलाई उच्च संवेदनशील सूचीमा राखेर विशेष सुरक्षा व्यवस्था अपनाइएको छ । अति संवेदनशील ठाउँमा सेनाले हवाई गस्ती गर्नेछ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले १० हजार ८ सय ९२ मतदान केन्द्रमै पूर्ण सुरक्षाको व्यवस्था मिलाइएको बताएका छन् । उनले मतदान स्थलमा वा भोट हाल्न जाँदै गर्दा केही समस्या परे पैसा नलाग्ने प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी गराउन समेत आग्रह गरे । चुनावमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी खटिएका छन् । चुनावको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी हुनेछन् भने बाहिरी घेरामा सेना र सशस्त्र प्रहरी खटिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार