आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • धारा निर्माण भएको ८ महिनासम्म पनि आएन पानी
Breaking News

धारा निर्माण भएको ८ महिनासम्म पनि आएन पानी

कल्पना उपाध्याय

बझाङ । खप्तडछान्ना गाउँपालिका–५ मतुवाकी सर्मिला उपाध्यायलाई जहिल्यै पानीको चिन्ता हुन्छ । नजिकै कुवाको पानी वा टाढाको धाराबाट पानी बोकेर दैनिकी चलाउनु उनको नियति जस्तै हो । उपाध्यायलाई गत चैतमा भने निकै आशा पलायो ।

टोलमै नयाँ खानेपानीको धारा बनेपछि पानीको लागि दुःख गर्नु नपर्ने भन्दै टोलबासीमै खुसीयाली छायो । तर, त्यो खुसी धेरै दिन नटिकेर अन्यौलमै रह्यो । ‘पानी आउँछ, पानी आउँछ, भनेर धारामा हेर्न थालेको ८ महिना भइसक्यो,’ उपाध्यायले भनिन्, ‘यहाँ न पानी आयो, न पलम्बर टिम नै । पानी बनाउने भनेर आएको उपभोक्ता टिम नै बिर्सेजस्तो भएको छ । हामीले फेरि कुवाकै भर पर्नु परेको छ ।’

सर्मिलाको जस्तै समस्या गाउँबासीले नै भोगेका छन् । ‘पानी नआएरै धारा पुराना भइसके,’ सोही ठाउँकी सविता उपाध्याले भनिन्, ‘भोलि पर्सी नै आउँछ भनेको पानी ८/९ महिना बितिसक्यो । आउने सुरसारै छैन ।’ उनका अनुसार धारा निर्माण गर्ने उपभोक्ता समितिले धारामा पानी छिट्टै आउने आश्वासन मात्रै दिइरहेको छ । ‘पानी भने सुन्न मात्रै पाइएको छ, धारामा कहिले आउने हो अत्तोपत्तो छैन ।’ उनले भनिन् ।

उपाध्यायका अनुसार अहिले गाउँमा पुरानो धाराबाट पानी आउँछ, त्यसमा पनि टोलभरिका स्थानीयले भाँडा थाप्नुपर्छ । ‘पुरानो धाराहरूमा पनि खासै पानी छैन । खाना पकाउन लागि एक गाग्री पानी भर्न पनि एक घण्टा नै कुर्नुपर्छ । कहिलेकाँही त दिउँसो पानी भर्न घुँइचो लाग्ने हुँदा राति भर्नुपर्छ ।’ उनले दुखेसो पोखिन् ।

गाउँमा दिनहुँ खानेपानीको समस्या हुनुलाई वडाध्यक्ष रामबहादुर सिंह उपभोक्ताको लापरबाहीले ढिलाई भएको बताउँछन् । उनी भन्छन्, ‘बाहिरको ठेकेदार भए त टाढा हुन्थ्यो । गाउँमै बस्ने उपभोक्ता समितिका पदाधिकारीले गाउँकै समस्यालाई वेवास्ता गर्नु भनेको ठूलो लापरबाही हो ।’

उनका अनुसार पटक–पटक यो विषयमा कुरा सुनिँदा पनि गाउँमा पानी नआउनु दुःखद हो । ‘यो विषयमा उपभोक्ता समितिसँग बुझेर छिटो सम्पन्न गर्न भन्छु,’ उनले भने । यता खानेपानी उपभोक्ता समितिका अध्यक्ष विक्रम सिंहले भने पानीको ट्यांकी, पाइप बिच्छ्याउने काम सबै भइसकेको र अब केही दिनमै मतुवाका धारा–धारामा पानी आउने बताउँछन् । अहिले आफूहरू पानीको काममै लागेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार