प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउन अब दुई साता मात्रै बाँकी छ । यति बेला नेताहरू आफूलाई योग्य देखाउँदै मतदाता केन्द्रित भएका छन् । राजनीतिक दलहरू नै अहिले घरदैलो गर्नेदेखि लिएर आमसभा जुलुस निकाल्नेसम्मका काम गरिरहेका छन् । खेतीबारीमा काम गरिरहेका कृषकलाई मत माग्दै घरखेतमा सहयोगी ‘चटक’ पनि देखाइरहेका छन् । त्यस्तो गतिविधि गर्ने एउटै पार्टीमा मात्रै नभई उम्मेदवारदेखि समर्थक पनि हुन्छन् ।
मत कसलाई दिने भनेर मतदातामा पनि अन्यौल उस्तै छ । सबै दलले आफ्नो प्रचार गरे पनि मतदाताले कस्तो उम्मेदवारलाई छान्ने भन्ने कुरा निर्णय गर्ने बेला आएको छ । मतदाताले आफ्नो लागि, आफ्नो ठाउँको लागि कस्तो नेता, कस्तो पार्टी छान्ने समय पनि यही हो ।
अधिकांश ठाउँमा सोझा मतदाताका बीच केही उम्मेदवारलाई पर्यटकीय नेता भनेर पनि संज्ञा दिइरहेका छन् । पाँच वर्षमा एक पटक गाउँगाउँमा भोट माग्ने र त्यसपछि पाँच वर्षसम्मै गाउँमा अनुहार नदेखाउने नेतालाई पर्यटक नेताको चिनिएका हुन्छन् ।
अब मतदाताले साँच्चिकै सोच्नुपर्ने बेला आएको छ । मतदाताको साथी भनिरहने उम्मेदवारको पृष्ठभूमि कस्तो छ ? कस्तो परिवारमा जन्मिएको हो ? योभन्दा अगाडि के काम गथ्र्यो ? उसको खर्च गर्ने स्रोत के हो ? जिल्लामा बस्ने नेता हो कि पाँच वर्षे नेता हो ? त्यसलाई जनताले चिन्नु जरूरी हुन्छ । एक दिन गलत मान्छेलाई भोट हाले पाँच वर्षसम्म अन्धकारमा बस्ने कि राम्रोलाई छानेर देश र जनताको मुहारमा खुसीयाली ल्याउने ? गम्भीर रूपमा सोच्नुपर्छ ।
अहिले त गाउँगाउँमा आफूलाई जनताप्रेमी, विकासप्रेमी भनेर सबैले आ–आफ्नो प्रचार गरिरहेका हुन्छन् । आफ्नो नराम्रो पक्ष भन्ने कुरै भएन । अब जनताले खोजी गरेर आफ्नो विवेक प्रयोग गर्नैपर्छ । कतिपय ठाउँमा नेताहरू मतदाता किनबेचमा जुटेका हुन्छन् । आफ्नो पक्षमा माहोल बनाएर मतदान गराउनका लागि परेका हुन्छन् । केही कार्यकर्ता आफ्ना टोल सुरक्षित गर्नका लागि औषधि चाहिएको संकेत गर्दै पैसा खाइरहेका हुन्छन् । त्यो सबैभन्दा गलत कदम हो । बेचेका मतले विकासको अपेक्षा गर्नु मुर्खता हुन्छ । त्यसैले हाम्रो नभनी राम्रो नेतालाई छानौँ ।
फेसबुक प्रतिक्रियाहरु