सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्रमा सुधार आएको गभर्नरको दाबी
अर्थ

राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्रमा सुधार आएको गभर्नरको दाबी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गरेका छन् । आज बुधवार नेपाल बैंक लिमिटेडको ८६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताए। उनले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको सङ्केत नदेखिनेसमेत दाबी गरे ।

उनले भने, ‘राष्ट्र बैंकले यो वर्षको तीन महिनाको वर्तमान आर्थिक स्थिति सार्वजनिक गरेको छ । हामी गएको वर्षभर नै धेरै नै तनावपूर्ण आर्थिक अवस्थामा रह्यौँ । यसबीचमा हामीले धेरै अप्रिय खालका नीतिगत निर्णयहरू पनि लियौँ । राष्ट्र बैंकले लिएको नीतिले सकारात्मकरूपमा काम गरेको कुरा अहिलेको रिजल्टबाट देखिएको छ । अर्थतन्त्रलाई सही ट्र्रयाकमा लैजाने आशामा छौँ ।’

गभर्नर अधिकारीले असोज मसान्तसम्म भुक्तानी सन्तुलन १२ अर्ब रुपैयाँले बढेको बताए । उनले अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याउन आयात प्रतिबन्ध लगाउने लगायत धेरै नीति लिनुपरेको बताए ।

असोजसम्ममा आयात ३५ दशमलव ७ प्रतिशत र निर्यात १६ दशमलव २ प्रतिशतले घटेको उनले बताए । गभर्नर अधिकारीले तरलताका कारणले कुनै पनि बैंकलाई अप्ठेरो पार्ने स्थिति आउन नदिने दाबी गरे।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार