शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • ‘वर्षौंपछि उज्यालो संसार’
Breaking News

‘वर्षौंपछि उज्यालो संसार’

बझाङ । छविसपाथिभेरा गाउँपालिका हरिष विष्टले आँखाको ज्योति गुमाएको करिब एक दशक भइसक्यो । बृद्धावस्थाका विष्टलाई अब आँखाको नदेखेरै बाँकी जीवन बित्ने हो कि भन्ने चिन्ताले सताइरहन्थ्यो ।

आँखाको उपचारका लागि अस्पताल तथा क्लिनिकमा जाँदा डाक्टरले उनलाई ‘नेत्रसुल’ नामक औषधि मात्रै हातमा थमाउथे र चाडै सञ्चो हुने आश्वासन दिन्थे । उपचारका लागि टाढा जान उनको आर्थिक अवस्था निकै कमजोर थियो । जडिबुटी, नेत्रसुलकै प्रयोगले दशक नाघेको पत्तै भएन ।

विष्टका परिवारले पनि शिविरका लागि धेरै खोजी गरे । दक्ष चिकित्सकको खोजी गरे । सिधै टाढा गएर चिकित्सकको सल्लाह लिन जान सक्ने अवस्था थिएन ।
पालिकामा एक दुई जनाका लागि शिविर बस्ने कुरा पनि भएन । सञ्चारमाध्यममा सूचना प्रशारण भएको जानकारी पाउनासाथ विष्ट आफन्तको सहयोगमा खप्तडछान्ना गाउँपालिका पुगे ।

गाउँपालिकामा आयोजना गरिएको निःशुल्क शिविरमा बुधबार विष्टको आँखाको शल्यक्रिया भयो । शुक्रबार त उनले खुला संसार देखेपछि संसार जिते जस्तै महशुस गरे । ‘धेरै वर्ष भइसक्यो आँखा गुमाएको,’ उनले भने, ‘आँखा फर्केला भन्ने कल्पना पनि गरिएको थिएन । भगवानरूपी डाक्टरले आँखा फर्काइ दिए । बुढेसकालमा आँखा देखेरै मर्ने भइयो ।’

आँखा देख्ने भएपछि विष्ट आफ्नो घर जान हतारमा थिए । उनलाई आफूले वर्षौंपछि आँखा पाएको खुसी साँटासाँट गर्नुथियो । ‘घर गएर डाँडाकाँडा हेर्न मन छ । आफन्तसँग अंकमाल गर्न मन छ । म जस्तो खुसी आज संसारमै कोही छैन होला ।’ उनले भने र घरतर्फ लागे ।

६ वर्षदेखि आँखा गुमाएका खप्तडछान्ना–४ का ९३ मा वर्षीय एक वृद्धले पनि आँखा देखेर पुनर्जीवन पाएकोमा खुसी व्यक्त गरे । ‘अस्ताउँदो सूर्यजस्तै भइसके तर पनि अन्तिममा आँखा देखेरै मर्ने धोको पूरा हुने भयो,’ उनले भने, ‘वृद्ध शरीर, डिड्न नसक्ने त्यसैमा आँखाले पनि साथ छाडेपछि टुहुरो महशुस गरेको थिए । अब भने एउटा नभई नहुने अंग डाक्टरले फिर्ता ल्याइदिए । उहाँलाई जति धन्यवाद दिए पनि पुग्दैन होला ।’

माथि उल्लेख गरेजस्तै खप्तडछान्नामा बसेको शिविरबाट ६ वर्षका बालकदेखि ९३ वर्षीय वृद्ध गरी ६५२ जनाले लाभ लिए । त्यसमध्ये दुवै आँखा मोतीविन्दुको शल्यक्रिया ११५ जनाको गरियो । खप्तडछान्ना स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट अर्जुन थापाका अनुसार तीन दिने आँखा शिविरमा छान्नाका स्थानीय मात्रै नभए मष्टा, थलारा, छविसपाथिभेराका आँखाका बिरामीले समेत लाभ लिए ।

खप्तडछान्ना स्वास्थ्य चौकीमा च्यारिट हेल्थ फाउण्डेसनको समन्वयमा खप्तडछान्ना गाउँपालिकाले आयोजना गरेको आँखा उपचार शिविरमा चेकजाँचपछि २१६ जनालाई चस्मासमेत वितरण गरिएको थियो । शिविरमा च्यारिटी हेल्थ फाउण्डेसनका अध्यक्ष तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. विद्याप्रसाद पन्तको नेतृत्वमा ११ जना स्वास्थ्यकर्मीको टोलीले उपचार गरेका थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै