आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • प्रचारमा अवरोध गरेपछि एमाले कार्यकर्ता र गठबन्धनका कार्यकर्ताबीच झडप
समाचार

प्रचारमा अवरोध गरेपछि एमाले कार्यकर्ता र गठबन्धनका कार्यकर्ताबीच झडप

दार्चुला । प्रचारमा अवरोध गरेपछि दार्चुलाको अपिहिमाल गाउँपालिका– ५ ओखलमा एमाले कार्यकर्ता र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। एमाले प्रदेशसभा २ का उम्मेदवार रामदत्त जोशीको टोलीमाथि गठबन्धनका कार्यकर्ताले प्रचारमा अवरोध गरेपछि बिहीबार बेलुकी झडप भएको हो।

अपिहिमाल गाउँपालिकाबाट घरदैलो गरेर मार्मा फर्किने क्रममा ओखलमा गठबन्धनका कार्यकर्ताले मदिरा सेवन गरी प्रचारमा अवरोध गरेपछि झडपको अवस्था आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजेश शाहीका अनुसार झडपमा परि एमाले कार्यकर्ता मार्मा गाउँपलिका ३ का २८ वर्षीय विरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी सामान्य घाईते भएका छन्।
यस्तै गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का २० वर्षीय जहेन्द्रसिह धामी र २४ वर्षीय जगतसिह धामी पनि घाइते भएका छन्। उनीहरुको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भएको शाहीले बताए। सामान्य चोट लागेका कारण स्वास्थ्य चौकीमा उपचार भएको हो। गठबन्धनका कार्यकर्ताले उम्मेदवार आउने क्रममा अवरोध गरेपछि झडपको अवस्था आएको उनले बताए।

झडपपछि इप्रका लटिनाथबाट खटिएको प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंह नेतृत्वको टोलीले उम्मेदवारको टोलीलाई लटिनाथ पुर्याएको छ।

प्रहरीकै स्कटिङको क्रममा मार्मा गाउँपालिका १ पारिबगर क्षेत्रमा फेरि गठबन्धनका कार्यकर्ताले उम्मेदवार चढेको गाडीमाथि ढुंगा प्रहार गरेको प्रहरी निरीक्षक सिंहले बताए। प्रहरीलाई समेत थप फौज परिचालन गर्न गाडी नहुँदा समस्या भएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार