शुक्रबार, अशोज ४, २०८१
Breaking News

को हुन् अफिलाल ओखेडा ?

बझाङ । आउँदो मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि बझाङ १ बाट नेकपा एमालेका नेता अफिलाल ओखेडा उम्मेदवार भएका छन् । लामो समय जिल्लामा राजनीति गर्दै आएका ओखेडा समानुपातिक सूचीबाट संविधानसभा सदस्य भएका हुन् ।

२०५४ सालमा हेमन्डवाडा गाविस वडा नम्बर ५ बाट राजनीति सुरू गरेका ओखेडाको राजनीतिक यात्रा करिब साढे दुई दशक भइसकेको छ । पार्टीको वडा सचिवबाट राजनीति सुरू गरेको ओखेडाले २०५४ सालमै हेमन्तवाडा गाउँ कमिटीको अध्यक्ष भए । २०५७ सालमा इलाका कमिटीको सदस्य, ५९ सालबाट ६६ सालसम्म २ कार्यकाल जिल्ला कार्य समिति सदस्य भएर काम गरेका थिए ।

२०६६ सालबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, २०७० सालबाट अञ्चल कमिटी सदस्य हुँदै नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्जको रुपमा काम गरिरहेको छन् । नेकपा एमालेको आठौं र नवौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका ओखेडा उत्पीडित जातीय मुक्ति समाजको गाउँ कमिटी अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेका छन् । २०४६ सालबाटै सत्यवादी माविबाट भानुभक्त जोशी, अर्जुनबहादुर सिंहलगायतका नेताहरूबाट प्रभावित भएर राजनीति चेत पलाएको ओखेडा ०५४ देखि भने राजनीतिमै होमिए ।

अहिले उनले जित्ने आधार भने २०५१ को जस्तै लोकप्रिय काम गर्नेछ । ‘२०५१ सालमा गाउँ विकास समितिमा गएको ३ लाख बजेट बिस्तारै विकासको गतिमा अगाडि बढेको छ,’ ओखेडाले भने, ‘३० वर्षको बीचमा जति हुनुपर्ने त्यति नभए पनि धेरै विकास भएको देखिन्छ । जिल्लामा पहिले घरहरु खरले छाएको र अहिले गाउँ गाउँमा पिल्लरवाला घरसमेत बन्दै गरेका छन् । सडक, खानेपानी, स्वास्थ्य, शिक्षाजस्तै सबै विकासका पूर्वाधारमा विकास भइरहेको उनले बताए । आफूलाई त्यस्तै विकासशील काममा इँटा थप्नका लागि पार्टीले उम्मेदवार बनाएको बताए ।

उनले एमालेकै सरकारको पालामा आलु जोन कार्यक्रम लागू भएको बताए । त्यसै कार्यक्रममार्फत् नै अहिले अहिले बझाङबाट वार्षिक ८/१० करोडको आलू निर्यात हुने गरेको छ । त्यस्तै कामका लागि पनि बझाङबाट एमालेले नेतृत्व गर्नुपर्ने उनले बताए ।

ओखेडाले निर्वाचन जित्नका लागि धेरै आधार सार्वजनिक गरेका छन् । जडिबुटी प्रशोधन केन्द्र बझाङमै बनाउने, घरघरमा राष्टिूय प्रशारण लाइन पु¥याउने, बझाङमा कृषि प्रणाली परम्परागत मात्रै भएको र आधुनिकीकरण कृषि प्रणालीतिर विकास गर्ने, भू–क्षयबाट कालंगा, सेती, बाहुलीगाड, सुनीगाड लगायतका नदीहरूबाट कटान भएका फाँटहरू तटबन्धन गर्ने, शुसासन कायम गर्नेलगायतका बुँदाहरू सार्वजनिक गरेका छन् ।

उनले राजनीतिक पेशा शासक नभई सेवक भएको बताए । ‘म राजनीतिमा प्रवेश गरेपछि आफूलाई कहिल्यै शासक ठानिन । जहिल्यै सेवक ठाने । फेरि त्यसलाई प्रमाणित गर्नका लागि मेरो उम्मेदवारी हो ।’ उनले जयपृथ्वीबहादुर सिंहको जिल्लामा जनताको न्यायका लागि अग्रजलाई सम्मान गर्दै युवा पुस्ताबाट प्रतिनिधित्व गर्नका लागि पार्टीले टिकट दिएको बताए ।

‘संसदीय अभ्यास गर्ने सबैले चालेका योजनाहरू पूरा गर्न पनि मेरो उम्मेदवारी हो,’ उनले भने, ‘१४ जना प्रत्यक्षबाट प्रतिनिधित्व गरेका नेताहरू चन्द्रजंगबहादुर सिंह, गगनजंगबहादुर सिंह, अर्जुनजंगबहादुर सिंह, भानुभक्त जोशी, सुरेश मल्ल, लोकराज जोशी, भैरवबहादुर सिंह, नरेशबहादुर सिंह, देवकी मल्ल, मानप्रसाद खत्री, अर्जुनबहादुर थापा, एलबी रावल, शंकर खड्कालगायतले प्रतिनिधित्व गर्दा उठाइएका विकास निर्माणका हरेक कामलाई म पूर्णता दिनेछु ।’

ओखेडाले पुस्तान्तरणको अभ्यास र दलित समुदायको मान्छे भएको हिसाबले जिल्लामा पहिलो पटक टिकट प्राप्त हुँदा जिल्लालाई नै न्याय हुनेमा विश्वस्त भएको बताए । ‘बझाङबासीले न्याय गरेर जिताएको खण्डमा बझाङ न्यायको पक्षमा, मानवताको पक्षमा, जयपृथ्वीबहादुर सिंहले उठाएको चिन्तनको पक्षमा, अन्तर्राष्ट्रिय स्तरमा पनि नाम उँचो हुने गरि काम गर्नेछु ।’ उनले भने ।

उनले आफू जहिल्यै जनताको लागि जुनसुकै माध्यमबाट उपलब्ध हुने भएकाले जनताले पनि न्याय गर्नेमा विश्वस्त रहेको बताए । ‘म चुनाव जिते पनि यहाँहरूकै वरिपरि हुनेछु । मेरो लागि कसैले भनसुन गर्नुपर्दैन । भेट्नका लागि अरूमार्फत् सम्पर्क गराउनुपर्दैन । मलाई जसले, जहिले, जतिबेला पनि भेट्न सक्नेछन् ।’ उनले जनताको हुलाकी भएर सरकारमा बुलन्द आवाज उठाउनका लागि आफू लागि पर्ने बताए ।

ओखेडा आफूलाई हाइड्रोपावरको पक्षपाती भएको बताउँछन् । ‘म त जहिल्यै हाइड्रोपावरको पक्षपाती हुँ । म सांसद हुँदा सरकारलाई पटक–पटक घच्घचाएको थिएँ । राधा ज्ञवाली उर्जामन्त्री हुँदा २१० मेगावाटको सर्वे भएको धमेनाको हाइड्रो मा ८ करोड रूपैयाँ विनियोजन गराएको थिएँ । अहिले त्यसको डिटेल स्टमेटको काम अगाडि बढेको छ ।’ उनका अनुसार अहिले धमेनाका स्थानीयले मेला, भीर, जमिन भएका स्थानीयले ५०/६० लाख रूपैयाँ मुआब्जासमेत लिइसकेका छन् ।

कालंगा हाइड्रोका लागि पनि आफूले ७७ मेगावाटको निर्माणमा संसदमा सशक्त ढंगले वकालत गरेको उनले स्मरण गरे । ‘रसुवाको चिलिमे हाइड्रो बनेपछि नुवाकोटका मान्छेले पनि लाभ लिइरहेका छन् । त्यसरी नै बझाङमा विद्युतको विकासका लागि व्यक्तिगत सम्बन्धका कारण पनि कोरियाली नागरिकलाई बाहुलीगाडको भामचौरमा ३ देखि ५ मेगावाटको विद्युत, सुनीगाडको ओखल हाइड्रोका लागि पनि वकालत गरिरहेको उनले बताए ।

‘बझाङमा हाइडूोको ठूलो सम्भावना छ,’ उनले भने, ‘अहिले ३३ केबी लाइन मात्रै भएको छ । करिब ४ सय लाइन केबी लाइनको परिकल्पना गरिरहेका छौँ । कालंगाबाट बागथलासम्म लाइन पुर्‍याउनका लागि पनि ७ करोड खर्च हुने र निर्माण कम्पनीले पनि सरकारले गर्नुपर्ने भनिरहेको छ । विद्युत पनि विकासको नितान्त पूर्वाधार भएको र बझाङमा सम्भव हुने हुँदा यसको निरन्तर वकालत गरिरहेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका ओखेडा जनताको स्वाभिमान, सेवक, निष्ठाका लागि पनि बझाङी जनताले आफूलाई मतदान गरि जिताउनेमा ढुक्क भएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार