शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • को हुन् पृथ्वीबहादुर सिंह ?
Breaking News

को हुन् पृथ्वीबहादुर सिंह ?

बझाङ । आउँदो मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि बझाङ १ बाट नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंह चुनावमा होमिएका छन् । लामो समय जिल्लामा राजनीति गर्दै आएका सिंहलाई बाम–लोकतान्त्रिक गठबन्धनमा साझा उम्मेदवार हुन् ।

सिंहले २०३१ सालमा एसएलसी पास गरेपछि ०३२ सालमा कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसमा भर्ना भएर नेविसंघको सदस्यता लिएर राजनीति प्रारम्भ गरेका हुन् । सिद्धनाथ क्याम्पसकै पहिलो पहिलो व्याच नै सिंहको थियो । त्यसपछि २०३६ सालको जनमत संग्रह हुँदा उनी नेपालगञ्जमा कानुन पढ्न गएका थिए । नेपालगञ्जमा उनी नेविसंघको जिल्ला सभापति भएर काम गरे । २०४२ सालमा सत्याग्रहमा पनि भाग लिएका सिंहको त्यो बेलामा कञ्चनपुरमा बसोबास थियो ।

२०४६/४७ सालको जनआन्दोलनमा सरकारको विरोध गरेको आरोपमा उनलाई तत्कालिन सरकारले पक्राउ गरी कञ्चनपुरमै जेल हाल्यो । पछि ०४७ सालमा उनी बझाङ आए । त्यसै वर्ष भएको अधिवेशनमा सिंह नेपाली कांग्रेसको जिल्ला कार्य समितिको पार्टी सचिव भए । त्यस बेलामा जिल्ला सभापति सत्यराज भण्डारी थिए । दोस्रो अधिवेसनमा पनि सिंह सचिवकै जिम्मेवारीमा रहे । २०४९ सालमा गाविस अध्यक्ष पनि भए । २०५४ सालमा पार्टीले जिविस सभापतिको टिकट दियो तर, झिनो मतले पराजित भए ।

कांग्रेसमा तेस्रो अधिवेशन हुने बेलामा पार्टी बिभाजन भयो । तीन वर्षसम्म अलग अलग भएको पार्टी एकता हुँदा सिंह सभापति र भण्डारी सह–सभापति भए । २०६७ सालमा पुनः जगतप्रसाद जोशी, सिंह र भण्डारी पार्टी सभापतिका लागि लडे । त्यसमा पहिलो चरणमै सिंहले ५० प्रतिशत ल्याएर सभापति पद जिते । ०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा ७ हजारभन्दा बढी मतले पराजित भए । पार्टीमा भने महासमिति सदस्य हुँदै आएका छन् ।

अहिले उनको जित्ने आधार भनेको गठनबन्धन नै हो । लामो समयदेखि जिल्लामा क्रियाशिल भइरहँदा उनको लोकप्रियता पनि उत्तिकै छ । व्यक्तिकै लोकप्रियता भए पनि अघिल्लो चुनावमा बाम घटक मिलेर आफू पराजित भएपछि यो पटक भने ३ पार्टीसँगै चुनाव लडेर जितिने उनले सोच बनाएका छन् ।

‘चुनावमा सबै पार्टीको मत आउने भएकाले म ढुक्कसँग जित्नेछु,’ सिंहले भने, ‘हाम्रो बलियो आधार भनेकै गठबन्धन हो । त्यसपछि हामीले गरेका कामले पनि जनता सन्तुष्ट छन् । अहिलेसम्म कुनै सार्वजनिक पदमा नरहेको हुँदा यो पटक जनताले मलाई काम गर्ने ठाउँमा पठाउने छन् भन्ने विश्वास लिएको छु ।’

सिंहले अरूभन्दा फरक पहिचान र व्यवहार भएको हुँदा आफूलाई सबै पार्टीले पनि रूचाउने गरेको बताए । ‘म जहिल्यै कार्यकर्ता तथा मतदाताको बीचमा हुन्छु । उहाँहरूका सुखदुःख महशुस गरेको छु । उहाँहरूले पनि मलाई नै चाहानुभएको छ । त्यसैले म ढुक्कसँग जित्नेछु । ३० वर्षदेखि जिल्लामा बसेर मैले गरेको सेवाको उचित मूल्यांकन जनताले गर्नेछन् ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार