शुक्रबार, अशोज ४, २०८१
Breaking News

को हुन् ऐनबहादुर महर ?

बझाङ । प्रतिनिधिसभा निर्वाचनका लागि बझाङमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐनबहादुर महर उम्मेदवार बनेका छन् । अनेरास्ववियूबाटै राजनीति सुरूवात गरेका महर अनेरास्ववियूको केन्द्रीय अध्यक्ष भएर पार्टीको केन्द्रीय सदस्य हुँदै प्रनिनिधिसभा सदस्य बन्ने दौडमा छन् ।

२०५५ सालदेखि औपचारिक रूपमा राजनीतिमा होमिएका ऐनबहादुर महर नेकपा एमालेमा सशक्त युवाको रूपमा चिनिन्छन् । सुनी पिपलचौर माद्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि राजधानी छिरेका महर उच्च शिक्षा अध्ययनसँगै राजनीतिमा क्रियाशिल हुँदै आएका हुन् ।

राजनीतिक चेतना भएको परिवारमा जन्मेका उनी बाल्यकालदेखि नै कम्युनिष्ट विचारधाराबाट प्रभावित भएका थिए । २०५० सालमा भएको मदन–जीवराज हत्या घटनापछि सुरू भएको आन्दोलनबाट उनी पूर्ण रूपमा राजनीतिमा होमिए । दासढुंगा घटनापछि मदन भण्डारीको जीवनी, उनले गरेको योगदान, भाषण, कम्युनिष्ट विचारधारा लगातार प्रचारसँगै भएको आन्दोलनपछि महर नेकपा एमालेको सक्रिय कार्यकर्ताको रूपमा स्थापित हुँदै गए ।

मुलुकमा परिवर्तनका लागि, विद्यार्थीको हकाधिकारका लागि, सुशासनका लागि, भ्रष्टाचार विरोधजस्ता सबै खाले संघर्ष गर्दै महरले २०७६ जेठ ३ गते अनेरास्ववियूको सर्वोच्च जिम्मेवारी प्राप्त गरे । राजधानीले सुदूरपश्चिमलाई मात्रै होइन, कर्णालीलाई समेत बेवास्ता गर्ने ठाउँबाट कुनै संगठनको सर्वोच्च जिम्मेवारीमा पुग्नु सानो कुरा होइन । त्यसमा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सबैभन्दा ठूलो विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष भए । विद्यार्थी संगठनपछि उनी अहिले नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा छन् ।

संगठनमा विद्यार्थी तथा पार्टी नेतृत्वको मन जित्ने र विश्वासिलो पात्र बनेपछि आफूलाई नेतृत्व प्रदान गरेको उनी बताउँछन् । ‘अहिले प्रतिनिधि सभा सदस्यका लागि पार्टीले टिकट दिइसकेपछि उत्साहित हुनुका साथै जिम्मेवार र गम्भीर बनाएको छ,’ उनले भने, ‘बझाङमा विकासको क्रम थोरै छ, अब धेरै गर्नुछ । विकासको गतिमा डोर्‍याउनु छ, गरिबीबाट माथि उठाउनुछ, मानिसको जनचेतना विकास गर्नुपर्ने छ । यसमा म दृढ छु । मैले बुझेको छु र मैले आफ्नै घरको विकास गर्नुपर्ने सम्झेको छु ।’

महर आफूलाई जनताले चिताएको बताउँछन् । उनी भन्छन्, ‘म जनताले खोजेको व्यक्ति हुँ । यहाँको समस्या प्रतिनिधि सभामा बुलन्द प्रस्तुत गरेर समाधान गराउँछु । बझाङका हरेक समस्या महशुस गरेको छु, बुझेको छु । पदमा रहँदा वा नरहँदा पनि सक्दो सहयोगका लागि सबै निकायसँग समन्वय गरेको छु । त्यसैले बझाङबासी आम जनता मेरो जितको प्रतिक्षामा छन् ।’

उनी बझाङबासीले पाटीभन्दा पनि बझाङलाई केन्द्रसम्म जोड्ने मान्छे खोजिरहेको बताउँछन् । ‘त्यस्तो व्यक्ति जनताले ऐन महर नै देखेका छन्,’ उनी भन्छन्, ‘पार्टीभन्दा व्यक्तिको क्षमता विचारलाई नियालेका जनताले मेरै प्रतिक्षा गरिरहेका छन् ।’ महर बझाङबासी गरिब हुनु नपर्ने बताउँछन् । ‘प्राकृतिक स्रोतले भरिएको यो ठाउँ सम्भावनै सम्भावनाले भरिभराउ छ । २००० मेगावाट हाइड्रो उत्पादन गर्ने क्षमता भएको ठाउँ छ । पर्यटन क्षेत्रले समग्र देशलाई नै चिनाउने क्षमता भएको ठाउँ छ । कृषि खेतीको सम्भावना पनि उस्तै छ । चैनपुर ताक्लाकोट बाटो मानसरोबरसम्म जोड्यो भने वेदेशिक व्यापार गर्न सजिलो भएको ठाउँ बझाङ नै हो ।’ यति सम्भावना हुँदा हुँदै पनि बझाङी गरिब हुनु दुःखद भएको उनले बताए । त्यसका लागि काम गर्ने नेतृत्व आवश्यक रहेको उनले बताए ।

उनले आफूले चुनाव जितेपछि बझाङी जनताको भाग्य फेरिने बताए । उनले भने, ‘अहिले पनि धमेनामा २१० मेगावाटको विद्युुत प्राधिकरणले मेघा प्रोजेक्ट बनाउदैछ, ८७ मेगावाटको चैनपुरमा बन्ने तयारी छ । यस्तै योजना भित्र्याउन सके जिल्लाको विकास हुन धेरै समय लाग्दैन ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार