बिहिबार, अशोज ३, २०८१
Breaking News

जोशी-महर आमनेसामने !

बझाङ । प्रतिनिधिसभा निर्वाचनका लागि बझाङमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐनबहादुर महर र नेकपा एकीकृत समाजवादी पार्टी स्थायी कमिटी सदस्य भानुभक्त जोशी प्रतिस्पर्धामा उत्रिएका छन् । जोशीलाई नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको (बाम–लोकतान्त्रिक गठबन्धन) ले साथ दिएको छ भने महरलाई पार्टीको मात्रै साथ छ ।

लामो समय एकै पार्टीमा रहेर काम गरेका दुवै उम्मेदवार मंसिर ४ मा हुने निर्वाचनका लागि भने प्रतिष्पर्धी भएका छन् । नेकपा एमाले बझाङका संस्थापकसमेत रहेका जोशी गत वर्ष एमालेबाट फुटेर बनेको नेकपा (एस) पार्टीमा छन् भने महर राजनीति सुरूवातदेखि नै एमालेमै छन् । एमालेमा साढे ४ दशक समय बिताएका र अहिले एकीकृत समाजबादीबाट उम्मेदवार भएका जोशी छविसपाथिभेरा गाउँपालिकाका स्थायीबासी हुन् भने एमालेमा साढे २ दशकदेखि क्रियाशिल महर जयपृथ्वी नगरपालिकाका स्थायीबासी हुन् ।

एमालेमा हुँदा विभिन्न संगठन, पार्टीको जिल्ला नेतृत्व, प्रदेश, केन्द्र हुँदै मन्त्रीको पनि जिम्मेवारी पाइसकेका जोशी फेरि प्रतिनिधिसभा सदस्य बन्नै दौडमा छन् भने अनेरास्ववियूबाटै राजनीति सुरूवात गरेका महर अनेरास्ववियूको केन्द्रीय अध्यक्ष भएर पार्टीको केन्द्रीय सदस्य हुँदै प्रनिनिधिसभा सदस्य बन्ने दौडमा छन् ।

दुवै नेता जिल्लाको परिवर्तन, विकास, सम्भावना तथा चुनौतीको बारेमा जानकार छन् । एमालेमा रहँदा माधव नेपाल खेमामा देखिएका जोशी अहिले नेपालले नै नेतृत्व गरेको एकीकृत समाजवादीतिर छन् ओली खेमाका महर एमालेमै क्रियाशिल रूपमा लागेका छन् ।

स्कुले जीवनबाटै राजनीतिमा होमिएका दुवै जनाको जिल्लामा मात्रै होइन, केन्द्रमा पनि लोकप्रियता उत्तिकै छ । महरसँग युवापंतिको जमात छ भने जोशीलाई अनुभवी भन्दै युवा तथा प्रौढ उमेरका जनताको साथ छ । त्यसैले पनि आगामी मंसिर ४ गते हुने निर्वाचनमा जोशी–महरबीच रोचक प्रतिष्पर्धा हुने देखिन्छ । राजनीतिक दल फरक भए पनि व्यक्तिको लोकप्रियताका कारण निर्वाचनमा पूर्वानुमान भने निकै फरक पर्ने देखिन्छ ।

दुवै उम्मेदवार प्रतिष्पर्धी भए पनि एक अर्कालाई सम्मान पनि उत्तिकै गर्छन् । आफ्नै कार्यकर्ता अहिले प्रतिस्पर्धी हुनु लोकतन्त्रको सफल पक्ष भएको जोशी बताउँछन् । उनी भन्छन्, ‘प्रतिस्पर्धाको राजनीतिमा फरक दल भएपछि निर्वाचनमा भिड्नु स्वभाविक पनि हो । ऐन महरहरू राजनीतिमा आउनु पनि स्वागतयोग्य कुरा हो ।’

यता महर पनि फरक दलमा गइसकेपछि आफ्नै नेतासँग प्रतिस्पर्धा हुनु स्वभाविक ठान्छन् । उनी भन्छन्, ‘कुनै बेलाका आफ्नै नेतासँग प्रतिस्पर्धी हुनुपर्ने रहेछ । फरक पार्टीमा गइसकेपछि स्वभाविक पनि हो ।’

को हुन् भानुभक्त जोशी ?

वि.सं २०३५ सालमा शान्ति मावि चौघानपाटा पढ्दै गर्दा राजनीति चेत पलाएका भानुभक्त जोशीले २०३६ सालमा नेपालगञ्जको शिक्षा क्याम्पसमा अनेरास्ववियूबाट राजनीति प्रारम्भ गरेका हुन् । तत्कालिन राजा महेन्द्रको शासनकालदेखि आजसम्म मुलुकमा भएका हरेक परिवर्तनका साक्षी बनेका जोशी परिवर्तनको आन्दोलनमा दर्जनौँ पटक गिरप्तारीमा परे ।

२०४६/४७ सालको आन्दोलनमा उनी विद्यार्थी संगठनबाट अग्रपंतिमा रहेर काम गरे । आन्दोलनकै बेलामा नेकपा मालेको जिल्ला सचिवको रुपमा काम गरेका जोशी २०४८ सालमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडे । तर, झिनो मतले पराजित भए । २०५१ सालमा भएको मध्यावती निर्वाचनमा बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा जित हात पारे । त्यो बेलामा ३ वर्ष जति सांसदको रूपमा काम गरे ।

२०६४ सालमा फेरि संविधानसभा सदस्यमा निर्वाचित भए । संविधानसभा सदस्यको मूख्य काम संविधान बनाउनु थियो । तर, २ वर्षमा संविधान नबनेपछि २ वर्ष बढाएर ४ वर्षको तोकियो । ०६८ वैशाख २१ गते मन्त्रिमण्डल पुर्नगठन हुँदा झलनाथ खनालको क्याबिनेटका वन तथा भू–संरक्षणमन्त्री जोशी थिए । उनको कार्यकाल ४ महिना मात्रै रह्यो । अहिले जोशी आउँदो मंसिरको ४ गतेका लागि उम्मेदवार भएका छन् ।

नेकपा एमालेमा हुँदा जोशीले जिल्लामा विभिन्न पद सम्हाल्दै जिल्ला नेतृत्व, अञ्चल कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरे भने गत वर्ष मात्रै गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको उनी स्थायी कमिटी सदस्यको जिम्मेवारीमा छन् ।

आफू पदमा रहँदा महत्वपूर्ण काम गरेको जोशी सम्झन्छन् । २०५१ सालमा नेकपा एमालेको सरकार हुँदा जेष्ठ नागरिक भत्ता, सामाजिक सुरक्षाभत्ता, आफ्नो गाउँ आफैं बनाऔंजस्ता दर्जनौँ लोकप्रिय काम गरिएको थियो । त्यससमय राजनीति स्थायित्व नभएकै कारण जुनसुकै सरकार आए पनि ५ वर्ष नटिक्ने अवस्था भएका कारण धेरै काम गर्न नसकेको उनले बताए ।

‘म राजनीतिमा आउँदा बझाङ जिल्ला सडक सञ्जालबाट धेरै टाढा थियो । डडेल्धुराको पोखराबाट बझाङी दाजुभाईले नुन तेल किनेर ल्याउनुपथ्र्यो । त्यो बाध्यतालाई बझाङ जिल्लामा सडक पुर्‍याउने जिम्मेवारीका साथ निरन्तर ट्याक खोल्ने काममा लागेपछि बझाङमा गाडी पुगेको हो ।’ ट्र्याक खोल्दे सडक ग्राभेल गर्ने काम गरेपछि पक्की सडक बनाउँदै आजको मितिसम्म सडक सञ्जाल विस्तार भएको उनी दाबी गर्छन् । उनको लक्ष्य सडकलाई ताक्लाकोटसम्म पुर्‍याउने छ । ‘यो सडकलाई चाँडोभन्दा चाँडो ताक्लाकोटसम्म पुर्‍याउँछौँ ।’ उनले भने ।

वडा वडामा सडक पक्की गर्नुपर्ने, विद्युत सबै गाउँमा पुर्‍याउने, केन्द्रीय प्रशारण लाइन नपुगेका ठाउँमा सबै विद्युत पुर्‍याउने, विभिन्न पालिकामा ग्रामीण विद्युतीकरण गरेर अघि बढ्ने, टेलिफोन सेवालाई स्तरीकृत बनाउनुपर्ने, शिक्षा, स्वास्थ्य, कृषिमा आमुल परिवर्तन गर्ने, चिकित्सक तथा अन्य स्वास्थ्य संस्थामा स्तरयुक्त गर्ने, प्रत्येक पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्नेलगायतका योजनाहरू जोशीले अघि सारेका छन् ।

को हुन् ऐनबहादुर महर ?

२०५५ सालदेखि औपचारिक रूपमा राजनीतिमा होमिएका ऐनबहादुर महर नेकपा एमालेमा सशक्त युवाको रूपमा चिनिन्छन् । सुनी पिपलचौर माद्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि राजधानी छिरेका महर उच्च शिक्षा अध्ययनसँगै राजनीतिमा क्रियाशिल हुँदै आएका हुन् ।

राजनीतिक चेतना भएको परिवारमा जन्मेका उनी बाल्यकालदेखि नै कम्युनिष्ट विचारधाराबाट प्रभावित भएका थिए । २०५० सालमा भएको मदन–जीवराज हत्या घटनापछि सुरू भएको आन्दोलनबाट उनी पूर्ण रूपमा राजनीतिमा होमिए । दासढुंगा घटनापछि मदन भण्डारीको जीवनी, उनले गरेको योगदान, भाषण, कम्युनिष्ट विचारधारा लगातार प्रचारसँगै भएको आन्दोलनपछि महर नेकपा एमालेको सक्रिय कार्यकर्ताको रूपमा स्थापित हुँदै गए ।

मुलुकमा परिवर्तनका लागि, विद्यार्थीको हकाधिकारका लागि, सुशासनका लागि, भ्रष्टाचार विरोधजस्ता सबै खाले संघर्ष गर्दै महरले २०७६ जेठ ३ गते अनेरास्ववियूको सर्वोच्च जिम्मेवारी प्राप्त गरे । राजधानीले सुदूरपश्चिमलाई मात्रै होइन, कर्णालीलाई समेत बेवास्ता गर्ने ठाउँबाट कुनै संगठनको सर्वोच्च जिम्मेवारीमा पुग्नु सानो कुरा होइन । त्यसमा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सबैभन्दा ठूलो विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष भए । विद्यार्थी संगठनपछि उनी अहिले नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा छन् ।

संगठनमा विद्यार्थी तथा पार्टी नेतृत्वको मन जित्ने र विश्वासिलो पात्र बनेपछि आफूलाई नेतृत्व प्रदान गरेको उनी बताउँछन् । ‘अहिले प्रतिनिधि सभा सदस्यका लागि पार्टीले टिकट दिइसकेपछि उत्साहित हुनुका साथै जिम्मेवार र गम्भीर बनाएको छ,’ उनले भने, ‘बझाङमा विकासको क्रम थोरै छ, अब धेरै गर्नुछ । विकासको गतिमा डोर्‍याउनु छ, गरिबीबाट माथि उठाउनुछ, मानिसको जनचेतना विकास गर्नुपर्ने छ । यसमा म दृढ छु । मैले बुझेको छु र मैले आफ्नै घरको विकास गर्नुपर्ने सम्झेको छु ।’

महर आफूलाई जनताले चिताएको बताउँछन् । उनी भन्छन्, ‘म जनताले खोजेको व्यक्ति हुँ । यहाँको समस्या प्रतिनिधि सभामा बुलन्द प्रस्तुत गरेर समाधान गराउँछु । बझाङका हरेक समस्या महशुस गरेको छु, बुझेको छु । पदमा रहँदा वा नरहँदा पनि सक्दो सहयोगका लागि सबै निकायसँग समन्वय गरेको छु । त्यसैले बझाङबासी आम जनता मेरो जितको प्रतिक्षामा छन् ।’

उनी बझाङबासीले पाटीभन्दा पनि बझाङलाई केन्द्रसम्म जोड्ने मान्छे खोजिरहेको बताउँछन् । ‘त्यस्तो व्यक्ति जनताले ऐन महर नै देखेका छन्,’ उनी भन्छन्, ‘पार्टीभन्दा व्यक्तिको क्षमता विचारलाई नियालेका जनताले मेरै प्रतिक्षा गरिरहेका छन् ।’ महर बझाङबासी गरिब हुनु नपर्ने बताउँछन् । ‘प्राकृतिक स्रोतले भरिएको यो ठाउँ सम्भावनै सम्भावनाले भरिभराउ छ । २००० मेगावाट हाइड्रो उत्पादन गर्ने क्षमता भएको ठाउँ छ । पर्यटन क्षेत्रले समग्र देशलाई नै चिनाउने क्षमता भएको ठाउँ छ । कृषि खेतीको सम्भावना पनि उस्तै छ । चैनपुर ताक्लाकोट बाटो मानसरोबरसम्म जोड्यो भने वेदेशिक व्यापार गर्न सजिलो भएको ठाउँ बझाङ नै हो ।’ यति सम्भावना हुँदा हुँदै पनि बझाङी गरिब हुनु दुःखद भएको उनले बताए । त्यसका लागि काम गर्ने नेतृत्व आवश्यक रहेको उनले बताए ।

उनले आफूले चुनाव जितेपछि बझाङी जनताको भाग्य फेरिने बताए । उनले भने, ‘अहिले पनि धमेनामा २१० मेगावाटको विद्युुत प्राधिकरणले मेघा प्रोजेक्ट बनाउदैछ, ८७ मेगावाटको चैनपुरमा बन्ने तयारी छ । यस्तै योजना भित्र्याउन सके जिल्लाको विकास हुन धेरै समय लाग्दैन ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार