बुधबार, असार ५, २०८१
Breaking News

खलोले परिवार पाल्न धौधौ

बझाङ । मष्टा गाउँपालिका–१ जिन्नाडाकी भट्टी आउजीले ५६ वर्षमा पाइला टेकिन् । उनलाई सम्झना भएदेखि उनको ५ दशके जीवन भाग्या (खलो दिने मालिक) कै खेतबारीमा बित्यो । बिहे नहुँदा माइतीका भाग्या र विहेपछि पोइलीका भाग्याले दिएकै अन्नले अहिलेसम्म पुगनपुग जोहो गरिन् ।

जिन्नाडामा भट्टीका ४ परिवार भाग्या छन् । हरेक सिजनमा लगाउनेदेखि भित्र्याउनेसम्म गरेको कामबाफत सिजनल खलो पाउछिन् उनी । खेतीको कामबाहेक अन्य समयमा भाग्याका कपडा सिलाउने उनलाई कतै जाने फुर्सद पनि छैन । ‘भाग्याको काम नगरे खानै पाइदैन,’ उनले भनिन्, ‘फुर्सदै हुँदैन कता जानु ? जति काम गर्न सक्यो त्योअनुसारको खलो पाइने हो ।’

गाउँमा सबैभन्दा ठूलो परिवार पनि भट्टीकै हो । पछिल्लो समय छोराहरू परदेशी हुन थालेपछि घरमा २ नाति नातिनाका साथ आउजी दम्पति मात्रै छन् । ‘मेरा २० जनु कविला (परिवार) हौं,’ भट्टीले भनिन्, ‘घरमा खानलाई नै नपुग्ने भयो । नाति नातिनासहित छोरा बुहारी देश (भारत) गए । अहिले उतैबाट दिएको पैसाले घर खर्च चलाएका छौँ ।’

भट्टीको भाग्याप्रति सोच सकारात्मक नै छ । ‘सधैँका वर्ष भाग्याको बाली फलेअनुसार खलो पाइन्थ्यो । यो पटक भने एक डालो (निगालाबाट बनेको छाप्रो) मात्रै गहुँ पाइयो । धान पनि खासै राम्रो होला जस्तो छैन ।’ उत्पादन भए भाग्याले आफूलाई सधैँ खुसी पार्ने गरेको उनले बताइन् । ‘उनले पनि भए पो दिने, नभए के दिन्थे र ?’ उनले भनिन् ।

भट्टीजस्तै समस्यामा छिन् जिन्नाडाकै मीना आग्री । उनलाई पनि भाग्याले दिएको खलोले नै परिवारको पेट भर्नुपरेको छ । वर्षभरि काम गर्दा पनि २ महिनालाई खान नपुगेको उनको गुनासो छ । ‘मेरा त भाग्या पनि एकै परिवार छन्,’ उनले भनिन्, ‘भाग्याका मौ सबै तराई झरिसके । यता एकै परिवारले दिएको खलोले पुग्दैन ।’

आग्रीका अनुसार जिन्नाडामा दलित समुदायका घरबाहेक जमिनको टुक्रा छैन । ‘जिन्नाडामा अगाडिको पुस्ता आएर यतै बसेछन्,’ उनले भनिन्, ‘अहिले कतै जाने ठाउँ छैन । खाना माना पनि पुग्दैन । अवस्था पहिलेको भन्दा गरिब हुँदै गएको छ ।’

जिञ्जाडाका दलित समुदाय त्यहाँका गैरदलित समुदायमै आश्रित छन् । घरबाहेक उनीहरुसँग न उत्पादन गर्ने जमिन छ, नत हिड्ने बाटो नै । वर्षभरि भाग्याको खेती गरेको १ कट्टा धान र १ सुप्पो (बोरामा एक चौथाई) गहुँबाहेक केही पाउदैनन् उनीहरू । ‘भाग्याको खेतमा गहुँ तथा धान छर्ने, गोडमेल गर्ने, काट्नेसम्म सहयोग गर्नुपर्छ, वर्षभरि लुगाकपडा सिलाउनुपर्छ । त्यो बाफतको खलो (अन्न) पाउँछौं,’ मीनाले भनीन्, ‘वर्षभरि १ बोरा धानले कसरी चल्ने ?’ गत वर्ष त गरिब भनेर स्थानीय राम थापाले १÷१ बोरा चामल दिएको उनले बताइन् ।

आर्थिक अवस्थाले नै पढाई छोड्दै

जिञ्जाडाको दलित समुदायबाट सबैभन्दा बढी पढेका भट्टीका छोरा सुरेश आउजी नै हुन् । उनी १२ कक्षा पढेर नेपालमा रोजगारी नपाएको भन्दै भारत गए । ११ परिवार रहेको दलित समुदायमा केही युवाहरूले माद्यमिक तहको उत्तीर्ण गरेर पनि परिवार पाल्न भारत हानिए । ‘सबैभन्दा बढी पढेको मेरै छोरा हो,’ भट्टीले भनिन्, ‘१२ कक्षापछि बढी पढ्न क्याम्पस टाढा भए । पढाई खर्च पुगेन । जागिर कतै पाएन, अनि दिल्ली गयो ।’ अहिले सुरेशको कमाईका केही अंश नै आफूले चामल किन्ने गरेको उनले सुनाइन् ।

सुरेशपछि पढ्दै गरेका गाउँघरका ८/१० जना किशोरहरूले नै पढाई छाडेर भारत गए । सानो उमेरमै विवाह गर्ने र जिविकोपार्जनका भारतको मजदूरी मै उनीहरूको दिनचर्या हुन थाल्यो । मीनाका देवर, भतिजाहरू पनि ६/७ कक्षामै पढाई छाडेर मजदुरीका लागि भारत पसेको उनले बताइन् ।

शिक्षाको यति ठूलो समस्या हुँदा पनि सरकारी तथा गैर सरकारी निकायहरूले चासो नै दिएका छैनन् । ‘गाउँमा आउनेहरू सबैलाई शिक्षा, स्वास्थ्य खानेपानीको समस्या सुनाउँछौं । तर, सम्बोधन कतैबाट पनि हुँदैन । पालिकामा गएर आग्रह गर्दा पनि वेवास्ता भयो ।’ मीनाले भनिन् ।

कुवाको पानीकै भर

जिञ्जाडामा दलितभन्दा गैरदलित समुदायको संख्या बढी छ । थापा, रोकाया, अयडी, खाती र विष्ट समुदाय बस्छन् । तर, गाउँमा गैरदलित समुदायमा खानेपानीका लागि एउटा धारा छ भने दलित समुदाय कुवाकै भरमा छ ।

गैरदलितले डाँडाबाघको पानी ल्याएका छन् । त्यो दलित समुदायलाई भने छुन पनि बन्देज गरेको छ । देउता लाग्ने भन्दै डाडाँबाघबाट बग्ने पानी छुनसमेत नदिने गरेको पिंकी आउजीले बताइन् । ‘हामे डाँडाबाघको पानीसमेत छुन पाउँदाइन,’ उनले भनिन् , ‘हामुले पानी खाने कुवा बाजेकै पालाको हो ।’ डाडाँबाघतिर जानै नपाउने गरेको उनले बताइन् । ‘मन्दिरको पानी भन्दै त्यो ठाउँमा जानै पाइदैन । फोहोर बगाएको पानी कसरी खानु । कुवाले जोगाएको छ ।’ उनले भनिन् ।

वडाध्यक्ष रामचन्द्र रोकाया भने जिन्नाडामा अघिल्लो कार्यकालमा केही नआएको र अहिले सबै पूर्वाधारका लागि बजेट छुट्याएको बताउँछन् । ‘उनीहरूका लागि उनीहरूका समस्या सबै बुझेको छु । सक्दो समाधान गर्नेछु,’ उनले भने । उनले नगरपालिकाको कार्यक्रममा आउजीहरूको प्रतिनिधित्व आफूले गरेको बताए । जिन्नाडाका महिलाहरूकै अगाडि उनले भने, ‘तपाईंहरुको प्रतिनिधित्व गरेर म यहाँ आएको छु । तपाईहरूकै समस्या राख्नेछु । तपाईहरू धैर्य हुनुहोस् ।’

जिञ्जाडाका दलित समुदायको मुख्य समस्या पानी नै रहेछ । त्योसँगै बाटोघाटो, शौचालय, बिजुलीको समस्या छँदैछ । तर, स्वच्छ पानी त त्यो समुदायमा कुनै पुस्ताले पनि खान पाएका छैनन् । ‘जमिन हेर्ने हो भने घर भएको ठाउँभन्दा बढी छैन,’ मीनाले भनिन्, ‘हिड्नलाई अरूको खेतको डाली हुँदै जानुपर्छ । पानी पिउनलाई किरा फट्याङ्ग्राले पौडी खेलिरहने कुवाको खानुपर्छ । गैरदलित समुदायको धारामा छुन समेत पाइदैन ।’ राज्यले आफूलाई नहेरेको उनीहरूको गुनासो छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार