बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • प्रचण्ड गोरखा-२ बाट उम्मेदवार
Breaking News

प्रचण्ड गोरखा-२ बाट उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो । पहिलो संविधानसभामा रोल्पा र काठमाडौं १० बाट चुनाव जितेका प्रचण्ड २०७० को दोस्रो संविधानसभामा सिराहा–५ र काठमाडौं–१० मा उठे । काठमाडौं १० मा हारेका उनी सिराहामा मुस्किलले जिते । प्रचण्ड २०७४ मा चितवन-३ बाट निर्वाचित भएका थिए ।

यो पटक पनि उनी यही क्षेत्रबाट उठ्न चाहन्थे । उनले पटकपटक त्यही बोलेका थिए । तर, सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ भने प्रचण्डविरुद्ध एमाले, राप्रपा र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत लागेको माओवादी नेताहरु बताउँछन् ।

यो क्षेत्रबाट अघिल्लो पटक डा. बाबुराम भट्छटराई निर्वाचित भएका थिए । हाल भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादीकै चुनाव चिह्नबाट निर्वाचन लड्ने सहमति गरेको छ भने भट्टराई आफैं यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेका छन् ।

यो क्षेत्रबाट टिकटका आकांक्षी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि थिए । हाल राष्ट्रियसभा सदस्य रहेका श्रेष्ठ पनि प्रचण्ड आउने भएपछि चुनाव नलड्न सहमत भए । सत्ता गठबन्धनमा रहेको कांग्रेसका सुरेन्द्र पाण्डेले पनि टिकटको दाबी गर्दै आएका छन् । तर, प्रचण्ड चितवन-३ छाडेर गोरखा-२ जाने भएपछि कांग्रेस नेतृत्वले सहमति जनाएका हुन् ।

३० वैशाखको स्थानीय निर्वाचनअनुसार गोरखा-२ मा माओवादी केन्द्र पहिलो दल हो । वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा यो क्षेत्रमा माओवादीले २२ हजार २५० मत छ । कांग्रेस हाराहारीमा छ । उसका वडाध्यक्ष उम्मेदवारहरुले २१ हजार १३६ मत छ भने जसपाको ७ हजार ५०४ मत छ । नेकपा एमालेको ७ हजार ९२६ मत छ । अरु दलको मत हजार कटेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार