आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने
अर्थ

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यो एसियाली विकास बैंकले केही साता अगाडि गरेको प्रक्षेपणको तुलनामा केही बढी हो । एडीबीले भने ४.७ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरेको छ । बजेटमार्फत यस आवमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

विश्व बैंकले कोरोनापछि पर्यटन क्षेत्रमा देखिएको सुधार र विद्युत् उत्पादनमा भइरहेको वृद्धिले समग्र उत्पादन क्षेत्रमा पर्ने सकारात्मक प्रभावका कारण अर्थतन्त्र विस्तारमा योगदान पुग्ने विश्लेषण गरेको छ । यसले नेपालमा सार्वजनिक ऋणको स्तर स्थीर रहने अपेक्षा गरिएको विश्व बैंकको भनाइ छ ।

विदेशी मुद्राको सञ्चितीमा परेको दवाब समेत क्रमशः कम हुँदै जाने अनुमान छ । आगामी आर्थिक वर्षका लागि भने अर्थतन्त्र विस्तारको अनुमान ४.९ प्रतिशत मात्र गरिएको विश्व बैंकले जनाएको छ ।

यस वर्ष दक्षिण एसियाली क्षेत्रको विस्तार औसतःमा ५.८ प्रतिशत रहने छ । यस भेगमा भारतले सेवा क्षेत्र र निर्यात व्यापारका कारण सकारात्मक वृद्धि गरिरहेको पाइएको छ । रुस(युक्रेन युद्ध र यसले मूल्यमा परेको चापको प्रभाव भने कुनै न कुनै रुपमा सबैजसो मुलुकले भोग्नु परेको विश्व बैंकले जनाएको छ ।

दक्षिण एसियामा सबैभन्दा संकटमा भने श्रीलंकाको अर्थतन्त्र रहेको छ । यो वर्ष सो मुलुकको अर्थतन्त्र ९.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यो सन् २०२३ मा ४.२ प्रतिशतले गिरावट आउने छ । नेपाल डेभलपमेन्ट अपडेटमा विश्व बैंकले जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभावबारे समेत विश्लेषण गरेको छ । नेपाल विश्वव्यापी रुपमा हरितगृह ग्यासहरुको नगन्य योगदानकर्ता भए पनि जलवायु परिवर्तनको जोखिम भएका मुलुकमा भने अग्रस्थानमा पर्छ ।

विश्व बैंकको विश्लेषण अनुसार आगामी दिनमा यसका प्रभावहरु अझ तीव्र गतिमा देखिने छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार