बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • किन पुगेन अहिलेसम्म साइपालमा बैंक ?
Breaking News

किन पुगेन अहिलेसम्म साइपालमा बैंक ?

बझाङ । मुलुक संघीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुर्‍याउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई निर्देशन पनि दियो । कम्तिमा एउटा वाणिज्य बैंकको शाखा सबै स्थानीय तहमा पुर्‍याउने सरकारी लक्ष्य ०७४ असारमसान्तसम्म मात्रै थियो । तर, तोकिएको मितिसम्म २९७ स्थानीय तहमात्रै बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगे ।

२०७४ सालमा जारी राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘संघीय संरचनाअनुसार तय भएका ७५३ स्थानीय तहमध्ये ०७४ असार मसान्तसम्म वाणिज्य बैंकको शाखा नरहेका स्थानीय तहमा वाणिज्य बैंकले अनिवार्य रूपले शाखा खोल्नुपर्नेछ । विकास बैंकहरूले वाणिज्य बैंक र विकास बैंक दुवै नरहेका स्थानीय तहमा शाखा खोल्न सक्नेछन् ।

राष्ट्र बैंकले निर्देशन दिएको ५ वर्ष भइसकेको छ । तर, बझाङको साइपाल गाउँपालिकामा भने अहिलेसम्म बैंक पुगेको छैन । लामो समय बैंकबिहीन भएका धादिङको रूवीभ्याली, जाजरकोटको जुनिचाँदे गाउँपालिकाले गएको असारमा बैंक पाएका छन् भने साइपाल मात्रै बैंकबिहिन पालिका भएको छ ।

आर्थिक वर्ष ०७६/७७ सम्म बैंक नभएका स्थानीय तहको सूचीमा ६ पालिका थिए । ताप्लेजुङको मिक्काखोला, धादिङको नेत्रावती र बझाङको थलारा गाउँपालिकामा बैंकका शाखाहरू सञ्चालन भएपछि ३ पालिका मात्रै बैंकबिहीन थिए । त्यसमा पनि २ पालिकामा असारमै बैंक पुगेपछि साइपाल मात्रै एक्लिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म ७५२ स्थानीय तहहरू वाणिज्य बैंकको पहुँचमा पुगेका छन् । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने, ‘सबै स्थानीय तहमा कुनै न कुनै वाणिज्य बैंकहरू पुगेका छन् । साइपालमा भने बैंक राख्न सुरक्षित नभएको हुँदा केही ढिलाई भएको हो ।’

प्रवक्ता भट्टका अनुसार साइपालमा बैंक पुग्न अझै समय लाग्ने देखिन्छ । ‘पक्की भवनहरू तथा सडक सञ्जालको पहुँच नहुँदा बैंक राख्न कठिन भएको जानकारी राष्ट्र बैंकले पाएको छ,’ उनले भने ।
राष्ट्र बैंकको तथ्यांकअनुसार अहिलेसम्म २६ वटा वाणिज्य बैंकका शाखा सञ्जाल करिब ५ हजार छन् । त्यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमै छन् । १८ विकास बैंकहरूका पनि मुलुकभर १ हजारभन्दा बढी शाखा सञ्चालनमा रहेका छन् भने १७ वटा वित्त कम्पनीहरूको पनि २७० भन्दा बढी शाखा सञ्जालहरू छन् । समग्रमा मुलुकभर बैंक तथा वित्तीय संस्थाहरूको शाखा सञ्जाल ११ हजारको हाराहारीमा छ । तर, दुर्गमको साइपाल भने वर्षौं बित्दा पनि बैंकबिहीनकै अवस्थामा छ ।

बैंकिङ पहुँचमा नहुँदा धेरै सास्ती खेप्नुपरेको साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए । ‘साइपालमा बैंक तथा वित्तीय संस्था नहुँदा सबै कारोबार जिल्ला सदरमुकाम चैनपुरबाटै गर्नुपर्छ,’ उनले भने, ‘गाउँमा सडक सञ्जाल जोडिएको छैन । सडक नहुँदा बैंकले पनि आउन मानेको छैन ।’ बोहराका अनुसार अहिलेको यो वर्षायाममा जिल्ला सदरमुकाम पुग्नै ४ दिन समय लाग्छ । ‘खोला तर्नै पनि कठिन हुन्छ,’ अध्यक्ष बोहराले भने, ‘बैंक भएको भए यति सास्ती भोग्नुपर्ने थिएन ।’

साइपालमा शाखा सञ्चालन गर्नका लागि नेपाल राष्ट्र बैंकले एभरेष्टलाई निर्देशन दिएको छ । अध्यक्ष बोहराले भने, ‘हामीले पटक–पटक आग्रह गर्दा पनि विभिन्न कारण देखाउँदै बैंक टाढिन खोजिरहेको छ ।’ उनका अनुसार अन्य बैंकले शाखा सञ्चालनका लागि चासो देखाउँदा पनि एभरेष्टले भने घुमाइफेराई साइपालमा जान नसक्ने कारण तेर्स्यारहन्छ । ‘धेरै बैंकसँग कुरा भयो,’ उनले भने, ‘एनआइसी एसिया र ग्लोबल बैंकले शाखा सञ्चालनका लागि सकारात्मक प्रतिक्रिया दिँदा एभरेष्टले भने नसकिने नै अडान लियो ।’ उनले ठूलो रकम बोकेर साइपाल पुग्न आफूलाई पनि असुरक्षित महशुस हुने गरेको बताए । साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा लामा तामाङले भनिन्, ‘मोटो रकम बोकेर हिँडिरहन पनि सुरक्षाको दृष्टिले मुस्किल छ । बैंकलाई सुरक्षाको चिन्ता नमानी शाखा सञ्चालन गर्न धेरै पटक आग्रह गर्दा पनि चासो दिँदैन ।’

पालिकामा बैंक सञ्चालनका लागि दुई महिनाअघि राष्ट्र बैंकलाई निवेदन दिएको उनले बताइन् । ‘पालिकामा बैंक नभएको पीडा राष्ट्र बैंकलाई सुनाएका छौं,’ उनले भनिन्, ‘राज्यले हामीलाई १७ वटा चिठी पठाइसकेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलगायतका लागि अनिवार्य खाता खोल्नु भनेको छ । तर हामीले जिल्ला सदरमुकामबाट पैसा झिकेर घर घरै दिन जानुपर्छ ।’

यता एभरेष्ट बैंकले भने असुविधा भएको ठाउँमा बैंक लिन नसक्ने बताएको छ । एभरेष्ट बैंकका बझाङ शाखा प्रबन्धक कविरलाल मास्केले भने, ‘साइपालमा बैंक लिन सक्ने अवस्था नै छैन । नेटवर्क, सञ्चार, सुरक्षा तथा बाटो नभएको ठाउँमा बैंक कसरी लिने ?’ उनले उल्टै प्रश्न गरे । उनले साइपालमा सबै कुराले अप्रर्याप्त भएको हुँदा बैंक जस्तो कुरा लिनै नमिल्ने दाबी गरे ।

साइपालमा बैंकको शाखा सञ्चालन गर्ने पक्रिया कहाँ पुग्यो भन्ने तेस्रो ध्रुवको प्रश्नमा उनले रिसाउँदै भने, ‘साइपालको अवस्था बुझ्नुहोस्, त्यसपछि मात्रै यो विषयमा कुरा गर्नुहोस् ।’ उनले चैनपुरमा बसेर साइपालमा बैंक सञ्चालन गर्ने भन्ने कुरा सजिलो नभएको प्रतिक्रिया दिए । ‘हामीले साइपालका जनप्रतिनिधिसँग पनि छलफल गरेका छौं । सुविधा नभएको ठाउँमा बैंक जान नसक्ने बताएका छौं ।’ उनले भने । यस विषयमा राष्ट्र बैंकका प्रवक्ता भने अरू बैंकले साइपाल जान सक्ने चाँसो राख्दा एभरेष्टले जान नमान्ने कारण बुझ्ने बताए ।

साइपालका जनप्रतिनिधि भने मास्केको कुरा स्वीकार्ने पक्षमा छैनन् । ‘एभरेष्टले शाखा सञ्चालनका लागि विभिन्न बाहाना गरिरहेको छ,’ अध्यक्ष बोहराले भने, ‘कहिल्यै सुरक्षा छैन भनेर छेल्लिएको छ, कहिल्यै बैंक राख्नका लागि ९÷१० क्विन्टलका मेसिनहरू हेलिकोप्टरबाट ढुवानी गर्नुपर्छ भनिरहेको छ । कहिले नेटवर्क नै हुँदैन भनेर बाहाना गरिरहेको छ ।’

अध्यक्ष धामी भने सुरक्षा र नेटवर्कको कुनै चिन्ता नगर्नुस् भन्दा पनि बैंकले चासो नदिएको बताउँछन् । ‘म अहिले साइपालको काँडा मै छु,’ अध्यक्ष धामीले टेलिफोनमा भने, ‘मोबाइलमा फोरजी टिपेको छ । सुरक्षाका लागि पनि प्रहरी चौकी छ । थप चाहिए सुरक्षाकर्मी पनि थप्न सक्छौं । तर, अरू बैंकले चासो देखाउँदा पनि राष्ट्र बैंकले खटाएको एभरेष्टले किन चाँसो दिइरहेको छैन । अचम्ममा छौं ।’

एभरेष्टका प्रतिनिधि साइपाल पुगेकै छैनन्

गाउँपालिका अध्यक्ष बोहराले एभरेष्ट बैंकका कर्मचारी अहिलेसम्म साइपाल अवलोकनका लागि समेत नपुगेको गुनासो गरे । ‘साइपालमा असुरक्षा छ, नेटवर्क हुँदैन भनिरहनुभएको मात्रै छ । तर, यहाँ अहिलेसम्म कुनै कर्मचारी पनि पुग्नुभएको छैन ।’ उहाँका अनुसार बैंकका कर्मचारीको टोली एक पटक धलौनसम्म पुगेको थियो । तर, पालिका कार्यालय काँडा पुगेको छैन । ‘यो पटक त बैंकका कर्मचारीले काँडासम्मै जान्छौं भन्नुभएको छ । खै के गर्नुहुन्छ ।’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार