बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • जडारीगाड पीडितका दुःख : पानी परे रातभर जाग्राम !
Breaking News

जडारीगाड पीडितका दुःख : पानी परे रातभर जाग्राम !

बझाङ । खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नैै हुन्न तर्सिहाल्छन् । खोला नजिकको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहन्छन् । राति मात्रै होइन, दिउँसो पनि बाक्लो झरी पर्ने वित्तिकै डाँडामा चढ्नु, जडारीगाडमा बहाब बढेको दिन रातभर जाग्राम बस्नु उनको नियति नै हो ।

गएको मंगलबारको राति पनि महादेवलाई त्यस्तै भयो । दिनभर बाक्लो झरी परेपछि जडारीगाडले दिउँसै बाटो मोडेको थियो । तल्लाबगणको अर्को छेउमा बग्ने जडारीगाडले बस्तीतिर धार फर्काएको थियो । साँझ झिसमिसेमा भने पानीसमेत रोकिएर सुक्खा भइसकेको थियो ।

‘एक्कासी राति जडारीगाडमा ढुंगाको गड्याङगुडुङ आवाज आएपछि निन्द्रा खुल्यो,’ महादेव भन्छन्, ‘राति बाहिर आउँदा त बगर पुरै जलमग्न भएको रहेछ । त्यसपछि महादेवले गाउँलेहरूलाई बिउझाए ।
रातिको खाना खाएर सुतेका तल्लाबगणबासीले मध्यराति दुई बजेदेखि नै जाग्राम बस्नुप¥यो । ‘गाउँमै भए पनि सडकको छेउमा पसल भएकोले हामी त पसलमै थियौं,’ महादेवले भने, ‘गाडले ठूलै संकेत गरेपछि श्रीमान् श्रीमती नै टर्च बालेर गाउँमा सबैलाई बिउझाउन गयौं । गाउँमा सबैले जानकारी पाएर एउटा घरको छेउमा बसेका रहेछन् । पछि सबैजना त्यतै जम्मा भएर रात बितायौं ।’

खप्तडछान्ना–१ खातीगाउँका हर्कबहादुर खातीले पनि मंगलबार रातभर नै गाउँमा डिउटी गरेका रहेछन् । तेस्रो ध्रुवसँगको कुराकानीमा उनले भने, ‘दिनभर परेको पानीले जडारीगाडको बहाब बढेको भन्दै गाउँलेहरूलाई दिउँसै सचेत गराएको थिएँ । साँझ मौसम केही सुधार भयो । मध्यराति त जडारीगाडले बगाएर ल्याएका ढुंगाको आवाज घरको छेउमा आएजस्तै भयो । डेढ बजे राति बाहिर हेर्दा त बगरभरि पानी फैलिएको देखियो । त्यसपछि सबै गाउँलेलाई बोलाएर डाँडाको घरमा जाग्राम बस्यौं ।’

खातीका अनुसार खातीगाउँको अवस्था पनि तल्लाबगणको जस्तै छ । राति पानी पर्दा नसुत्ने, आकाश हेरेर सुत्ने समय यकिन गर्ने, जोखिममा रहेका घरबाट उकालो चढेर डाँडामा आफन्तको घरमा जाने । यो समस्या खातीगाउँबासीको मनसुन सुरू भए यता दैनिकी जस्तै हो । ‘पानी पर्दा जडारीगाड आसपासका बस्तीले डाँडातिर, चौतारातिर जाग्राम बस्दै भगवानलाई पुर्कानुबाहेक केही हुँदैन,’ खातीले भने, ‘जडारीगाड नजिकका बस्तीका लागि भगवान भरोसा मात्रै हुन्छ । अन्य गाउँको त अरू व्यवस्था पनि होला तर, हाम्रो खातीगाउँमा भने गत वर्ष नै बाढीले सर्वस्व लुटेको थियो ।’

गत वर्ष असोज ३० देखि कार्तिक ३ गतेसम्म अविरल बेमौसमी वर्षापछि जडारीगाडमा आएको बाढीले खप्तडछान्नामा शताब्दीकै ठूलो क्षति गरेको थियो । सयौं रोपनी उत्पादन हुने जमिन, करोडौं मूल्य बराबरको भौतिक संरचना, नहर कुलो, सडक, खानेपानी, विद्युतलगायत भौतिक सम्पति सबै पूर्णरूपमा ध्वस्त भएको थियो । ‘गत वर्षको बाढी आउँदा हामी घरमै थियौं,’ उनी भन्छन्, ‘दिउँसोतिर खातीगाउँ जिउलोको छेउमा पानी घट्टको आगन मात्रै बगाएको थियो । राति त हेर्दा हेर्दै जिउलोसहित त्यसमा बनाइएका संरचनाहरू सबै एकै झट्कामा निल्यो । दुई परिवारका बच्चाहरू त नाङ्गै घरबाट तानेर ज्यान जोगाएका थियौं । मानवीय क्षति नभए पनि भौतिक सम्पति सबै ध्वस्त भएको थियो ।’

खातीगाउँमा सर्वस्व गुमेका २ परिवार अहिले आफन्तको घरमा आश्रय लिइरहेका छन् । उब्जनी गर्ने जमिन कसैको पनि छैन । घर भने दुई परिवारबाहेक सबैका छन् । ‘हाम्रो जमिन भनेको जिउलो नै हो, त्यो सबै गाडले बगाएपछि अहिले घरबाहेक केही छैन,’ हर्कबहादुरले भने, ‘मेरो त भिरालो ठाउँमा सानो जमिन पनि थियो । गत वर्ष बाढीमा स्कुल बगाएको हुँदा त्यो जमिन स्कुललाई दिएँ । अहिले जमिनको नाममा शून्य छ । घर भने त्यसैमा बसिरहेका छौं ।’

गत वर्ष सर्वस्व गुमेका प्रेम खातीको परिवारमा ६ जना छन् । रोजगार कसैको पनि छैन । बाढीको चपेटामा परेका उनलाई आफन्तले शरीर ढाक्नलाई कपडा, पकाइ खान भाँडाकुँडा, खानेकुरालगायत सबै आफन्तले नै सहयोग गरेका थिए । प्रेम खाती अहिले पनि तत्कालको सहयोगको पर्खाईमा छन् । ‘घरमा ६ जना छौं । कमाउने कोही छैन । छोरा प्यारालाइसिस भएर हिड्न सक्दैन । सबैलाई पाल्ने जिम्मेवारी म बूढोकै काँधमा छ । नातिनातिना साना छन् । अहिले कसैले दिए खाने, नदिए भोकै बस्ने अवस्था छ ।’ उनी भन्छन् ।

अहिले खोलामा गड्याङगुडुङ सुरू हुने वित्तिकै गाड आइहाल्यो कि भनेर खातीगाउँ, तल्लाबगण, गोटखोला, डाँडाखेत लगायतका मान्छे त्रसित भइहाल्छन् । ‘तल्लाबगणमा १० परिवार छन्,’ महादेव गिरीले भने, ‘राति पानी परेको दिन गाउँमा अगाडि नै सल्लाह गरेर एउटै ठाउँमा बस्छौं । आकाश खुलेको छ भने मात्रै आरामले सुत्न पाइन्छ ।’

शुक्रबार पनि मध्य रातिदेखि नै नसुतेको उनले बताए । ‘निकै वर्षा आएपछि खोलाको किनारामै बसेका थियौं,’ उनले भने, ‘त्यो दिन पनि रातभर निन्द्रा नै लागेन । गत वर्षकै बाढीको सम्झना आएर गाउँले कसैले पनि सुत्न पाएनन् । ‘गत वर्ष बाढी आउँदा म त निन्द्रामै थिए,’ गिरी भन्छन्, ‘राति सुतेको बेलामा ११ बजेतिर एक्कासी डरलाग्दो सपना देखेर बिउझिए त बाढी आएको रहेछ । त्यसपछि भागाभाग भयो ।’

गिरीको पसल र खोला झण्डै १०० मिटर टाढा थियो । घरभन्दा बढी उनीहरूको बसाई बढी पसलमै हुन्थ्यो । ‘त्यो दिनको बाढीले क्षणभरमै पसल भएको ठाउँ बगर बनायो ।’ उनकी श्रीमतीले भनिन्, ‘बाढी पसल नजिक आइरहेकै बेलामा कागजात तथा गहना त झोलामा हालेकी थिएँ । भागाभाग हुँदा झोलासमेत त्यतै छुट्यो ।’ यसरी जडारीगाडले स्थानीयको सर्वस्व लुटेको १ वर्ष भइसकेको छ । तर, पीडित परिवारले भने अहिलेसम्म कतैबाट पनि राहत पाएका छैनन् । खप्तडछान्ना गाउँपालिका(१ का वडाध्यक्ष देवीभक्त जोशी भन्छन्, ‘अघिल्लो पटक हामीसँग बजेट नहुँदा केही गर्न सकिएन । यो पटक छुट्याएका छौं । अब त्यसै रकमले उहाँहरूलाई सहयोग गर्छौं ।’

खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया पनि यो पटकको बजेटले उहाँहरूलाई केही सहयोग गर्ने र बाढीबाट हुने जोखिम कम गर्न पनि आफूहरू लागि परेको उनले बताए । उनले भने, ‘अहिलेसम्म त्यस्तो अप्रिय घटना भएको छैन । घटना घटिहाले पनि तत्काल राहत उद्धारका लागि विभिन्न निकायलाई हाइअलर्टमा राखेका छौं ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार