शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • पर्यटन प्रवर्द्धन गर्न जीपलाइन
Breaking News

पर्यटन प्रवर्द्धन गर्न जीपलाइन

बझाङ । खप्तडछान्ना गाउँपालिकामा पर्यटक भित्र्याउन एक जना युवा व्यवसायी जीपलाइन रिसोर्ट सञ्चालनको तयारीमा जुटेका छन् । खप्तडछान्ना गाउँपालिका–४ घाटखोलादेखि पसलबगरसम्म जीपलाइन सञ्चालन गर्नका लागि निर्माण भइरहेको सञ्चालक अरूणकुमार रोकायाले बताए । ‘दसैं अगाडि नै सञ्चालन गर्ने गरी तयारीमा जुटेका छौं,’ व्यवसायी रोकायाले भने, ‘सम्भावनै सम्भावना भएको खप्तडछान्नामा खप्तड जाने पर्यटकका लागि पनि मध्येविन्दु भएको हुँदा जीपलाइन सञ्चालन गरेर प्रयोगमा ल्याउने हो भने केही युवाहरूलाई रोजगारी तथा पालिकाको पर्यटनमा पनि प्रवर्द्धन हुने विश्वासका साथ जीपलाइन निर्माण गरिरहेका छौं ।’

उनले विश्वका धेरै मुलुकले पर्यटकको ध्यान खिच्नका लागि सामान्य ठाउँमा पनि लोभ्याउने काम गरिरहेको बताए । ‘विश्वका धेरै मुलुकले मानव निर्मित पहाड नै बनाइसकेका छन् । हामीले भने प्रकृतिले दिएको ‘हिरा’को खोल पनि उघार्न सकेका छैनौं ।’ उनले अब युवाहरूले सम्भावना बोकेको ठाउँमा व्यवसायी बन्न सुझाव दिए । ‘हामीले अब देश विदेशमा सिकेको सीप आफ्नो ठाउँमा प्रयोग गर्नुपर्छ । आफ्नो ठाउँको विकासका लागि त्यसले केही न केही इँटा थप्छ । त्यसैले व्यवसायी बनौं । आफ्ना सरकारलाई कर तिरौं । तिरेको कर सदुपयोग भए नभएकोमा खबरदारी गर्नु पनि युवाहरूको दायित्व भएको उनले बताए ।

उनले सञ्चालनमा आउन लागेको जीपलाइनका लागि पनि आफूले धेरै ठाउँको अध्ययनपछि घाटखोलामा सुरु गर्न लागेको बताए । रोकायाका अनुसार निर्माणाधीन जीपलाइन ५ सय मिटर लामो हुनेछ । दुवैतिर खोलानाला र हरियाली डाँडाकाँडा देखिने जीपलाइनले पर्यटकको ध्यान खिच्ने उनले बताए । ८० लाख रूपैयाँको लागतमा निर्माण भइरहेको जीपलाइनका लागि खप्तडछान्ना गाउँपालिकाले १० लाख रूपैयाँ अनुदान सहयोग गरेको छ । जीपलाइनले पालिकाको मात्रै नभई जिल्लाकै पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने खप्तडछान्ना खप्तडछान्ना गाउँपालिकामा संस्कृति झल्काउने विभिन्न पर्वहरू, मठमन्दिरहरू तथा पर्यटकीय क्षेत्रको प्रसारमा पनि जीपलाइनपछि थप टेवा पुग्ने पालिकाले जनाएको छ ।

अर्थतन्त्र बलियो बनाउनका लागि पर्यटनको विकास अति आवश्यक भएको भन्दै आफ्नै गाउँठाउँमा जीपलाइन सुरू गरेको सञ्चालक रोकायाले बताए । उनका अनुसार छान्नामा जीपलाइन मात्रै नभई प्याराग्लाइडिङ, बन्जीलगायतका साहसिक पर्यटन सञ्चालन गर्न सकिन्छ । उनले देश तथा विदेशको पर्यटन तथा उद्यम बुझेका युवाहरूले आफ्नो क्षेत्रको विकासका लागि केही उद्यम गर्नुपर्ने बताए । उनले अहिले निर्माण भइरहेको जीपलाइनले आन्तरिक पर्यटक मात्रै नभई बाह्य पर्यटकका लागि पनि आकर्षण हुने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार