बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ‘अहिले धान गोडमेल गरिरहेका हुन्थ्यौं’
Breaking News

‘अहिले धान गोडमेल गरिरहेका हुन्थ्यौं’

बझाङ, २१ भदौ । खप्तडछान्ना गाउँपालिका–१ डाँडागाउँकी तुलसीदेवी जोशीलाई आजकाल पौवा स्कुलभन्दा उता जानै मन लाग्दैन । घरको छेउमा सानो करेसाबारीमै उनको दैनिकी बित्छ । खेतबारी केही नभएपछि उनको दैनिकी घरको आगनमै बित्न थालेको हो । पौवाभन्दा पर जान खोज्दा उनी आफैं बेचैन हुन्छिन् । अहिले त उनलाई पौवासमेत नगएको वर्ष दिन हुन लाग्यो ।

पौवाको डाँडाबाट कुचेखोला पुग्न १० मिनेट लाग्छ । पौवा पुग्ने वित्तिकै सम्पूर्ण कुचेखोलाको दृष्य देखिन्छ । कुचेखोलाको त्यो दृष्य तुलसीदेवीको मनमा नमेटिने दाग बनेको छ । गत वर्ष आएको अविरल वर्षाका कारण कुचेखोलामा आएको बाढीले तुलसीदेवीको छानोसहित सर्वस्व लुट्यो ।

राति खाना खाएर श्रीमान् मदन जोशीसहित सुतेका जोशी दम्पतिले मध्यराति नै भाग्नुपरेको थियो । भाग्न खोज्दा बाढीकै चपेटामा परेर सक्त घाइतेसमेत भएका थिए उनीहरू । बिहान झिसमिसेमा त हेर्दा हेर्दै छानोसहित गोठमा बाँधेका चौपायासमेत नदेखिने गरी बाढीले निल्यो ।

जोशी दम्पतिको मात्रै कुचेखोलामा २८ बोरा धान फल्ने खेत थियो । नजिकै एउटा घर, गोठभरि वस्तुभाउसहित कुचेखोलाको जिउलोको छेउमा राम्रै चल्दै थियो उनीहरूको दिनचर्या । तर, उनीहरूको व्यस्त दैनिकी लामो समय भने टिकेन । गत वर्ष कार्तिक २ गते आएको बाढीले क्षणभरमै बगर बनायो । अहिले उनीहरूसँग खेत तथा वस्तुको नाममा शून्य छ ।

भदौको महिना कुचेखोलामा गोडमेल गर्नेहरू देउडा गाउँदै गोडमेल गरिरहेका हुन्थे । ‘अहिले हामी खेतमा गोडमेल गरिरहेका हुन्थ्यौं । खेतभरि खेतालाहरू गाउँदै गोडमेल गरिरहेका हुन्थे । निकै रमाइलो हुन्थ्यो । अहिले रहर लाग्छ तर, खेतीपाती केही छैन ।’ उनले दुखेसो पोखिन् ।

डाँडागाउँकी सत्यदेवी जोशीको समस्या पनि तुलसीदेवीको जस्तै छ । असोजको अन्तिमतिर बाली भित्र्याउने चटारो चलेको बेला आधा धानसहित खेत बाढीले निल्यो । ‘असोज ३० गते पणिमु (पालै पालो एक अर्काको काम गर्नु) गरेर बाली काटेका थियौं,’ सत्यदेवीले भनिन्, ‘धान काटेर सुकाएका ३÷४ बोरा धान घर लग्यौं । बाँकी राति परेको हुँदा ३÷४ बोरा धान भोलि लिने भन्दै खेतको छेउतिर त्रिपालले छोपेकी थिएँ । भोलिपल्ट झरी आयो । पर्सी जाँदा धान मात्रै होइन खेतसमेत बगर बनिसकेको रहेछ ।’

अहिले सत्यदेवीको पनि कुचेखोला जिउलोमा जान बाटो बन्द जस्तै भएको छ । ‘एउटै खेत थियो । त्यसैबाट वर्षभरि गुजारा गर्नुपथ्र्यो । अब त त्यो पनि रहेन । अहिले ऋण जोहो गर्दैै किनेर खाइरहेका छौं ।’ उनले भनिन् । पौवाको डाँडामा गएर गोडमेल गर्ने समय सम्झिदै टोलाउँछिन् र भन्छिन्, ‘अबको १० पुस्तापछि पनि कुचेखोलाको अनुहार फर्किदैन होला । त्यो सुन्दर जिउलो अब सम्झनामा मात्रै सिमित रह्यो । खेतमा व्यवसाय गर्ने सपना पनि अधुरै रह्यो ।’

डाँडागाउँमा तुलसीदेवी र सत्यदेवीको जस्तै समस्या सबै गाउँलेको छ । खप्तडछान्ना गाउँपालिका–१ का वडाध्यक्ष देवीभक्त जोशीको पनि कुचेखोला जिउलोमा दशौं रोपनी बराबरको खेत थियो । गत वर्षको बाढीपछि उनको परिवारलाई आवतजावतमा कुचेखोला बाधक बनेको छ ।

देवीभक्तको परिवारले खेतमा तरकारी खेती गर्ने सोच बनाएका थिए । ‘वर्षभरिमा उब्जनी भएको धान तथा गहुँभन्दा व्यवसायिक रूपमा तरकारी खेती गर्ने सोच थियो तर त्यो सोचमै सिमित रह्यो,’ उनी भन्छन् । करिब ३ सय बोरा धान फल्ने कुचेखोलामा अहिले बगर मात्रै छ । गत वर्ष दर्जनौं चौपाया, दर्जनभन्दा बढी साना गोठहरू, बिघौं खेतीयोग्य जमिन तथा जंगलको भाग क्षणभरमै कुचेखोलाले बगर बनाएको थियो ।
कुचेखोलामा मात्रै होइन, खप्तडछान्ना गाउँपालिकाका विभिन्न स्थानमा गत वर्ष आएको बाढीले करोडौंको क्षति भएको थियो । गडरायदेखि ऐरगाउँसम्म बाढीले वितण्डा मच्चाउँदा करोडौंको भौतिक क्षति भएको थियो भने सयौं परिवार घरबारबिहीन भएका थिए ।

बाढीमा ६ जनाले ज्यान गुमाएका थिए । खप्तडछान्ना गाउँपालिकाका अनुसार गाउँपालिकाभरि मात्रै करिब ९९ करोड रूपैयाँ बराबरको भौतिक सम्पति नोक्सान भएको थियो । घर, खेतीयोग्य जमिन, कुलो नहर, विद्यालय, सडक, बाटोघाटो, पुल, खानेपानी गरी करोडौंको क्षति भएको खप्तडछान्ना गाउँपालिकाका सूचना अधिकारी ऐनबहादुर रोकायाले बताए ।
गत वर्ष बाढीको चपेटामा परेका परिवार तथा नोक्सान भएका भौतिक संरचनाको निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकायाले बताए । ‘अघिल्लो पटक पालिकाले सहयोग गर्ने घोषणा गरेको थियो । तर, पैसा थिएन । यो पटक भने पीडितहरूका लागि, केही आवासका लागि केही रकम छुट्याइएको छ । त्यही कार्यान्वयन गर्छौं । उहाँहरूको समस्या पनि समाधान हुन्छ ।’

अध्यक्ष रोकायाले छान्नामा भएको क्षतिबारे सरकारका विभिन्न निकायको पनि ध्यानाकर्षण गरेको बताए । उनले भने, ‘यो सबै क्षतिलाई पहिल्यैकै अवस्थामा पु¥याउन र स्थान्तरण गर्नका लागि गाउँपालिकाको बजेटले पुग्दैन । त्यसका लागि गृहमन्त्रीसहित सबैको ध्यानाकर्षण गरेका छौं । उहाँहरूले आश्वासन दिनुभएको छ । हामी पनि त्यसको फ्लो गरिरहेका छौं ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार