बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपालमा भूकम्पीय जोखिम : पहिलो गुल्मी, दोस्रोमा बझाङ
Breaking News

नेपालमा भूकम्पीय जोखिम : पहिलो गुल्मी, दोस्रोमा बझाङ

बझाङ । नेपालमा बझाङ जिल्ला भूकम्पको उच्च जोखिममा भएको एक तथ्यांकले देखाएको छ । बिहीबार बझाङको सदरमुकाममा जिल्ला रेडक्रसले आयोजना गरेको कार्यक्रममा नेपालमा सबैभन्दा बढी जोखिम गुल्मी र त्यसपछि बझाङ भएको प्रतिवेदन प्रस्तुत गरिएको हो ।

भूकम्पविद् प्रा.डा. दीपक चम्लागाईले बझाङ जिल्ला सबैभन्दा बढी जोखिम भएको भन्दै सतर्क रहन आग्रह गरे । उनको प्रतिवेदनअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी जोखिममा भएको दोस्रो जिल्ला अछाम र तेस्रो बैतडी रहेको छ । बझाङमा जयपृथ्वी नगरपालिका बढी जोखिममध्येको एक हो ।

उनले जयपृथ्वी नगरपालिका रहेको बझाङमा यदि ८.६ रेक्टर स्केलको भूकम्प बिदाको दिनमा गएमा १ हजार ४६१ जनाको ज्यान जान सक्ने सम्भावना देखिएको बताए । उनको प्रतिवेदनअनुसार नगरपालिकामा मात्रै बिदाको दिनमा भूकम्प आए १२४ जना, राति आए १७२ र कार्यालय समयमा भूकम्प अएमा ६८ जनाले ज्यान गुमाउन सक्ने सम्भावना छ ।

भूकम्पविद् चम्लागाईका अनुसार भूकम्पको आउँदा केन्द्र भएको भागमा तलमाथि हल्लाउने हुँदा बढी क्षति हुन्छ भने टाढा वरपर हल्लिएर पल्टिने गर्छ । ‘अघिल्लो पटक आएको विनासकारी भूकम्प पनि गोरखामा केन्द्र भएको हुँदा बढी तलमाथि हुँदा सम्पूर्ण संरचना ध्वस्त भएको थियो,’ उनले भने, ‘राजधानीमा पुग्दा वरपर हल्लिने हुँदा संरचना यताउता ढलेर क्षति भएको थियो । कुनै ठाउँमा त एक अर्को घरमा पनि ढलेर पनि रोकिएका थिए ।’

सदरमुकाम चैनपुरमा आयोजना गरिएको नेपालको पश्चिमाञ्चल क्षेत्रमा सहरी र भूकम्प तयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण परियोजना कार्यक्रममा सरोकारवालाले भवन निर्माणमा कार्यविधि कार्यान्वयन गर्नुपर्ने बताए । बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले निजी आवास निर्माणमा कार्यविधि कार्यान्वयन गर्नुपर्ने बताए । ‘बझाङ भूकम्पको उच्च जोखिममा भएको सबैलाई थाहा छ तर, निजी अवास भने मापदण्ड विपरित निर्माण भएका छन् । सरकारी भवनहरू सबै प्रक्रिया पूरा गरेर बनाइएका हुन्छन् र केही हुँदैन ।’ उनले भने ।

निजी भवन त मापदण्ड विपरित भएका हुँदा जति बेला पनि जोखिममा छन् । त्यसका लागि नगरपालिकाले नै अभिलेखीकरण खारेज गर्नुपर्ने उनले बताए । युनिसेफ, यूएनडीपी, यूएन वुमनको समन्वयमा नेपाल रेडक्रस सोसाइटीले आयोजना कार्यक्रममा जयपृथ्वी नगरपालिकाका वडाध्यक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार