बिहिबार, भदौ २०, २०८१
  • होमपेज
  • उनीहरू बिहानै उपचार गर्न हिँडेका थिए…
Breaking News

उनीहरू बिहानै उपचार गर्न हिँडेका थिए…

बझाङ । बझाङको बुंगल नगरपालिका–८ (साविकको कपलसेरी गाविस) बाटुलीका रैभान बोहरा श्रीमतीसहित बुधबार उपचारका लागि पिथौडागढतर्फ हिँडे । श्रीमती चम्पा बोहरालाई पेटको बिराम थियो । गाउँमा जडिबुटीको औषधिले ठीक नभएपछि आफन्तको सल्लाहमा उनी पिथौडागढ अस्पतालमा उपचार गर्न गएका हुन् । मौसम र समयले साथ दिएपछि बोहरा दम्पतिलाई दार्चुलाको गोकुलेश्वरसम्म पुग्न सहजै थियो । छोरा मजदुरी गर्न भारत गएको हुँदा बुहारीले पनि सासुससुरालाई उपचारका लागि आफन्तसँगै पठाइन् । तर, अस्पताल नपुग्दै उनीहरूले बाटोमै ज्यान गुमाउनुपर्‍यो ।

६६ वर्षीय उज्वल बोहरा परिवारका जेष्ठ सदस्य हुन् । परिवारमा १६ सदस्यका अभिभावक बोहरा बुंगल नगारपालिका–८ दासपालका स्थायीबासी हुन् । छोरा बुहारी– सहित नातिनातिनाले बोहरालाई गुमाउँदा टोल नै शोकमग्न भएको छ । सामाजिक काममा पनि सक्रिय रहने बोहरा गुमाउँदा निकै पीडाबोध भएको स्थानीय रमेश बोहराले बताए । उज्वलको ठूलो परिवार मजदुरीमै आश्रित थियो । गाउँमा केही पेशा व्यवसाय गर्ने वातावरण नभएपछि अहिले पनि बोहराका ३ छोराहरू भारतमा मजदुरी गरेर कमाउने परिवारको जिविकोपार्जन गर्ने गर्छन् । छोराहरूलाई भारतमा सहरहरूमा श्रम गर्न प्रेरित गर्ने पनि उज्वल नै हुन् । ‘गाउँमा भन्दा पनि साविकको कपलसेरीमै सामाजिक काममा अग्रसर उज्वललाई गुमाउँदा कपलसेरी नै अँध्यारो भएको छ,’ रमेश भन्छन् ।

गाउँमा सिजनल खेती लगाउने र बाँकी समय युवा जमात मजुदुरीका लागि भारत पस्ने कपलसेरीका स्थानीयको नियति नै हो । मजदुरी गरेर भए पनि खुसीका साथ चलिरहेको परिवारमा जेष्ठ सदस्य नै जिवित नरहेपछि आफूहरू टुहुरो भएको उनका छोराले बताए । ‘हाम्रो त पिल्लर नै भाँचियो । जस्तो दुःख गरेर भए पनि एउटा सुखी परिवारको खुसी लुटियो ।’ उनी भक्कानिन्छन् ।

मृतक ५७ वर्षीय हिक्मत जाग्री पनि उपचारका लागि पिथौडागढ हिँडेका हुन् । ४ नातिनी र छोराबुहारी मात्रै भएको उनको परिवारमा पनि अहिले घरको मुख्य पात्र गुमाएको भन्दै रूवाबासी चलेको छ । गाउँमा दम, रूघाखोकी लाग्ने हुँदा फुर्सदमा उपचारका लागि आफन्तसँगै हिडेका जाग्री कहिल्यै नफर्किने गरी अस्ताए । दासपालाकै पुने बोहरा पनि त्यसै जीपमा सवार थिए । सामान्य चेकजाँच तथा उपचारका लागि पिथौडागढ जान लागेका उनी पनि घटनास्थलमै अन्तिम श्वास छोडे । नाति नातिनालाई उपचार गरेर छिट्टै फर्कने आश्वासन दिएका बोहरा अस्पताल नपुग्दै बाटोमै अस्ताएपछि परिवारमा शोकमग्न अवस्थामा छ ।

‘जीवनको उत्तरार्द्धमै प्रवेश गरेका आफन्त गुमाउँदा अहिले कपलसेरी रोएको छ,’ बुंगल गाउँपालिकाका उपप्रमुख धनबहादुर बोहरा भन्छन्, ‘पाँचै जना परिवारका जेष्ठ सदस्य हुन्, भारतमा मजदुरी गरे पनि उहाँहरू गाउँघरमा सबैको हितमा काम गर्नुहुन्थ्यो । त्यस्ता मान्छे गुमाउँदा कपलसेरी नै अँध्यारो भएको छ ।’ उपचारका लागि घरबाट हिँडेका उनीहरू अस्पताल नपुग्दै अस्ताएपछि भारतमा भएका आफन्तहरू पनि घटनास्थल पुगेका छन् ।

घटनामा घाइते धनबहादुर जाग्री ६० वर्षका भए । पेटमा पत्थरिया भएको भन्दै डाक्टरले अप्रेसनको मिति दिएको थियो । तोकिएको मितिमै अप्रेसन गर्नका लागि आफन्तसहित छोराले अस्पताल आउने सल्लाह दिएका उनी दुर्घटनामा घाइते भए । उनका छोरा भारतबाट आएर घाइते जाग्रीको मुचुल्का बनाई उपचारका लागि धनगढीका रिफर गरेको बुंगल नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष लोकेन्द्र जाग्रीले बताए ।

कपलसेरीका ६ जना चढेको से १ ज ५५१ नम्बरको जीप बुधबार मध्याह्न शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटनामा हुँदा कपलसेरीकै ५ जनाले ज्यान गुमाए भने एक जना घाइते भए । बाँकी दार्चुला र बैतडीका ७ जना घाइते छन् । उनीहरूको स्थानीय स्वास्थ्य केन्द्र तथा कैलालीमा उपचारका लागि रिफर गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दुर्घटनामा दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ की ५० वर्षीया गोमतीदेवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका–६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका–७ का ३५ वर्षीय रमेश लुहार, बझाङको बुंगल–८ का धनबहादुर जाग्री र बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रदिप राना घाइते भएका छन् । दुर्घटना भएको जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार