सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • खेमराज गुरुङ ट्रष्ट सम्मान वरिष्ठ संगीतकर्मी दीप श्रेष्ठलाई प्रदान
समाचार

खेमराज गुरुङ ट्रष्ट सम्मान वरिष्ठ संगीतकर्मी दीप श्रेष्ठलाई प्रदान

काठमाण्डाै : खेमराज गुरुङ ट्रष्टले यो वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकर्मी दीप श्रेष्ठलाई र प्रतिभा पुरस्कार गायक भविन ढुंगानालाई प्रदान गरेको छ। अमर स्रष्टा खेमराज गुरुङको स्मृतिमा स्थापना खेमराज गुरुङ ट्रष्टले कृष्ण जन्माष्टमीका दिन संखुवासभाको खाँदबारीमा कार्यक्रम आयोजना गरी स्रष्टा सम्मान वरिष्ठ संगीतकर्मी श्रेष्ठलाई र प्रतिभा पुरस्कार ढुंगानालाई प्रदान गरिएको हो।

२०२५ साल पुस ३ गते रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरेर औपचारिक रूपमा गीत‚ संगीतको क्षेत्रमा उदाएका श्रेष्ठको पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन्। लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को जज समेत भइसकेका श्रेष्ठलाई ट्रष्टले ५० हजार रुपैयाँको राशिसहित सम्मानपत्र प्रदान गरेको हो। यसअघि वरिष्ठ गीतकार रत्नसम्शेर थापा २०७४, वरिष्ठ संगीतकार प्रकाश गुरुङ २०७५, वरिष्ठ जनपक्षीय गायक रामेश २०७६लाई स्रष्टा समान पुरस्कार प्रदान गरिएको थियो।

यसैगरी नेपाल टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी शो ‘नेपाली तारा’को पहिलो सिजनको उत्कृष्ट चारमा पर्न सफल ढुंगाना पछिल्लो समय लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठको संगीत सल्लाहकार थिए। दर्जनौँ गीतका स्वर र संगीत भरेका ढुंगाना त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसका संगीत शिक्षकसमेत हुन्। प्रतिभा पुरस्कारको राशि भने २० हजार रुपैयाँ रहेको छ।

यसअघि प्रतिभा पुरस्कार मेलिना राई २०७४, ओमप्रकाश राई २०७५ र सुसन लामा२०७६लाई प्रदान गरिएको थियो। २०७७ र २०७८ सालको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भने कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो।

खेमराज गुरुङ ट्रष्ट नेपाली गीत, संगीत, कला, साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने, नयाँ प्रतिभालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने तथा अग्रज स्रष्टालाई सम्मान गर्नेलगायतका उद्देश्य राखेर २०७४ सालमा स्थापना गरिएको हो । ‘वारि जमुना, पारि जमुना’लगायत दर्जनौँ लोकप्रिय गीतका सर्जक खेमराज गुरुङको २०७३ साल भदौमा कृष्ण जन्माष्टमीका दिन निधन भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार