बिहिबार, भदौ २०, २०८१
  • होमपेज
  • बझाङमा तीन वर्षमा ८० जनाले गरे आत्महत्या
Breaking News

बझाङमा तीन वर्षमा ८० जनाले गरे आत्महत्या

बझाङ । गएको सोमबारसम्म बुंगल नगरपालिका–९ रारूकी गीता पार्कीको दैनिकी राम्रै चल्दै थियो । गाउँमा दुई छोरा छोरीसहित पार्कीको परिवार ‘सानो परिवार, सुखी परिवार’मा गनिन्थ्यो । श्रीमान् पुष्कर पार्की रोजगारीको सिलसिलामा भारतमा थिए । सोमबार नै पुष्कर घर पुगे । यता घरमा पार्वती पनि छोरा छोरीको पालन पोषणमै थिइन् । पुष्कर घर आएको बेलामा भने केही कुरामा पारिवारिक झगडा भयो । त्यसको भोलिपल्ट छोराछोरीसहित पार्वती एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परिन् । श्रीमान् आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परे । एउटा सानो, सुखी परिवार क्षणभरमै उजाड बन्यो ।

मंगलबार घर नजिकै २३ वर्षीया गीता पार्की, छोरी ५ वर्षीया भूमिका पार्की र छोरा ३ वर्षीय महेश पार्की एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परे । परिवारमा सामान्य कुरामै टकराव हुँदा परिवार नै सखाप हुनु चेतनाको कमी भएको विज्ञहरू बताउँछन् । पार्कीको जस्तै घटना बझाङमा वार्षिक रुपमा दर्जनौं हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङको तथ्यांक हेर्दा हरेक वर्ष २५ जनाभन्दा बढीले आत्महत्या गरेर प्राण त्यागेका छन् । किशोरावस्था उमेरसमूहदेखि बृद्ध उमेरसम्मका व्यक्तिले पनि ज्यान गुमाएको प्रहरीको तथ्यांकले देखाएको छ । त्यसमा पूरूषभन्दा बढी महिलाको संख्या छ ।

आत्महत्याका अधिकांश घटनाका पछाडि आर्थिक कारण जोडिएको प्रहरी वरिष्ठ उपरीक्षक ठाउँमा भोलाबहादुर रावल बताउँछन् । प्रहरीको अनुसन्धानमा अहिलेसम्म आर्थिक, मानसिक, प्रेममा धोका, सौतेनी आमाको व्यवहारका कारण ज्यान गुमाउने गरेको उनले बताए । बुंगलकै घटनामा पनि परपुरूषसँग जोडिएको हुनसक्ने स्थानीय बताउँछन् । बुंगल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहरा भन्छन्, ‘यस घटनाबारे खास कारण अहिलेसम्म कसैलाई थाहा भएको छैन । तर, परपुरूषसँग नाम जोडिएर झै–झगडा हुँदा यस्तो अप्रिय घटना भएको हुनसक्ने धेरैले अड्कलबाजी गरेका छन् ।’

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली परिचालन गरिएको छ । प्रहरी निरीक्षकको नेतृत्वको घटनास्थल अवलोकन, स्थानीय, पीडीत, माइती पक्ष, आरोपितको पृष्ठभूमिलगायत बारेमा सोधखोज गरेको बताइएको छ । ‘अनुसन्धानमा गएको टोली फर्किएको छैन,’ एसएसपी रावलले भने, ‘टोली फर्किएपछि मात्रै कारण थाहा हुन्छ ।’ यता मृतक गीताको माइती पक्षले श्रीमान् पुष्कर पार्कीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि आरोपी पुष्कर प्रहरीको नियन्त्रणमा छन् ।

तीन वर्षमा ८६ जनाले गरे आत्महत्या

बझाङमा तीन वर्षको अवधीमा ८६ जनाले आत्महत्या गरेका छन् । त्यसमा पनि झुण्डिएर ज्यान गुमाउने ७१ जना छन्, ९ जनाले विष सेवन गरी आत्महत्या गरेका छन् भने ६ जनाले नदीमा हाम फालेर ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार ०७६/७७ मा झुण्डिएर २० जनाले ज्यान गुमाएका थिए भने विष सेवन गरेर ४ जना र १ जनाले जवरजस्तीकरणीपश्चात् नदीमा हाम फाली जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै ०७७/७८ मा ३० जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने ३ जनाले विष सेवन र २ जनाले नदीमा हाम फालेर ज्यान गुमाए । गएको आर्थिक वर्ष ०७८/७९ मा पनि २५ जनाले आत्महत्या गरेका थिए । जसमा २१ जना झुण्डिएर, २ जना विष सेवन गरेर र ३ जनाले नदीमा हाम फालेर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो महिनामा मात्रै बुंगल नगरपालिकामा एकै परिवारका तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् । गएको मंगलबार बुंगल नगरपालिका–९ मा भएको घटनाको अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भोलाबहादुर रावल
प्रहरी प्रवक्ता तथा (एसएसपी) सुदूरपश्चिम प्रदेश
बुंगलमा भएको सामुहिक आत्महत्याको कारण भने थाहा भइसकेको छैन । हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ । टोली फर्किएपछि मात्रै थाहा हुन्छ । समग्रमा भने हामीले गरेका अधिकांश अनुसन्धानमा आत्महत्याका कारण आर्थिक नै देखिएको छ । त्यसपछि घरेलु हिंसा । घरेलु हिंसाले पनि सामुहिक आत्महत्या बढेको देखिन्छ । त्योसँगै सामाजिक डिप्रेसन, प्रेमी प्रेमिकाको धोका, सौतेनी आमाको व्यवहारले पनि आत्महत्याका घटना भएको देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार