सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • आज नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने तयारी
समाचार

आज नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको नागरिकता ऐन संशोधन विधेयक आजको प्रतिनिधि सभा बैठकबाट पारित गर्ने तयारी गरिएको छ ।
नागरिक ऐन संशोधन विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले नागरिक विधेयक पारितको सबै प्रक्रिया आजै पूरा हुन सक्ने बताए ।
३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो ।संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । त्यसको भोलिपल्टको प्रतिनिधि सभा बैठकमा विधेयक फिर्ताको सन्देश पेस भएको थियो ।प्रतिनिधि सभाका सचिव योगीले सरकारसँगको परामर्शका आधारमा विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको बताए ।

आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । त्यसपछि सन्देशमा उठाइएका विषयमा आधारित भएर छलफल हुनेछ । छलफलपछि विधेयक पारितको कार्यसूची रहनेछ । राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधन सहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने गरिन्छ । यसरी आएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार