आइतवार, पुस ७, २०८१
  • होमपेज
  • आज नाग पञ्चमी : ढोकामाथि नाग टाँस्दा सर्पको भय नहुने विश्वास
समाचार

आज नाग पञ्चमी : ढोकामाथि नाग टाँस्दा सर्पको भय नहुने विश्वास

काठमाडौं । श्रावण शुक्ल पञ्चमीको दिन आज नाग पञ्चमी पर्व मनाइँदैछ। आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।

नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शङ्खनाग, शेषनाग आदिको चित्र टाँसिन्छ । यसरी विभिन्न नागको चित्र घरमा टाँस्नाले चट्याङ्गले नहान्ने, आगो तथा सर्पको भय नहुने धार्मिक आस्था तथा विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनदेखि वर्षायाम समाप्त भइ हिउँद सुरु भएको समेत मानिन्छ।

ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै शुभ तथा माङ्गलिक कार्य गर्न साइत हेर्नुपर्दैन । कुनै पनि घर तथा भवन निर्माण गर्दा भूमिमा नाग देवताको बास भए विधिवत् रुपमा पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ ।

आजको दिन काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरिका नागदह तथा कुण्डमा विशेष पूजा हुनेगर्छ । यसैबीच, मिथिलामा आज ‘लगपाँच’ पर्व मनाइँदैछ । नाग प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दु मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार