बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • प्रहरीका पीडा : कोठाभित्रै ओभानो रहँन त्रिपालको सहारा
Breaking News

प्रहरीका पीडा : कोठाभित्रै ओभानो रहँन त्रिपालको सहारा

बझाङ । गत हप्ता प्रहरी सहायक निरीक्षक मानबहादुर पालको टोली गस्तीमा सुवेडा पुग्यो । दिनभर परेको पानीले पालसहित अन्य दुई जना प्रहरी जवान निथ्रुक्क भिजे । पानी पर्दै थियो उनीहरू राति ८ बजे मात्रै विमानस्थल प्रहरी चौकीमा पुगे । दिनभरिको थकान र झरीले चिसो पनि उत्तिकै भएको थियो ।

चौकीमा पुग्दा डिउटी सकेर आएकाहरू आ–आफ्नो कोठामा गए । कोठा भने बाहिरको भन्दा बढी भिजेको थियो । कोठाका भित्ताहरु पूरै भिजेर हिलाम्य भएका थिए । बेड र भुँई पनि उस्तै । ‘बिहान गस्ती जाने बेलामा आकाश उज्यालै थियो,’ सहायक निरीक्षक पाल भन्छन्, ‘दिउँसो यस्तो पानी पर्ला भन्ने सोचाई नै भएन । कोठाभित्र त्रिपाल टाग्न पनि बिर्सिएछु । साँझ त यस्तो हालत ।’

असई पालको कोठामा मात्रै होइन, विमानस्थल सुरक्षाको जिम्मेवारीमा खटिएका सबै प्रहरी कर्मचारीको अवस्था त्यही छ । झरी पर्दा त्रिपाल नलगाउने हो भने कोठाभित्र बस्नै सकिन्न । ‘प्रचण्ड गर्मीमा पनि तातो टिनले शरीरै जलाउने जसरी पोल्छ,’ उनी भन्छन्, ‘बाध्यताले बस्नै पर्छ ।’

देवल विमानस्थलमा प्रहरी चौकी बसेको दुई दशकभन्दा बढी भइसक्यो । विमानस्थल बन्नुभन्दा अगाडिदेखि नै निर्माणाधीन विमानस्थलको सुरक्षाका लागि टिनको भवनमा प्रहरी चौकी बसेको थियो । त्यो भवन न अहिलेसम्म फेरियो नत त्यसको छानो नै । धुजाधुजा भइसकेको भवनमा अहिले पनि प्रहरी सहायक निरीक्षकको टोली त्यही ठाउँमा बसेर शान्ति सुरक्षा दिइरहेको छ ।

विमानस्थलको चौकी मात्रै होइन, अन्य ठाउँमा पनि प्रहरीका भवनहरू नहुँदा प्रहरी इकाईहरू विचल्लीमा छन् । अहिले कतै भाडामा त कतै सामुदायिक भवनहरूमा राखिएका छन् । छविसपाथिभेरा गाउँपालिकाको प्ररही चौकी अहिले विद्यालयको भवनमा छ । शान्ति मावि चौघानपाटाको अनुमतिमा चौकी बसेको हो । अब त्यो चौकी अर्को ठाउँमा सर्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान विष्टले बताए ।

प्रहरी प्रमुख विष्टका अनुसार अहिले जिल्लामा २९ वटा प्रहरी युनिट छन् भने ९ वटा अस्थायी प्रहरी पोष्ट रहेका छन् । तर, अहिलेसम्म ३ ठाउँमा मात्रै प्रहरीका आफ्नै भवनहरू छन् । ‘जिल्ला प्रहरी कार्यालय, बुंगल नगरपालिका र तलकोटको मेलबिसौनाबाहेक अन्य ठाउँमा आफ्नै भवनहरू छैनन्,’ विष्टले भने, ‘प्रहरी युनिट तथा अस्थायी प्रहरी पोष्टका लागि जमिन पनि खोजीरहेका छौं ।’

उनका अनुसार प्रहरी चौकी बस्नलाई ५ रोपनी जमिन आवश्यक हुन्छ । ‘प्रहरीको आफ्नै भवनका लागि ५ रोपनी जमिन चाहिन्छ । त्यो पनि नम्बरी, खुला ठाउँमा,’ उनले भने, ‘हामीले सबै ठाउँमा जग्गाको खोजी गरिरहेका छौं । जता भेटिन्छ, त्यो जमिन किन्छौं र प्रहरीको भवन निर्माण गर्छौं ।’ उनले जिल्लामा अहिलेसम्म खोजेजस्तो जग्गा नपाएको बताए । जनताको सुरक्षामा खटिएका प्रहरीलाई बस्न लायकको भवन त चाहियो नी,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार