बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • बिलखबन्दमा बाढीपीडित : खाने गाँस छैन, जाने ठाउँ छैन
Breaking News

बिलखबन्दमा बाढीपीडित : खाने गाँस छैन, जाने ठाउँ छैन

बझाङ । असारको महिना खातीगाउँको जिउँलोमा खेतालाहरू गाउँदै रोपाँई गरिरहेका हुन्थे । दजनौं हल गोरूसहित गाउँलेहरू रोपाँई गर्न जिउलोभरि छरिइरहन्थे । वल्लो पल्लो गाउँबाट आउने पणिमा (सहयोग साँटासाँट)ले खातीगाउँको शोभा झनै उज्यालो हुन्थ्यो ।

अहिले छिमेकी गाउँको रोपाँईमा पनि ‘पणिमु’ काटिएको छ । खातीगाउँको जिउलो रोपेपछि सहयोगका लागि जाने खातीगाउँबासी अहिले छिमेकी गाउँ जाँदैनन् । अहिले न कोही आउने, न कोही पणिमु तिर्ने नै भएका छन् ।

अन्य ठाउँमा रोपाँई भइरहँदा खातीगाउँबासी भने खेतमा टोलाएर आँसु चुहाउँदै दिन बिताउँछन् । रोपाँई गर्ने रहर मेट्न पनि जमिन बचेन । ‘अहिले बीउ निकालेर गोरू जोत्दै रमाइलो गरिरहेका हुन्थ्यौं,’ प्रेमबहादुर खातीले भने, ‘अब सम्झनामा मात्रै बाँकी रह्यो ।’

****

खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर अहिले उनी सधैँजसो गाउँमै भेटिन्छन् । अचेल बझाङ–बाजुरासम्म जाने बाटो पनि उनकै मध्य गाउँ भएर जान्छ । गाउँमै बाटो हुँदा बाटोमै भेटिने खाती धेरैसँग परिचित नहुने कुरै भएन । गत वर्ष आएको बाढीपछि उनको बसाई गाउँमै सिमित रह्यो ।

जीवनकालको उत्तरार्द्धमा प्रवेश गरेका उनी अहिलेसम्म बाढीसँग परिचित थिएनन् । तर, गत वर्षको बाढीले भने उनको मानसपटलमा नमिटिने छाप बसायो । उनी मात्रै होइनन्, अहिले प्रलयकारी बाढीबारे छान्नाबासी नै परिचित छन् ।

‘बाढी आएको साढे ८ महिना भइसकेको छ,’ खातीले भने, ‘सर्वश्व गुमाएका हामीहरू भने अझै भोक मेटाईको पर्खाइमै छौं ।’ उनी भोको पेटले आश्वासन थेग्न नसक्ने बताउँछन् । उनी भन्छन्, ‘भोको पेटले आश्वासन थेग्न सक्दैन रहेछ । धेरै निकायले दिगो व्यवस्था गर्छौं भनेर आश्वासन बाँडिरहेका छन् । तर, हामीलाई भने कसरी भोक मेटाउने चिन्ता लागिरहन्छ ।’ अहिले नै खानलाई छैन भने पछिको आश्वासनले के गर्नु ? उनी प्रश्न गर्छन् ।

****

बाढीअघि राम्रै चल्दै थियो खातीगाउँबासीको दैनिकी । तराइको जस्तै उब्जनी हुने जिउलो (खेतीयोग्य जमिन)ले उनीहरुलाई कहिल्यै चिन्ता लिनु परेको थिएन । आफूलाई पर्याप्त भएर उत्पादित वस्तु बिक्रीसमेत गर्थे उनीहरु । खातीगाउँको आगनमै सडक, अगाडि जिउलो, पारीपट्टी विद्युत स्टेशन, वरपर डाडाँकाडा बीचमा सलल बगिरहेको जडारीगाडको सुन्दरताले पर्यटकीय क्षेत्रको झल्को दिइरहेको थियो ।

गाउँघरलाई पर्यटकीय क्षेत्र बनाउनसमेत जुटिसकेका थिए । सडकको छेउछाउ पक्की भवनहरू बनिरहेका थिए । सामान्य पूर्वाधारहरुबाट पनि सम्पन्न भइसकेको थियो खातीगाउँ । आफ्नै गाउँघरमा बदलिँदो परिवेशको ‘झिल्को’ झल्कँदै थियो । स्वावलम्बी खातीगाउँबासीका लागि सुखको बिहानी झुल्किन थालिसकेको थियो । तर, विडम्बना त्यो धेरै दिन टिकेन । १० पुस्तापहिले डोटीबाट आएका खाती गाउँबासीलाई कहिल्यै दुःख नदिएको जडारीगाडले एकै झट्कामा सर्वस्व लुट्यो ।

अहिले प्रेमबहादुर बसेको छानोमा दाताले दिएको १ बोरा चामल पनि आधा भइसकेको छ । ‘एक जनाले चामल दिनुभएको थियो । जोगाएर खाँदा पनि सकिनै लाग्यो । त्यसपछि कसलाई माग्ने ? के गर्ने ? कसरी छाक टार्ने होला भनेर चिन्ता लागिरहेको छ ।’ प्रेमबहादुर आफू बृद्ध भइसकेका छन् । प्रौढ उमेरका उनका छोरा पनि अपाङ्ग छन् । नाति नातिनासहित ६ जनाको परिवार पाल्ने जिम्मेवारी नै उनको छ । ‘आफू बूढो भइसके, छोराको त्यस्तो हालत छ । नाति नातिना सानै छन् । भएको सम्पति सबै बाढी निल्यो ।’ उनी टोलाउँछन् ।

खातीगाउँमा सर्वश्व गुमाएका प्रेमबहादुरसहित दुई परिवार हुन् । ज्ञानदेवी खातीको परिवार पनि प्रेमबहादुरको जस्तै छ । ८ जनाको परिवार पाल्न उनलाई पनि दाताकै भर पर्नुपरेको छ । खातीगाउँमा घर जोगिएकाहरूको पनि अवस्था उस्तै छ । ‘अहिलेसम्म घरको सास त जोगिएकै छ,’ धन्दरी खातीले भनिन्, ‘अहिले बस्नलाई घर त छ । तर, खानलाई केही छैन । सबै गाउँलेकै एउटै अवस्था हो ।’

बाढी आएको साढे ८ महिनासम्म पनि खातीगाउँबासीले स्थानीय सरकार भएको भने महशुससमेत गरेका छैनन् । ‘राहतका लागि गाउँपालिका गयौं । पालिकाले उल्टै पीडा थप्ने झटारो हानेर पठायो,’ प्रेमबहादुर भन्छन्, ‘राहतका लागि जाँदा अघिल्लो अध्यक्ष वर्कबहादुर रोकायाले खोला नजिक घर किन बनाएको भन्दै झपारेर पठायो । अरू निकायले केही सहयोग गरे पनि गाउँपालिकाले भने राहतको नाममा खुर्सानीसमेत दिएको छैन ।’

****

‘झरी पर्ने बित्तिकै आत्तिन्छौं । झरी परे बाढी आउँछ, बाढी आए भाग्ने ठाउँ पनि छैन, दिउँसो खोला हेर्दै टोलाउँछौं । राति जाग्राम बस्छौं ।’ धन्दरी खातीले दुखेसो पोखिन् । उनीजस्तै गाउँलेहरू राति पालो लगाएर सुत्ने गरेका छन् । ‘वर्षायाममा गलेको माटो कति बेला के हुन्छ, कसैलाई थाहा छैन,’ उनले भनिन्, ‘दिउँसो त भागदौड गर्न पनि सकिन्छ । राति बाढी आएमा के गर्नु ?’ बाढीले पु¥याएको क्षति खातीगाउँ मात्रै नभई सबै वडाका खोला किनाराको बस्तीमा पनि परेको छ । गडरायदेखि तमैल बजारको भू–भागसम्म पनि बाढीले क्षति पु¥याएको छ ।

खप्तडछान्ना गाउँपालिका-५ का विष्ट परिवार पनि अहिले खापरदेव क्याम्पसको भवनमा आश्रय लिइरहेका छन् । गत वर्ष कार्तिकमा आएको अविरल बाढीका कारण घरको जगदेखि नै पहिरो आउँदा भागादौड मच्चिएको थियो । स्थानीय सरकारले चासो नै नदिएपछि उनीहरू अहिले क्याम्पसको भवनमा बस्दै आएका छन् ।

वडा नम्बर १ को मुसुराडीमा पनि बाढीपीडितहरू राहतकै पखाईमा बसेका छन् । बाढी आएको बेलामा ज्यान जोगाउन भागेका दलित समुदाय अहिले पानी पर्दासमेत निदाउन सक्दैनन् । गैरदलितभन्दा तल बसिरहेको उनीहरूको घर पनि कति बेलामा नोक्सान हुन्छ भन्दै टोलाइरहने गरेका छन् ।

खातीगाउँबासीको पीडालाई आफूले पनि महशुस गरेको तर राहतको नाममा केही गर्न नसकेको वडाध्यक्षमा निर्वाचित देवीभक्त जोशी स्वीकार्छन् । ‘बाढीपीडितको समस्यामा सरकारले केही गर्न सकेको छैन । हामीले पनि केही गर्न सकेनौं ।’ उनी भन्छन्, ‘बाढीपीडितको समस्या छ । तर, हामीसँग गर्नलाई पनि केही छैन । हामी भरखर आएका छौं । अहिले बजेट पनि छैन ।’

यता खप्तडछान्ना गाउँपालिकाका उपाध्यक्ष विष्णु थापा भने बाढीपीडितको बारेमा हलुका टिप्पणी गर्छन् । ‘खातीगाउँबासीले भने जस्तै समस्या छैन । भन्नलाई त जे भने पनि भयो । खानै नपाउने अवस्था होइन ।’ उनी भन्छन्, ‘समस्या छ, तर उहाँहरूले भनेजति सबै होइन ।’ थापाका अनुसार अघिल्लो सरकारले बजेट बिना नै रकम छुट्याएको थियो । त्यसैले केही राहत दिएन । अहिलेको सरकारले बाढीपीडितका लागि रकम छुट्याएका छौं । कार्यान्वयन पनि गर्छौं ।’

खप्तडछान्नामा ९९ करोड बराबरको क्षति

गाउँपालिकाको तथ्यांकअनुसार गत वर्ष आएको बाढीका कारण पालिकाका सबै वडा गरी ९९ करोड बराबरको भौतिक क्षति भएको छ भने ६ जनाले ज्यान गुमाएका थिए । ७ वटै वडामा गरी ७६ घर, २३ पसल, ५ वटा कृषि फार्म र १० वटा छानो (गोठ) पूर्ण रुपमा क्षति भएको थियो छ । त्यस्तै पुल, सडक, विद्यालय लगायतका दर्जनभन्दा बढी सार्वजनिक संस्थामा पनि क्षति पुगेको छ ।

खप्तडछान्ना गाउँपालिकाका अनुसार गत वर्षको बाढीले २ करोड ३० लाख रुपैयाँ बराबरको सिँचाई कुलो, १ करोड बराबरको झोलुंगे पुल, ५ करोड बराबरको पक्की पुल, १० करोड बराबरको सडक, १ करोड ८८ लाख बराबरको हाइड्रोपावर, ५ करोड ८६ लाख बराबरको सार्वजनिक भवन, ६० लाख बराबरको सार्वजनिक यातायात, ५९ करोड ६३ लाख बराबरको खेतीयोग्य जमिन, १ करोड ५३ लाख बराबरको खानेपानी, करिब ४ करोड बराबरको कृषि तथा पशु र साढे ७ करोड बराबरको निजी आवास गरी ९८ करोड ८१ लाख बराबरको भौतिक सम्पति नष्ट भएको छ ।

प्रधानमन्त्रीको आश्वासन अधुरै

खप्तडछान्ना गाउँपालिकाले क्षति विवरण प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदै ध्यानाकर्षण गरेको पनि ८ महिना पुगिसकेको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा गएको टोलीलाई प्रधानमन्त्री देउवाले लगत्तै बजेट विनियोजन गर्ने आश्वासन दिएका थिए । तर, अहिलेसम्म पनि बजेट निकासा नभएको जिल्ला समन्वय समितिले जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले पनि बझाङ आएर संकटग्रस्त क्षेत्र घोषणा गरेको पनि लामै समय भइसकेको छ । तर, पीडितको अवस्था भने उस्तै छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार