बझाङ । अहिलेको पुस्तालाई कुनै बेलामा खरीले समेत लेखिन्थ्योभन्दा अनौठो मान्छन् । तर, त्यही पुस्ता हो खरीले लेखेर नै उच्च शिक्षाको खुट्किलो पार गर्थे । त्यसैमध्येका एक हुन् लक्ष्मी आधारभूत विद्यालय छविसपाथिभेरामा कार्यरत पुष्पराज जोशी ।
मुलुक परिवर्तनसँगै शैक्षिक परिवर्तन पनि त्यत्तिकै भएको छ । खरिपाटी, काष्ठपाटी, कालोपाटी अहिलेको पुस्तालाई धेरै पुराना भइसकेका छन् । डिजिटलको युगमा काष्ठपाटी सम्झिने कुरा मात्रै भयो । त्योसँगै खरीपाटी पनि पुरानै । तर, यो समयमा पनि विद्यालयमा नियमित काठ कुँदेरै अध्यापन गराइरहेका छन् पदमराज ।
मुलुकभरका अधिकांश विद्यालयहरु पनि प्रविधिमैत्री हुँदैछन् । धेरैजसो विद्यालयहरुमा प्रोजेक्टको माध्यमबाट पढाई हुन्छ । केही विद्यालयहरुमा यसरी पढाई हुन थालेको दशकभन्दा बढी भइसक्यो । तर, पदमराज भने काठ कुँदेर सीप सिकाउँदै विद्यार्थीलाई ‘सिपालु’ बनाइरहेका छन् । उनको कलाशैलीले नै कतिपय विद्यार्थीसमेत निकै सिपालु भएका छन् ।
बाल्यकालदेखि नै काठमा चित्र कोर्नेदेखि लेख्ने अभ्यास गरेका जोशीले अहिलेसम्म हजारभन्दा बढी काठ खोप्दै अक्षर लेखिसकेका छन् । बाजुराको ढम्कनेस्थित सरस्वती माविमा काम गर्दा उनलाई ‘सिपालु शिक्षक’ भन्दै विभिन्न संस्थाले देशभरी नै घुमाए । उनले आफ्नो सीप जुन जुन ठाउँ गए, त्यो ठाउँमा सिकाउँदै आए ।
२०५१ बाट सुरु गरिएको काष्ठपत्र
जोशीले शिक्षक पेशा सम्हालेको केही समयमै बाजुरामा काष्ठपाटी कुँद्न सुरु गरे । २०५१ सालमा विद्यार्थीहरुलाई पढाउन सुरु गरेको काष्ठपाटी विस्तारै बाजुरामा लोकप्रिय हुँदै गयो । जोशीले २०४८ सालमा १२ कक्षा पास पनि गरे । ढम्कनेबाट सरुवा पनि भए । दहकोटमा प्रधानाध्यापक भएर गइसकेपछि उनलाई काष्ठ कुँद्न सहज भयो । उनले काठ कुँद्दा वरिपरि हेर्नको घुँइचो नै लाग्थ्यो । कतिपय ठाउँमा अरु अभिभावकले पनि त्यो अभ्यास गरे । जोशीले भने निःशुल्क काठ पाएपछि तीन दशकसम्म काष्ठपाटी कुँदिरहे ।
सामान्य परिवारमा जन्मेका पुष्पराज न्यायाधीश केशवराज जोशीको सहयोगीको रुपमा बाजुरा पुगेका थिए । बाजुरामा एसएलसी पास गरेको हुँदा न्यायाधीशसहित जिल्लाका जिम्मेवार व्यक्तिले उनलाई जागिर लगाए । मेहनती पुष्पराजलाई बाजुराको माटोले धेरै ठाउँमा अघि बढ्ने मौका दियो ।
बाजुरामा प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारीसहितको टोली अनुगमनमा आएपछि पुष्पराजले कुदेका काष्ठपाटीहरु सार्वजनिक भएका हुन् । विद्यालयको भित्तामा लहरै टाँसेका पाटीले सबैको ध्यान खिच्दै गए ।
कला देखेर युनिसेफका दमन रुपाखेती, राधिका तुम्बाहाम्फेले धेरै ठाउँमा घुम्ने अवसर जुराए । शिक्षक पुष्पराजले मुलुकका ३०/४० जिल्लामै घुमेर आफ्नो सीप साँट्ने अवसर पाए । उनलाई झापामा भ्रमणमा गएको बेला रुपाखेतीले नै सर सामाग्री जुटाएर तस्बिर कोर्न सिकाएका थिए । जोशी रूपाखेतीलाई गुरू मान्छन् ।
बाजुरामा बस्दा जोशीलाई काठ खोप्न कहिल्यै समस्या भएन । तर, पेन्टिङ गर्नलाई बाहिरबाट ल्याउनुपर्ने हुँदा अलि समस्या हुन्थ्यो ।
अहिले पनि पुष्पराज काष्ठमै लेखेर विद्यार्थीलाई पठाउने, कुँद्न सिकाउने गर्छन् । उनको त्यो उद्देश्य भनेको विद्यार्थीलाई पनि ‘सिपालु’ बनाउनु हो । ‘मलाई कुनै निकायबाट केही चाहिएको छैन । तर, विद्यार्थीलाई स्वतन्त्र रुपमा हरेक विषयमा आफूले सिकेको सीप सिकाउन पाए । त्यसैमा खुसी हुन्थे,’ उनी भन्छन् ।
२०७४ सालमा उनी बझाङ सरुवा भए । बझाङमा आफ्नो घरछेउकै विद्यालय काष्ठपाटीमैत्री बनाउने सोचमा थिए । तर, स्थानीय सरकारले नै चाँसो नदिएपछि उनी निरास भए । अहिले लक्ष्मी आधारभूत विद्यालयमा हेर्दा उनले कुँदेका दर्जनौं काष्ठपाटीहरु रङ्गरोगन गर्नै नपाएर थन्किएका छन् । ‘आफ्नै ठाउँका बालबालिकाहरुलाई पढाउन सुरुमा धेरै पाटीहरु खोपियो,’ उनी भन्छन्, ‘अहिले रङकै अभावले कुँहिन लागेका छन् ।’ जीवनको उत्तराद्र्धमा प्रवेश गरेका जोशी नमुना विद्यालय बनाउन चाहन्छन् तर, कुनै निकायबाट पनि सहयोग पाउँदैनन् ।
लक्ष्मी आविमा १०५ जना विद्यार्थीका लागि ५ जना शिक्षक छन् । २ जना स्थायी दरबन्दी २ राहात १ इसीजी छन् । उनको दैनिक समय विद्यार्थी तथा शिक्षकलाई आफ्नो कला सिकाउने गर्छन् । त्यसमार्फत् विद्यार्थीलाई पढाउने गर्छन् ।
बाजुरामा उनको कलाले गोल्ड मेडलसम्म पाएको थियो । बझाङमा खासै गतिलो प्रतिक्रिया नपाएको उनी बताउँछन् । उनको घरमा उनी जस्तै सिपालु सन्तति पनि छन् । उनको जेठो छोरा पारसले २०६० सालमा चित्रकलाबाटै ७ लाख रुपैयाँ पुरस्कार जितेका थिए ।
फेसबुक प्रतिक्रियाहरु