शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • दुई वडालाई तरकारी खुवाइरहेका प्रकाश
Breaking News

दुई वडालाई तरकारी खुवाइरहेका प्रकाश

बझाङ । बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुई साढे ४ मा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ । घर पुग्दा नपुग्दै हातमा कुटो कोदालो बोकेर बारीमा प्रवेश गरिहाल्छन् खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका प्रकाश खत्री । उनलाई तरकारी बारीको हेरविचार गर्ने प्रर्याप्त समय नै छैन । बिहान बेलुका बचेको समयले मात्रै धानिरहेका छन् गोपाल फलफूल तथा तरकारी फर्म ।

गाउँघरमा तरकारी उत्पादन गर्नुपर्छ भन्ने धेरैको चेत उहिल्यैदेखि हराइसकेको थियो । खेतबारी तथा लेखोपाखो बाँझै राखेर भारतमा मजदुरी गर्ने परिवारका १/२ सदस्यको मात्रै भर पर्थे पूरै परिवार । छिमेकी जिल्ला बाजुराको काँडा, डोगटी, खप्तडछान्ना–७ कै लामागडामा फल्ने तरकारीको ग्राहक मात्रै थिए दुई दर्जनभन्दा बढी गाउँ ।

खत्री परिवार भने २०५४ सालदेखि नै आफ्नै बारीको अर्गानिक तरकारी तथा फलफूल खाइरहेको छ । ३ वर्षदेखि भने व्यवसायिक रुपमा तरकारी फर्म दर्ता गरेर दुई वडालाई नै तरकारी तथा फलफूल खुवाइरहेको छ । अहिले खत्रीको फार्ममा केरा, नास्पाती, अंगुर, कागती, सुन्तला, ओखर, किबीजस्ता फलफूलहरु सिजनअनुसार पर्याप्त पाइन्छन् भने तरकारीमा रायो, सुइचार्ड, झुकेनी, सिमला मिर्चा, काक्रा भक्तपुरे, स्थानीय लोकललगायतका तरकारीहरु उत्पादन भइरहेका छन् ।

खत्रीले गत वर्ष मात्रै उनले झण्डै ४ क्विन्टल बेमौसमी तरकारी बिक्री गरेका थिए । उनले यस सिजनमा पनि गत वर्षकै जसरी बेमौसमी तरकारी बिक्री हुने अनुमान लगाएका छन् । २०७४ सालमा सुरु गरेको पहिलो तरकारी टर्नेलपछि अहिले खत्रीसँग ५ वटा तरकारी टर्नेल छन् ।

खत्रीका लागि उत्पादित तरकारीको बजार धेरै टाढा छैन, नत बीउबीजन ल्याउने ठाउँ नै टाढा छ । उनी बीउ ल्याउन पनि आफन्तको सहयोगमा तराईका जिल्लाबाट भित्र्याउनछन् । कतिपय तरकारीको बीउ नै राम्रो नपाउँदा लगानी नै उठ्दैन त कतिपय ठाउँमा राम्रै उत्पादन हुन्छ ।

छैन माटो परीक्षण

अहिले व्यवसायी बनेका प्रकाश खत्रीलाई कुन माटोमा कुन प्रजातिको तरकारी तथा फलफूल उत्पादन हुन्छ भन्ने अहिलेसम्म जानकारी छैन । सामान्य किसानको रुपमा उनी आफैं परीक्षण गर्छन्, आफैं उत्पादन गर्छन् र आफैं बेचविखन गर्छन् । सुरुवाती वर्षहरूमा तरकारीले राम्रै फल दिएपछि दोस्रो वर्ष त्यसलाई बढाए । जमिन बढाए, उत्पादन बढाए । फलफूलका विरुवाले पनि राम्रै फल दिएपछि त्यसलाई पनि थप्दै गए । आफूलाई खानलाई प्रर्याप्त हुँदै गयो र पछि राम्रै व्यापारी भए ।

‘माटो परीक्षण गर्नका लागि जिल्ला कृषि विकास कार्यालय मातहतको कृषि ज्ञान केन्द्रले पनि परीक्षण नगरेर अन्य जिल्लामा पठाउने रहेछ,’ खत्री भन्छन्, ‘अहिलेसम्म यो आसपासको माटो परीक्षण गरेको छैन । जति फलफूल लगाएँ, तरकारी लगाएँ, मलबिनै पनि राम्रै उत्पादन भयो । यो अनुभवबाटै जुनसुकै प्रजातिका तरकारी तथा फलफूलसमेत उत्पादन हुने रहेछ ।’

सुतारीगाउँ मात्रै होइन । साविकका पाटादेवल तथा कालुखेती गाविसमा पनि पहिलो व्यवसायिक रूपमा तरकारी तथा फलफूल उत्पादन गर्ने कृषक हुन् खत्री । दिउँसोको समय एउटा आधारभूत विद्यालयमा पढाएर साँझ बिहान मात्रै बारीमा समय दिने खत्रीले सानो लगानीमा कृषि सुरु गरेका हुन् । परिवारलाई पुग्नेगरी उत्पादन हुने गरेको तरकारीले अहिले करिब दुई दर्जनभन्दा बढी गाउँलाई तरकारी खुवाइरहेका छन् ।

तरकारी सुरु गर्दा कुन मौसममा कस्तो खाले तरकारी उत्पादन हुन्छ भन्ने थाहा नभएरै व्यवसायमा हाम फालेको उनी सम्झन्छन् । उनी भन्छन्, ‘बीउ मात्रै पाएको हुँदा सुतारी गाउँमा कुन मौसममा कस्तो खाले तरकारी फल्दो रहेछ, कुनै जानकारी थिएन । एक वर्ष त टमाटर वर्षभरि नै बारीमा छरे । त्यसपछि मात्रै थाहा भयो दुई सिजनमा टमाटर राम्रै फल्ने रहेछ ।’

अनुभवबाट नै व्यवसायी बनेका खत्रीले पछिल्लो समय जिल्लाकै ध्यान तानेका छन् । उनले उत्पादन गरेको तरकारी र फलफूले सरकारी तथा गैरसरकारी क्षेत्रका धेरै कर्मचारीले समेत स्वाद लिन पाएका छन् ।

सफलतापछि सहयोग

गोपाल तरकारी तथा फलफूल फर्मले छोटो समयमै लोभलाग्दो सफलता आर्जन गरेपछि जिल्लास्थित धेरै निकायले अनुदानस्वरुप आर्थिक सहयोग गर्दै आएका छन् । खप्तडछान्ना गाउँपालिकाले सो फर्मलाई अनुदानबाफत १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कृषिमा उत्साहित बनाउने प्रधानमन्त्री कृषि आधुनिकरण ‘आलु जोन’ बझाङबाट पनि फर्म सञ्चालक खत्रीलाई प्रोत्साहित तथा आर्थिक सहयोग गरेको छ । आलु जोनले तरकारी सिचाईका लागि पहिलो पटक १ लाख रुपैयाँ सिचाई पोखरी निर्माण गर्नका लागि सहयोग गरेको थियो । त्यो रकमसहित १ लाख रुपैयाँ खत्रीले लगानी गरेर सिँचाई पोखरी बनाए । दोस्रो पटक अनुगमनमा आउँदा पुनः आलु जोनले १ लाख रुपैयाँ अनुदान दियो । त्यो पैसाले उनले सिँचाई नहर बनाए ।

गाउँपालिकाको कृषि शाखाबाट पनि सञ्चालक खत्रीले १ लाख अनुदान प्राप्त गरे । त्यस रकमले उनले टर्र्नेलहरु बनाए । अहिले तीन वर्षको अवधीमा गोपाल तरकारी तथा फलफूल फर्ममा ११ लाखको लगानी भइसकेको छ । ५ लाख रुपैयाँ विभिन्न निकायबाट अनुदान र ६ लाख रुपैयाँ सञ्चालक खत्रीको गरेर ११ लाख रुपैयाँ लगानी भएको उनी बताउँछन् ।

खत्रीले सुरु गरेको फर्मको अनुगमन गर्न कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर बिष्टसहित पुगे । उनको नजरमा छान्ना क्षेत्रमै व्यवसायिक रुपमा पहिलो कृषकको रुपमा खत्रीलाई नै फेला पारे । पछि उनले भीमदत्त उत्कृष्ठ कृषक पुरस्कारमा छनौट गरे ।

हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय

खत्रीले घरमा तरकारी उत्पादन गर्न लागेको करिब ३ दशक हुन लाग्यो । सुरुमा आफूलाई नै पुग्ने गरी मात्रै उत्पादन हुन्थ्यो उनको बारीमा । बाँकी जमिनमा पूख्र्यौली उत्पादनलाई नै निरन्तरता दिएको थियो । पूख्र्यौली उत्पादन न खानलाई पुग्ने, नत संघर्ष नै कम । यसबाट प्रताडित भएपछि खत्रीले तरकारी बढाउन थाले ।

सुरुमा प्याजको बेर्नासहित केही तरकारीका बीउ एक हजारमा किने । त्यो बीउले उत्पादन राम्रै दिएपछि विस्तारै तरकारी तथा फलफूलमा समेत लगानी बढ्दै गयो । लामो समय प्याजको बेर्ना बनाएर १ रुपैयाँ बाफत ५ बोट दिएर बेर्ना बेचेका खत्री अहिले हजारौं मूल्य बराबरको प्याज बेच्न थालेका छन् । अहिले खत्रीको व्यापार सबैभन्दा राम्रो पनि प्याजमै छ । उनी प्याजबाट मात्रै करिब वार्षिक रुपमा ६०/७० हजारभन्दा बढी बिक्री गर्ने गर्छन् । प्याजसँगै केरा, काक्रा, विभिन्न प्रकारका हरियो तरकारी, काउली, बन्दालगायत गरेर खत्रीले वार्षिक रुपमा तीन/चार लाखभन्दा बढी नाफा कमाउँदै आएका छन्

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार