बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • प्रकाशकीय : तेस्रो ध्रुव साप्ताहिकको यात्रा आरम्भ
Breaking News

प्रकाशकीय : तेस्रो ध्रुव साप्ताहिकको यात्रा आरम्भ

करिब डेढ दशकअघि मोफसल हुँदै मुलधारका विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव र अध्ययनपछि नयाँ यात्राको सुरुवात गर्दैछौं । थाहा छैन यस यात्रामा कति चुनौती सामना गर्नुपर्नेछ भनेर । तर पनि समाज रुपान्तरणका लागि एउटा सञ्चार संस्थालाई हजारौं चुनौती आउनु स्वभाविक हो भन्ने ठानेका छौं ।

बदलिँदो प्रविधिको विकाससँगै सञ्चार संस्थामा पनि विभिन्न आयाम थपिएका छन् । तर, मुलुकका हिमाली तथा उच्च पहाडी क्षेत्रमा त्यसले खासै फड्को मारेको छैन । आम नागरिकले सूचना प्राप्त गर्न पनि त्यति सजिलो छैन । त्यसैमध्येको एक हो बझाङ जिल्ला । यस जिल्लाका नागरिकलाई डिजिटलको युगमा पनि अन्धकारमा बस्नुपर्ने बाध्यता छ । यहाँ एउटै जिल्लामा १६औं शताब्दीका नागरिक पनि छन् २१औं शताब्दीका पनि छन् । यति ठूलो खाडललाई पुर्न, जनतालाई चेतनशील बनाउन, समाज परिवर्तनमा इँटा थप्न हाम्रो पनि भूमिका रहने विश्वासका साथ हामीले तेस्रो ध्रुव नामक साप्ताहिक पत्रिका सञ्चालनमा ल्याएका छौं ।

कोभिडले मुलुकको अर्थतन्त्र धरासायी भएको र सञ्चार संस्थाको पनि बाक्लो भिडमा होमिनु आफैंमा चुनौतीपूर्ण छ । यस्तो भिड तथा रफ्तारमा अघि बढ्न हामीलाई पाठक, विज्ञापनदाता र शुभेच्छुकबाट निकै ठूलो ऊर्जा मिल्ने विश्वास लिएका छौं । हामीले गर्ने पत्रकारिताले हाम्रो समाज रुपान्तरणको केही हिस्सा बन्नेछ भन्ने पनि विश्वासले जिल्लामा फर्कियौं । मुलधारबाट हेर्दा परिपक्व लाग्ने हाम्रा ग्रामीण भेगहरु नजिकको स्पर्शले शताब्दीऔं टाढा देखाउँछ । अब भाँसिएको धरातललाई उठाउन सक्दो सहयोग गर्नुपर्छ भनेर हामी फर्किएका हौं । आशा छ, यहाँहरु सबैबाट सक्दो मद्दत प्राप्त गर्नेछौं ।

अब यस पत्रिकाले समाजका हरेक वर्ग, हरेक जाति, हरेक सम्प्रदायलाई समान स्थान दिनेछ । समाजमा हुने विकृति, विसंगति तथा बेथितिविरुद्धमा खबरदारी गर्ने संकल्प लिएको छ । शक्ति तथा सत्तासँग नझुक्ने गरिब, पीडितको पक्षमा वकालत गर्ने, नागरिकको हकाधिकारको लागि लड्ने, राज्यको नजरमा दूर भएका घटनाक्रमबारे सरोकारवालालाई जवाफदेही बनाउनेमा हामी प्रतिवद्धता व्यक्त गर्न चाहान्छौं । तेस्रो ध्रुवले पाठकको चाहना र आवश्यकतालाई प्रमुख प्राथमिकतामा राखेर राष्ट्रिय राजनीतिदेखि आर्थिक, शैक्षिक लगायतका हरेक विषयको खबरसमेत समेट्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार