दिपेन्द्र रावल
काठमाडौं । “चारैतिर डाँडाकाँडा । माथिल्लो भाग खप्तड राष्ट्रिय निकुञ्ज । तलतिरको भाग बेसींजस्तै दलदले मैदान । छरिएर रहेका रमाइला बस्ती (गाउँहरु) । डाडाँबाट हेर्दा सयौं सेताम्य खोलाहरु (स्थानीय भाषामा नदीका साना रुपलाई गाड) । बस्तीमा प्रायः एउटै किसिमका घरहरु । रीतिरिवाज, संस्कृतिले भरिपूर्ण क्षेत्र । छिमेकीको एक आपसमा सद्भाव, शैली र मिठास ।” यो हो बझाङको छान्ना क्षेत्रको दृश्यात्मक परिचय । हालको खप्तड छान्ना गाउँपालिका ।
बझाङको लागि भने यो खासै नौलो होइन । राज्यको नजरमा सधैं ओझेलमा परिरहेको क्षेत्रले हाल स्थानीय युवाहरुकै संघर्षले यो क्षेत्र चर्चा बटुल्दै छ । छान्ना क्षेत्रले डाक्टर, पाइलटलगायत उच्च स्तरका राष्ट्रिय व्यक्तित्व जन्माउन सफल भएको छ । कुनै दिन राउटे स्वभाब बोकेको छान्ना हाल पशुलाई पनि शिक्षा दिन थालेको छ ।
दुई दशक अगाडि शिक्षा भन्ने बित्तिकै भाग्थ्यो छान्ना क्षेत्र । अहंकार, गरिबी, अशिक्षा, बेरोजगारी, कुबिचार भावना, बिकृति बिसङ्गतिले सम्पन्न थियो । केबल रीतिरिवाज, धर्म संस्कार बाहेक केही थिएन त्यहाँको स्थानीयमा । अब दुई दशकको अन्तरमा हेर्दा संस्कार र साक्षार बिनाका परिवार नै भेटिदैनन । एकाएक रुप फेरियो । युवाहरुमा सिकाइ र सचेतनाको ज्वालालाई कसैले रोक्न सकेन । उर्जावान शक्ति पैदा भएझैं छान्नाको रुप फेरिएन रङ्ग फेरियो ।
छान्ना क्षेत्रमा साविकका ६ गाविस थिए । पौवागढी, लामातोला, माझिगाउँ, कालुखेती, पाटादेवल र गडराय । हाल देश संघियतामा गएपछि खप्तड छान्ना गाउँपालिका बन्यो । छान्ना क्षेत्र परिवर्तन हुनु सानो संघर्षले होइन । दुई दशकदेखिकै स्थानीय विद्यालयमा पढ्ने बालबालिकामा भएको जोश जाँगर नै ज्वाला बनिरह्यो । परिवर्तन पनि मान्छे र सिकाइ परिवर्तन भयो तर राज्यबाटको असहयोगले भने हिजो जस्तै आज छ । विकासका पूर्वाधारहरु सधैं अप्रयाप्त भइरहे । कहिल्यै सडकले दुख दियो त कहिले कहिले विद्युतले । यो समस्या हाल पनि छ ।
दुई दशक अगाडि छान्नामा बिभिन्न परिवारले बालबालिकालाई बिद्यालय पठाउँदैन थिए । प्रायः सबै परिवारका भाइबहिनीहरु धेरै हुने गर्थे । चेतनाको बिकास भएको थिएन । घरको काम छोडेर विद्यालयमा गएमा बेलुका कुटाइ खाइन्थ्यो तर पनि त्यो प्रयास जारी नै रह्यो । बिस्तारै बढीजसो बालबालिका बिद्यालय जाँदै गरे । शिक्षकले पनि अभिभावकलाई बालबालिकालाई शिक्षा दिनुपर्ने सिकाइ दिदै गरे । विद्यालयमा पनि बिद्यार्थीहरु राम्रो शिक्षा सिकीरहेका छन है भन्ने पर्यो ।
विद्यार्थीहरुमा पनि प्रतिस्पर्धा हुदै गयो । त्यसै सिलसिलामा मैले पनि २०५९ सालमा स्थानीय खप्तड माबिबाट एसएलसी उत्तीर्ण गरे । गरिब समाजले शिक्षालाई असफल बनाउछ भन्ने भ्रमलाई चिरीदियो रिजल्टले । परिवारमा पनि सबैको स्याबासीको उपहार बटुले । समाजबाट पनि प्राप्त भयो । त्यसपछि सुदूरको बिकसित सहरमा धनगढीमा पढ्ने निधो गरे । धनगढी पढ्दा परिवारको आर्थिक श्रोतले धान्न नसक्ने अवस्था थियो । जोहोतोहो गरेर केही बर्ष धनगढीमा बिताइयो ।
धनगढी बस्दा र परिवारको स्थिति सम्झँदा मन सारै पिरोल्ने गथ्र्यो । कहिले काँही रेडियो सुन्ने गर्थे कान्तिपुर एफ एम । एक दिन बिहान यति पढ्दा पनि हाम्रो गरिब समाजलाई केही उपहार दिन सकिन भनेर आफू जन्मेको ब्यर्थै लाग्यो । टोलाई रहेको थिए । समाचार बज्दै थियो । समाचारको बिचमा ब्रेक समय थियो त्यो समयमा सहकारी सम्बन्धी तालिम भन्ने सूचना प्रसारण भयो । मलाई आश्चर्य लाग्यो । कल्पनामै म आफू जस्ता सयौं युवाहरुलाई रोजगार दिने सपना बटुलियो ।
एक छिन रेडियो बन्द गरे र सोचे । मेरो जिन्दगी कति शक्तिशाली होला है भनेर । म त्यो ठाउँमा गएर रेडियोमा प्रसारण भएको विज्ञापन मेरै लागि रहेछ भन्ने लाग्यो । पानी खाए । कल्पनामै डुबिरहेको अनुभूति भयो । दिउँसोको काम गरे । फेरी बेलुका त्यसैगरी रेडियोले पुनः त्यो बिज्ञापन दोहोर्यायो । आफू पनि ब्यवस्थापन बिषय पढेकोले सहकारी संस्थामा काम गर्दा सहज हुन्छ भन्ने कुराको संकेत पहिले नै प्राप्त भएको थियो ।
केही दिनमा घरमा कुरा गरे । म अब राजधानी जान्छु । घरमा कसैले पनि राजधानी जाने कुरालाई सकारात्मक सोचेनन् । हुनपनि हो, बिरानो सहरमा कति अन्यौलता हुन्छ, कस्तो पीडा खेप्नुपर्छ, कतिको अपहेलना सहनुपर्छ होला लाग्नु स्वभाबिक हो । किनकी त्यो ठाउँबाट राजधानी आउनु भनेकै अर्कै देश पुग्नु सरह थियो । अझ पनि त्यो क्षेत्रकालाई भारतको मुम्बई जानु एकदम सजिलो लाग्छ त काठमाडौं जानु एकदम टाढा पर्ने स्थानीयहरुको बुझाइ छ ।
भारतको दिल्ली, जम्बु, काश्मीर, केराला, आन्द्राप्रदेश लगायतका क्षेत्रमा नगएका परिवार थोरै मात्र हुन्छन्, नत्र घरको एक दुइजना त्यो ठाउँमा गएर रोजगारी गरिरहेकै छन । तिनीहरुले काठमाडौं भनेको सुनेका मात्र छन देखेका भने छैनन् ।
जस्तो कठोर समस्या भए पनि धनगढीबाट काठमाडौं जाने त्यतै रोजगार गर्ने निधो गरे । सोचे काठमाडौं देशकै मुटु हो । बेरोजगारीलाई रोजगारी त काठमाडौंमा पाइलै पिच्छे होला भन्ने लाग्यो । टिकट काटे, भोलिपल्ट काठमाडौंमा पुग्ने गरी । गाडीमा यात्रा गर्दा करिब १६ घण्टाको यात्रामा निन्दा एकपल्ट पनि लागेन । जे धनगढी बसेर रेडियो सुनेको थिए । त्यही कल्पना मै सुन्न लागे । आफूलाई त्यो ठाउँमा पुगेर सेयर सदस्यहरुसंग राम्रोसँग सम्बन्ध गहिरो पार्ला जस्ता अनेक थरीका कुराहरु मनमा कुराहरु खेलिरहेका थिए ।
एकछिनमा उज्यालो भयो काठमाडौं पुगेछौं । गाडीका सह–चालकले काठमाडौं आयो झर्नुुस भनेपछि हामी गाडी ओर्लियौं । मैले धनगढीबाट आउँदा मसँग एकजोर लुगा भएको झोला बाहेक अरु केही थिएन । त्यो झोला बोकेर सडकको किनारै किनारा हिडे । कता हो कता । किनकी मेरो लागि काठमाडौं नौलो कुरा थियो । मैले सपना देखेभन्दा धेरै फरक थियो । देशको राजधानी भनेपछि बिश्वभरीकै नागरिक पनि आउनसक्ने ठाउँ एकदमै सफा, सुन्दर होला त्यो ठाउँमा सुरुमा पुग्नेको मन त कस्तो होला ? यो मेरो बाटोमै जम्मा पारेको कल्पना थियो । काठमाडौंमा भने चारैतिर फोहोरका डंगुर, बिकृति मौलाउँदै गरेको ठाउँ । मान्छेले मान्छेलाई कुब्यबहार गरेका देखेपछि ल्याग्यो की छि ! किन आए हुँला यस्तो ठाउँमा भनेर । फरक स्थान, फरक संस्कार, फरक परिबेशमा निकै असहजता भयो ।
फेरि मनलाई कठोर बनाएर भए पनि यसै ठाउँमा संघर्ष गर्नुप¥यो भनेर एकजना चिनजानको भाइसँग सम्पर्क गरी उसको कोठामा कीर्तिपुरमा २ दिन बसे । भाइको कोठामा पनि असहज हुने भयो । मलगायत पाँच जना भयौं । एउटै कोठा घरमालिकले तनाब देला जस्तो भयो । बस्नको लागि पनि ठाउँ भएन । फेरी कतैं त्यो धनगढी बस्दा कान्तिपुर एफएमबाट बजेको सहकारी तालिमको ठेगाना टिपेर आएको थिए । त्यसै ठेगाना अनुसार आवेदन गरौं भनेर आएको थिए । तर, बिडम्बना त्यो ठाउँ भेटाउनै मुस्किल भयो ।
त्यसपछि सोध्दै एक जना चिनजानको आफन्तकहाँ कोटेश्वरमा पुगे । त्यहाँ पुग्ने बित्तिकै यो नौलो सहरको लागि पाइला टेक्ने बाटो (सामान्य रोजगार) खोजी दिनुप¥यो भन्दै गुहारे । उहाँ पनि अर्कैको मोबायल पसलमा काम गर्नुहुन्थ्यो । उहाँले मेरो गुहार सहर्षै स्वीकार्नु भयो र आश्वासन दिनुभयो । यो सहरमा आफ्नो मान्छे पनि पराया हुन्छ तिमीलाई म सक्दो सहयोग गर्छु भन्नुभयो । अनि मलाई भगवान भेटेझैं लाग्यो । एकैछिनमा उहाँले आफ्नो मालिकलाई मेरै जसरी गुहार्नु भयो । अनी उनले पनि स्वीकारे र भने म दिन्छु तिमीलाई काम भनेर आफ्नो घरमा लगे । करिब १५ दिन त्यो घरमा काम गर्दा खासै राम्रो नलागेर बाहाना बनाइ त्यो घरबाट निस्कनुपर्यो ।
फेरि कोटेश्वरको आफन्त कहाँ जादा उसले कोठा खोज्यो र त्यो कोठामा बस्न आग्रह ग¥यो । कोठा त खोज्यो तर कोठामा राख्ने सामानहरु केही थिएन । थियो त एउटा झोला मात्र । अनि बेडबिस्तरा किने र खडेरी पनि सुरु भयो । घरबेटी परिचय खोतल्न चाहान्थे, मलाई वास्ता नै लाग्दैन थ्यो । कसो कसो केही दिन गुुजारे । त्यसपछि धनगढीबाटै सुनेको बिज्ञापन खोल्ने ठाउँमा पुगे । अनि त्यो ठाउँमा बुझेको त दुई महिनाको तालिममा सहभागी भएको १५ हजार तिर्नुपर्ने फेरी आफूसंग पैसाको खडेरी नै भएको बेला । त्यो ठाउँबाट पनि फर्किए ।
बानेश्वरमा (BTI)को कार्यालयमा पुगियो त्यो ठाउँमा पुग्दा संयोगले डडेल्धुराको बैनीसंग भेट भयो । काठमाडौंमा बस्नेहरुका लागि सुदूरपश्चिमेलीहरुप्रति कति माया लाग्छ, त्यो सबैलाई अबगत नै छ । त्यसपछि त्यो बैनीको सल्लाह अनुसार नै अडिटको काम सिके । त्यसपछि ०६९ असार १ गतेदेखि लागु हुने गरी मलाई बिआइटीको प्रमुखले नियुक्त गर्नुभयो तालिम संयोजकको रुपमा ।
त्यसपछि मलाई अफिसबाट सुर्खेत, दाङ्ग, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा तालिम सञ्चालन गर्नको लागि नियुक्ति भएको पहिलो हप्ता मै खटाइयो । जसोतसो तालिम पनि दिए । आफूपनि केही समय अगाडी जागिरको लागि भौतारिएको कुरा तालिम सञ्चालन गरेको स्थानका बेरोजगार युवाहरुलाई सुनाउदा उनीहरुलाई पनि त्यसरी नै पिरोलिए । तिनीहरुलाई सहकारी बारेमा जानकारी गराए । उनीहरुले पनि स्थानीय स्तरमा सहकारी सञ्चालन गरेर राम्रो प्रगति गरेका छन ।
सुरुमा अफिसले पठाएको ५ जिल्ला पछि मेरो जिम्मेवारी जताततै तालिम कै भयो । देशभरीका ३६ हजार भन्दा बढी सहकारीहरुमध्ये ५ हजार सहकारीलाई तालिम दिएको छु । यति तालिम दिनु भनेको नेपालमै पहिलो नम्बरमा पर्न सकिन्छ । तालिम दिएर मात्र होइन । बेरोजगार युवाहरुलाई थप टेवा पुग्ने गरी आफ्नो तालिम मार्फत १५ हजार बढीले प्रत्यक्ष सहकारीमा रोजगारी भएका छन् ।
जीवनमा सिक्नु भनेको समाजलाई सक्षम बनाउनु पनि हो । मलाई बिगतमा भएको पीडाको पछुतो छैन । मैले देशभरीका सहकारीहरुसंग डिल गर्ने मौका पाइरहेको छु । अरुलाई तालिममार्फत् ज्ञान बाँडिरहेको छु । बेरोजगारलाई रोजगार बारे बाटो सिकाउँदै छु । मेरो सम्पर्कमा आउने सबैलाई आफ्नो जिम्मेवारी सरह, ज्ञान प्राप्तभए अनुसार अरुलाई सल्लाह पनि दिएकै छु ।
पछिल्लो ५ वर्ष यता राजधानीमा प्रर्णाली बचत तथा ऋण सहकारी संस्थामा कर्जा अधिकृतको रुपमा काम गर्ने अवसर पाएको छु । सबैलाई धन्यबाद ।
फेसबुक प्रतिक्रियाहरु