शनिबार, साउन १२, २०८१
  • होमपेज
  • बिमा क्षेत्रमा उदाउँदो ‘नक्षत्र’
Breaking News

बिमा क्षेत्रमा उदाउँदो ‘नक्षत्र’

काठमाडौं । कुनै व्यक्तिको सफलताको सुरुवात सपनाबाटै हुन्छ भन्ने उदाहरण हुन् गोविन्द जोशी । सपना अपत्यारिला हुने तर परिवर्तनशील समयले पत्यारिला बनाइदिने घटना संघर्षमा निहित हुन्छन् । असम्भवजस्तो देखिने दुनियाँ पनि सम्भव निश्चित हुन्छ । सपना पूरा त्यसैको हुन्छ, जसले निरन्तर सपना देखिरहन्छ । त्यसैले मानिसलाई ताकतवरसमेत बनाइदिएको हुन्छ ।

सफलता शब्दमा “अ” उपसर्ग लागेर कहिलेकाँही “असफलता” को व्युत्पत्ति पनि हुन्छ । यहाँ “अ” ले विपरितता, भिन्नता, अभावजस्ता अर्थ बोक्छ । सपना पूरा गर्न परिस्थितिलाई आफ्नो अनुकूलताको बनाएर हिड्नुपर्छ । ‘परिस्थिति लाख प्रतिकुल होस् तर मनस्थिति सधैँ अनुकुल हुनुपर्छ,’ भनाई नै सफलताको खुट्किलो हो । यही सपनाको खुट्किलो चढिरहेका छन् गोविन्द ।

सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङमा निम्न परिवारमा जन्मेका जोशीको संघर्ष निकै कठिन छ । सहकारी संस्थामा काम गर्दा राजधानीका गल्ली गल्लीहरु चहारेका जोशी पछिल्लो समय सफल बिमाकर्मीको पहिचान बनाएका छन् ।

किशोरावस्था प्रवेशमै घर छोडेका जोशीले माद्यमिक तहबाटै उपत्यकाका विभिन्न विद्यालयमा पढ्ने अवसर पाए । सानैदेखिको हक्की स्वभावले नै अहिले बिमा क्षेत्रमा जोशीले ‘अब्बल अभिकर्ता’ संज्ञा पाएका छन् । अहिले उनी आइएमई लाइफ इन्स्योरेन्समा चिफ एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् ।

बिमा क्षेत्रमा प्रवेश गरेपछि आफ्नो जीवन केही फेरबदल भएको उनी सम्झन्छन् । ‘बिमामा जोडिएपछि पब्लिक रिलेशन बढ्यो, आम्दानीको क्षेत्र फराकिलो भयो । बिभिन्न तह र तप्काका मानिसहरुसँग पनि जनसम्पर्क बढ्दै गयो । जीवनमा कुनै पनि काम असम्भव हुँदैन भन्ने सुत्र नै फेला पारेर अघि बढेँ ।’ उनी भन्छन् ।

गोविन्दले काठमाडौं आउनुअघि गाडी मात्रै देखेका थिए । उनलाई साइकल किन्ने र चलाउने ठूलो रहर थियो । सहकारीमा काम गर्दा साइकल सपना पूरा गरे । तर, दुःख गरेर कमाएको साइकल चोरी भएपछि साइकल चढ्ने जाँगर पनि पलाएन भयो ।

बिमा प्रवेश गरेपछि जोशीले एक वर्षभित्रै पूरानो मोटरसाइकल खरिद गरे । त्यस साइकलले बीचबीचमा धोका दिन थालेपछि बिमाबाट प्राप्त हुने मोटरसाइकलको खोजी गर्न थाले । बिमितहरु बटुल्दै बिमा व्यापार बढाएपछि उनलाई नयाँ मोटरसाइकल प्राप्त भयो । केही समय मोटरसाइकलको यात्राले फेरि नयाँ सवारीको चाहाना देखायो । लगातारको मेहेनतपछि ४ वर्षको अवधिमै आफैँले गाडी किनेर हुँइकाइरहेका छन् ।

आफ्नै पौरख, मेहनत र संघर्ष गर्न हिच्किचाउने मान्छे सफलताको ढोकामा प्रवेश गर्न नसक्ने उनी बताउँछन् । उनी नेपालको अर्थतन्त्र कमजोर हुनुमा पनि नेपालीको मेहेनत, संघर्षमा नै कमी भएको उनी बताउँछन् । जोशी भन्छन्, ‘विकसित मुलुकले पहिला कमाउने त्यसपछि लगानी गर्ने, अनी बल्ल बचेको खर्च गर्ने गर्दछन् । तर, हामी नेपालीको बानी उल्टो छ । पहिला कमायौं, अनी खर्च गर्छौं, बचे गुचेको थौरै चाँही लगानी गर्छौं । हामी कति पछाडि छौ ? पैसालाई कसरी चलाउने भन्ने कुरा थाहा नहुँदा नै हामी नेपालीको आर्थिक स्थिति कमजोर भएको अवस्था छ ।’ उनको बुझाईमा पैसाबाट पैसा कसरी कमाउने भनेर नेपालीले सिक्न बाँकी नै छ । खान, फैसन, तडकभडमा मात्रै नेपाली सिमित भएको उनी बताउँछन् ।

के हो बिमा ?

जोशीका अनुसार बिमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो । बिमा गर्दा बिमित (बिमा गर्ने व्यक्ति) र बिमक (बिमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । बिमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बिमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बिमा हो । उनी भन्छन्, ‘भोलिको बारेमा हामी सबै अञ्जान छौं । कसलाई थाहा छ र भोलि ? अचानक जे पनि हुन सक्छ !
भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन जे पनि हुन सक्छ । हामीलाई थाहा छैन । मानवीय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जँहितहि सल्बलाइ रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन सक्छ । अथवा दुर्घटना अनिश्चित छ । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने उपयुक्त माध्यम भनेको बिमा हो ।’

बिमाको बारेमा कतिपय मान्छेहरुले बुझेका भए पनि कतिपयलाई थाहा छैन । कतिपयको सोच छ कि बिमा भरिदिने व्यक्तिलाई मात्रै फाइदा हुने हो । यस्तो सोच भएका अभिकर्ताहरू पक्कै पनि सफल नहुने उनी बताउँछन् । बिमा समितिलाई पनि सक्षम अभिकर्ता उत्पादन गर्न जोशी सुझाव दिन्छन् ।

पछिल्लो समय धेरै युवाहरुको आकर्षण वित्तीय क्षेत्रतिर बढ्दै गएको छ । बदलिँदो परिवेश र महँगीमा अर्थतन्त्र अति आवश्यक हुने हुँदा युवाहरु बैंक, वित्तीय संस्था, सहकारी तथा बिमा संस्थाहरुमा स्थापित हुन थालेका हुन् । विभिन्न व्यवसायसँग सम्बन्धित अर्थात् बीबीएस, बीबीए लगायतका विषयहरुलाई मुल विषयको रुपमा अध्ययन गरिरहेका युवाहरुको चाँसो वित्तीय क्षेत्रमा बढ्दै गएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार