आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • ‘कांग्रेसको दमन नीति सहन सकिन, छान्नाबासीकै आग्रहमा स्वतन्त्र उम्मेदवारी दिएको हुँ’
Breaking News

‘कांग्रेसको दमन नीति सहन सकिन, छान्नाबासीकै आग्रहमा स्वतन्त्र उम्मेदवारी दिएको हुँ’

काठमाडौं । नेपाली कांग्रेस बझाङका पुराना नेता हुन् डम्बर रोकाया । करिब साढे तीन दशकदेखि राजनीतिमै आवद्ध रहँदा पार्टीले आफूलाई अन्याय गर्दै आएको उनको गुनासो छ । पार्टीको हरेक निर्णयमा आफूले सहमत जनाउने तर, पार्टीले आफूलाई हरेक जिम्मेवारीबाट अलग गर्ने गरेका कारण आफू स्वतन्त्र हुनुपरेको उनको दाबी छ ।

आगामी ३० गते हुने निर्वाचनका लागि पनि नेपाली कांग्रेसले खप्तडछान्ना गाउँपालिकाको अध्यक्ष पदका लागि रोकाया सहित ११ जनाको नाम पनि सिफारिस गरेको थियो । आकांक्षी धेरै भए पनि रोकायाको नाम अन्तिम तीन जनाभित्र परेको थियो । मध्येराति पार्टीले एकल निर्णय गर्दै रोकायाको नाम हटाएर फरक व्यक्तिलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरे । तिनै खप्तडछान्ना गाउँपालिकाको स्वतन्त्र उम्मेदवार डम्मरबहादुर रोकायासँग तेस्रो ध्रुव डटकमले गरेको कुराकानीको सम्पादित अंश :

खप्तडछान्नामा तपाईंको स्वतन्त्र उम्मेदवारी किन ?

नेपाली कांग्रेसको पटक–पटक दमन नीतिका कारण मैले बाहिरिनु परेको हो । म २०४६ सालदेखि कांग्रेस आबद्ध भएर पार्टीलाई माथि उठाउन निरन्तर खटेको हुँ । पार्टीलाई मेरो तर्फबाट गर्न सकिने हरेक कामहरू संगठन विस्तारदेखि कार्यकर्तालाई चलायमान बनाउन रातदिन खटेको पनि यहाँहरू सबैलाई अवगत नै छ । यति गर्दा गर्दै पनि पार्टीले मलाई हरेक अवसरबाट बञ्चित तथा दमन गरेको हुँदा मैले बाध्य भएर स्वतन्त्रमा उम्मेदवारी दिएको हुँ ।

तपाईको राजनीतिक पृष्ठभूमि के हो ?

मैले २०४६ सालबाट नेपाली कांग्रेसमा आवद्ध भइ काम गरेको हुँ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको नेतृत्वमा चलेको आन्दोलन विभिन्न जिल्लाहरुमा पनि चर्केको थियो । त्यस बेलामा हामीहरू पनि क्रियाशिल रूपमा आन्दोलनमा सहभागी भएका थियौं । त्यसपछि मैले पार्टीले खटाउने संगठन निर्माणदेखि कांग्रेसमा कार्यकर्ता प्रवेश गराउने लगायतका जिम्मेवारीलाई पूरा गर्दै आएको थिएँ । अहिलेसम्म पार्टीले स्वयंसेवकको रूपमा मात्रै हे¥यो, अन्य कुनै जिम्मेवारी दिन उचित नठानेपछि बाध्य भएर म पार्टीबाट अलग भएको हुँ । मैले पार्टी नराम्रो मानेर त्याग गरेको होइन, पाटी भित्रका कार्यकर्ताको दमन शैलीले हामी जस्तो क्रियाशिल कार्यकर्ता पार्टीमा रहन नसुहाउने रहेछ भनेर त्यागेको हुँ ।

राति १२ बजेसम्म मेरो टिकट सुनिश्चित हुँदा हुँदै पनि मेरो टिकट छिनियो । २०७४ सालको चुनावमा पनि दिनभरी टिकट मेरो थियो । अर्को दिन २० गते मेरो टिकट क्यान्सिल भयो । यसरी पाटीले दबाई राख्दा मैले यो पार्टीमा अनुशासन रहेनछ भन्ने ठानेर मैले आफ्नो स्वतन्त्र उमेद्वारी दिए । अब आम दाजुभाईलाई निडर भएर देश विकासका लागि काम गर्ने छु । जिम्मेवारीमा पुग्यो भने कुनै पनि सरकारी तलब भत्ता सेवा सुविधा लिने छैन । स्वतन्त्र विचार धाराबाट काम गर्नेछु । समाजका हरेक नागरिकको जस्तै हैसियतमा रहनेछु ।

तपाईको जित्ने आधार के छ ?

पार्टी भित्रका सदस्यले विपक्षीको त विरोध गर्दै गर्लान् । तर, कांग्रेसभित्रै पनि विद्रोही कांग्रेस छन् । आत्माले सबैले खोल्न नसके पनि भित्रबाट अधिकांश कार्यकर्ता पार्टीभित्र गलत व्यक्ति छन् भन्ने बुझिसकेका छन् । छान्नाबासीलाई मेरो बारेमा थाहा नै होला, म मेरो आनीबानी के छ, कस्तो छ भनेर । सबै ठाउँबाट साथ सहयोग पाएको छु ।

आश्वासन पाएको छु । यस्तो दमन नीतिमा कोही पनि बस्न सक्दैन भनेर सहयोग गर्ने बाचा गरेका दाजुभाइको माया ममताले मेरो जित्ने आधार म पक्कै देख्छु । धेरै ठाउँमा दमन नीतिले केही हुँदैन भन्ने मतदाताबाटै आश्वासन पाएपछि म अघि सरेको हुँ । मेरो ६३ वर्षे जीवनमा अहिलेसम्म गरेका काम, सहयोग तथा समर्थनले यसपटक छान्नाबासीको सुनौलो भविष्य कोर्न सपनाका साथ निर्वाचनमा होमिएको छु । गाउँगाउँमा जाँदा पनि त्यस्तै समर्थन बटुलेको छु । यही हो मेरो जित्ने आधार ।

सामाजिक क्षेत्रमा तपाईको योगदान ?

समाजप्रति मेरो योगदान छान्नाबासीलाई अवगत नै छ । सार्वजनिक पदमा होस् या नहोस् समाजमा मैले सकेको, जानेको, बुझेको सहयोग हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । त्यसका अलावा सार्वजनिक पदमा पुगेका आम छान्नाबासी दाजुभाई तथा दिदीबहिनीको मुहारमा खुसी ल्याउनका लागि काम गर्थे ।

अहिले पनि त्यत्रो गाउँपालिका भवन निर्माणका लागि हामीले नै निःशुल्क जमिन उपलब्ध गराएका हौं । हाम्रो खेतीयोग्य जमिन भए पनि सरकारी निकाय हाम्रो ठाउँमा आए सहयोग गर्नुपर्छ भनै जमिन उपलब्ध गराएका हौं । प्रहरी चौकीका लागि हाम्रै परिवारले जमिन दिएका छौं । कृषि भवन बनाउन पनि हामीले नै खेतीयोग्य जमिन मासेर निःशुल्क दिएका हौं ।

अस्पताल निर्माणका लागि पनि सबै दाजुभाई दिदीबहीनीलाई थाहा नै छ । मेरै ४ नम्बर वडामा शिलान्यास भएको छ । यसरी सहयोग गर्दा कसैलाई तलमाथि नहोस्, छान्नाकै बीच सेन्टर पर्ने भएकोले आफ्नै भात खाने थाल दिएर पनि जनताको सेवा गर्न मैले त्याग गरेको हुँ ।

स्वतन्त्रबाट उमेद्वारी दिएपछि पार्टीले कारबाही गर्ला नी !

कारबाही त मेरो त्यसै भइसक्या छ । २०४६ देखि निरन्तर रूपमा लाग्दा २०५४ सालमा क्षेत्रपालको टिकट दिने भनेर आश्वासन दियो, त्यो पनि पछि अर्कोलाई दियो । बीचबीचमा सार्वजनिक पदका लागि पार्टीले त्यस्तै रोल खेल्यो । २०७४मा पनि मैले अध्यक्ष जीलाई सम्मानका साथ तपाई लडनुहोस्, अर्को पटक बरू मलाई सहयोग गर्नुपर्ला भनेर उहाँलाई सहयोग गरेँ । त्यो बेलामा मैले वडाध्यक्षमा पनि उमेद्वारी दिए । त्यो बेला पनि त्यसै बदमासी भयो । यसपटकको बदमासीमा भने मैले सहनै नसकेर पाटी त्यागे । अब पाटीले कुनै कारबाही गरे पनि मतलब छैन, चिन्ता छैन । बरु जनताले कारबाही गरे सहुँला ।

एक दिन पत्रकार सम्मेलन गरेर मैले ६/७ महिना पहिला घोषणा गरिसकेको थिए । म निष्पक्ष रूपले कुनै पनि सरकारी सेवा सुबिधा नलिएर पार्टीको दिएको काम गर्न सक्छु भने । ६/७ महिना पहिले पत्रकार उत्तमकुमार थापासहितका पत्रकारहरुसँग बसेर पत्रकार सम्मेलन गरी उम्मेदवारी दिने घोषणा गरिसकेको थिएँ । यति गर्दा गर्दै पनि पार्टीले यस्तो धोका दिएपछि म स्वतन्त्रबाट लड्न बाध्य भए । पार्टीले अब कारबाही गरे गरून् । घरबाट निकाल्ने कोही छैनन् । स्वतन्त्र बस्ने मेरो अधिकार हो । त्यसैले म स्वतन्त्र बसेको हुँ ।

खप्तडछान्नामा तपाईंले जित्नुभयो भने के–के गर्ने योजना छ ?

मैले आन्तरिक डाटा बनाइसकेको छु, अहिले सबै भन्न सम्भव छैन । जनताको हर भावना बुझेर, पक्ष विपक्ष नभनेर, सर्वपक्षीय बैठक बसालेर उहाँहरूको योजनाअनुसार नै अगाडि बढ्ने सोच छ । मैले जितिसकेपछि आफ्नो बुद्धिविवेकले भ्याएसम्म खप्तडछान्नाको विकासका लागि रातदिन खटिनेछु । यदि जनताले स्वीकारेनन् भने पनि मेरो समाजप्रतिको सहयोग, सद्भाव, माया, ममता सदैव कायम रहनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार