बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • शिक्षकलाई विद्यालय स्वास्थ्य तथा पोषणसम्बन्धि तालिम
Breaking News

शिक्षकलाई विद्यालय स्वास्थ्य तथा पोषणसम्बन्धि तालिम

बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिकामा शिक्षकहरूलाई आजदेखि विद्यालय स्वास्थ्य तथा पोषणसम्बन्धि तालिम दिइएको छ । भोलिसम्म चल्ने उक्त तालिममा गाउँपालिका भित्रका ३६ विद्यालयका शिक्षकलाई तालिम दिइएको हो ।

विद्यालयका बालबालिकाहरूको शारीरिक, मानसिक, संवेगात्मक र शैक्षिक स्तर विकास गर्ने उद्देश्यले सुरू गरेको तालिममा विद्यालयका लागि शिक्षकलाई विभिन्न शैक्षिक सामाग्रीसहित प्राथमिक उपचारका लागि किट बक्ससहित वितरण गरिएको एकीकृत विकास समाज नेपाल (आइडीएस) का जिल्ला संयोजक सुरेन्द्र जैरूले बताए ।

‘विद्यालयमा वार्षिक रूपमा बालबालिकाले करिब २२० दिन बिताउँछन्,’संयोजक जैरूले भने, ‘दैनिकजसो ६/७ घण्टा बालबालिकाहरू शिक्षककै जिम्मेवारीमा रहने हुँदा बालबालिकाको शारीरिक, मानसिक तथा शैक्षिक विकासका लागि शिक्षकले नै बढी ध्यान दिनुपर्ने हुन्छ ।’ बालबालिकाको सर्वाङ्गीण विकासको लागि सबै निकायले हातेमालो गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा गाउँपालिका प्रमुख अक्कलबहादुर धामीले विद्यालयमा लागू भएका सबै कार्यक्रमहरू सही ढंगले कार्यान्वयन हुनुपर्ने बताए । ‘गाउँपालिका भित्रका विद्यालयहरुमा साझेदारी विभिन्न संघसंस्थाले लामो समयदेखि काम गरिरहेका छन् । तर, शैक्षिक गुणस्तर भने माथि उठ्न नसकेको गुनासो आइरहन्छ ।’ त्यसलाई सम्पूर्ण शिक्षकहरूले ध्यान दिनुपर्ने उनले बताए ।

विद्यालयमा लागू गरिएको दिवा खाजा पनि अर्गानिक हुनुपर्ने उनले बताए । उनले भने, ‘दिवा खाजाका लागि विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले सहयोग गरेको बेला नै गाउँपालिकाले बालबालिकाको लागि अर्गानिक उत्पादनलाई नै प्राथमिकता दिन जोड दिएका थियौं ।’ आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

स्वास्थ्य र शिक्षा एक अर्कामा अन्योन्याश्रित विषय भएको भन्दै विद्यालय जाने उमेरका बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको स्तर सुधार गर्ने जिम्मेवारी विद्यालयको पनि भएको शिक्षा अधिकृत हरिचन्द्र कडायतले बताए । उनले भने, ‘बालरोगको उच्च संक्रमणले विद्यालय जाने उमेरका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै सुरू गरिएको विद्यालय स्वास्थ्य पोषण कार्यक्रम देशैभर लागू भएको बताए । ‘सामुदायिक विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप पनि बढ्दै गएको छ ।’ उनले भने ।

जिल्लाका विभिन्न विद्यालयमा दिवाखाजाको व्यवस्था गरेपछि विद्यार्थीको संख्या बढेको तालिममा सहभागी शिक्षकहरुले बताउँछन् । विद्यालयमा दिवा खाजा सञ्चालन गरेपछि अभिभावकमा समेत बालबालिकालाई विद्यालय पठाउने उत्सुकता जागेको शिक्षकहरूको तर्क छ ।

सन् १८३२ मा जोन होराक मानले सार्वजनिक गरेको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अवधारणापछि विश्वका विभिन्न मुलुकमा यो कार्यक्रम लागू भएको हो । सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि विसं २०७३ मा स्थानीयस्तरमा उपलब्ध हुने खाद्य पदार्थ विभिन्न संघ संस्था तथा स्थानीय तहले उपलब्ध गराउँदै आएका छन् ।

सो कार्यक्रमअन्तर्गत आइडीएस नेपालले विद्यालयमा सरसफाइ, चर्पी भवन निर्माण तथा मर्मतसम्भार गर्दै आएको जिल्ला संयोजक जैरूले बताए । उनका अनुसार आइडीएस नेपालले विद्यालयहरूमा विद्यार्थीलाई हात धुने, साबुन प्रयोगलगायत सरसफाइसम्बन्धी जनचेतना जगाउनेलगायतका काम गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार