रेखा कलौनी
आजकाल निर्जीव वस्तुसँग मेरो सामीप्यता बढेको छ। करिब दुई वर्ष हुँदैछ, मैले निर्जीव वस्तुहरुलाई माया गर्न थालेको। उनी गएदेखि मैले सजीव भन्ने कुनै पनि चिजसित माया गर्दै गरिनँ।
म आज तिमीलाई यो पत्र कोर्दैछु। यो पत्र कोरेर मैले तिम्रो व्यक्तिगत जीवनमा धक्का लगाउन चाहेको त हैन तर यो निर्दोष मन बढी चलायमान भयो। त्यसैले कलम र मन भित्रका बोझिला अनि चोटिला भावनाहरु पोख्नुबाहेक अरु विकल्प पाइनँ। यतिसम्मको अधिकार त दिन्छौ होला नि हैन?
तिमीले त मलाई बिर्स्यौ होला है? मैले पनि तिमीलाई बिर्सने कोसिस नगरेको कहाँ हो र। कयौँ कसम खाएँ तिमीसित बोल्दिनँ, तिम्रो बारेमा सोच्दिनँ, तिमीलाई यो मनमा आउन दिन्नँ भनी, तर सबै कसम झुटा साबित भए। मैले चाहेर पनि तिमीलाई भुलाउन सकिनँ, मैले खानुसम्म कसम खाएर पनि आफैसित हारेँ, सायद तिमी त मलाई अब चिन्दिनौ होला है? तिम्रो आफ्नै संसार होला?
म अझै पनि तिमीप्रति कति समर्पित छु? हिजोभन्दा पनि कयौं गुणा बढी। आज पनि तिमी प्रतिको माया, मोहहरु प्रगाढ रहेको छ। खै किन मान्दैन मन जसलाई सम्झेर मन दुखाउनु मात्र हो। मन बराल्नु मात्र हो। आकाशको जुनलाई छुने सपना, सपना मात्र हो भन्ने जान्दाजान्दै पनि फेरि किन त्यही सपना बारम्बार बोकी रहन्छ मेरो यो मन?
तिम्रा यादहरुलाई संगालेर राखेको थिएँ, नपोखिने गरी बिर्को लाएको थिएँ, तर पनि कता-कता बिर्को लगाइराख्दा मलाई नै सास फेर्न गाह्रो भएको महसुस भयो। मुटुमा केही गरुङ्गो वस्तु राखेको भान भयो, मेरो कुरा सुन्ने कोही थिएन अनि त्यसैले कापी र कलम सित तिम्रो बारेमा व्याख्या गर्न मन लाग्यो।
तिमी मेरो संसार हौ, दुई आँखाको नानी हौ। कोही वर्षौंदेखि साथमा भएर पनि कुनै किसिमको साथ र साथीको कल्पना गरिदैन तर कोहीछिनमै भेटिन्छन् र जीवनभरको साथ र साथीको कल्पना गरिन्छ। मैले छिनमै कल्पना गरेको मान्छे हौ तिमी त, तिम्रा आँखा मेरो आँखामाथि ठोकिदाँ नै मेरो माया मुटुको कोणबाट छचल्किन सुरु गर्छ तिम्रा निम्ति। मैले तिमीलाई त्यसै बेलादेखि माया गर्न सुरु गरेको हुँ जुन बेला तिमी मेरो कक्षा कोठामा पहिलोपल्ट प्रवेश गरेकी थियौ।
तिमीले त्यो दिन पिंक कलरको सर्ट, कालो मेडी र कालो जुत्ता लगाएर म भएको कोठामा प्रवेश गरेकी थियौ। तिमीले त्यो दिन लगाएको ड्रेस मेरो फेब्रेट ड्रेस थियो। ड्रेससँगै मान्छे पनि मेरो फेब्रेट बनेछौ क्षणमै, मैले थाहै पाइनँ।
मेरो क्लासमा सरले पहिलो पिरियड गणित पढाइराख्नु भएको थियो। तिमी त्यही बेला मेरो कक्षा कोठामा आफ्नो दिदीको कक्षा कोठा हो भनी छिरेकी थियौ। तिमीलाई याद छ त्यसपछि मेरो कक्षाभरिका साथी तिमीमाथि गिलिल्ल हाँसेका थिए, तर म भने तिम्रो कोमल नयनमा हराएको थिएँ। त्यसैबेला तिमी ‘सरी’ भनी फुत्त बाहिर निस्कियौ।
त्यसपछि मेरो आँखाको दृष्टि पुग्नेसम्म म तिमीलाई हेरिरहेको थिएँ, तिमी फुरुक्क फर्केर हेर्दै अर्को कक्षा कोठा तिर विलीन भयौ। तिमी को हौ मलाई त्यसै दिन जान्न मन थियो तर समय परिवेशअनुसार चाहेर पनि तिम्रो बारेमा जान्न सकिनँ।
मानिसको जीवनको सबभन्दा ठूलो सम्पत्ति भनेको माया रहेछ। माया पवित्र हृदयको अन्तर्घुलन रहेछ। मायाको परिभाषा न त लेखेर नै लेखिँदो रहेछ, न त जोखेर जोखिँदो रहेछ, न त मासेर नै मासिँदो रहेछ, न त माया गरेर नै थाकिँदो रहेछ। मायाको अभावमा जोसुकैको जीवन पनि मृत्यतुल्य बन्दो रहेछ। मायामा कति ठूलो शक्ति हुँदो रहेछ मैले पहिलो चोटि अनुभव गरेँ।
उसले मलाई छोडेर गएदेखि म एक्लो भएँ, एक्लो मात्रै हैन सहारा विहीन नै भएँ। मभित्र ऊ छँदा उत्पन्न हुने उर्जाशक्तिको पनि नाश भएछ। ऊ जीवनमा रहुन्जेलसम्म एकतमासको चमत्कार नै भएको थियो तर अहिले कारागारमा भएको एक कैदीबन्दी झैँ भएको छु म, चारैतिर अन्धकार नै अन्धकार छ।
आजभोलि मेरो सहारा मेरो कोठाका चार दिवाल र कोठाभरि भएका निर्जीव वस्तु मात्रै भएका छन्। म मेरो पीडा, दुःख ती निर्जीव वस्तुसित मात्रै पोख्छु किनकि उनीहरु मेरो दुःखपीडाको फाइदा उठाउँदैनन्। मेरो दुःखपीडा मेरो कमजोरी हो भनी ठान्दैनन्। बस् सुनिरहन्छन्।
प्रिय मान्छे,
म तिमीलाई अगाध माया गर्छु। प्रेमिल जीवनमा यथार्थताको पछ्यौरी ओढेर, ओठभरि उषाको रंगिन लाली पोतेर, हर्ष र हृदयदेखिको मुस्कान यत्रतत्र पोखेर मन मस्तिष्कैदेखि म तिमीलाई निःशब्द जन्मौ जन्मसम्म माया गर्छु। कहिल्यै नओइलाउने दुबो र मखमली फूलजस्तै, कहिल्यै नबदलिने बिहानीको सूर्यजस्तै, साँझपख बहने शीतल पवनजस्तै, कहिल्यै नमेटिने समयको गतिजस्तै अनन्त अनन्तकालसम्मलाई माया गरिरहन्छु।
तिमी त त्यो आकाशको जुन भयो जो म चाहेर पनि छुन सक्दिनँ न त छुने हिम्मत नै राख्न सक्छु। मान्छेको जीव यस्तै रहेछ क्यारे, आफूले चाहेको मान्छे कहिले आफ्नो नहुने र आफूलाई चाहने मान्छेलाई आफ्नो बनाउन मन नै नलाग्ने। खै! कस्तो हो यो मन बुझ्नै सकिएन।
पाचँ वर्षपछि मैले उसलाई दोस्रो पटक एउटा महोत्सवमा देखेँ। त्यो बेलासम्म त ऊ पनि ठूली भइसकिछ, मैले उसलाई कक्षा आठमा पढ्दै गर्दा देखेको थिएँ। फेरि अर्को दिन देखेँ, कति राम्री हो कति!
ऊ दोस्रो दिनको दृश्यमा पनि पिंक कलरकै ड्रेसमा थिई। त्यो दिन पिंक कलरको सारी लगाएकी थिई, ठूला आँखा, आँखामा फिक्का-फिक्क गाजल पोतेकी, ठूलो निधार, निधारमा कालो टीका लगाएकी, पिपलपाते ओठ, ओठमा गुलाब कलरको लिपिस्टिक लगाएकी, चम्किला गाला, लामो नाक, नाकको बायाँपट्टि नथिया लगाएकी थिई। आहा! कति सुन्दर फूल हो।
एकचोटि भगवानलाई मनैमनले धन्यवाद दिएँ यति राम्रो फूल मजस्तो प्रेमिल मान्छेको लागि पठाएकोमा। उसको मनमा के भयो कुन्नी मलाई थाहा भएन तर मेरो मनमा उसको निम्ति गितार बज्न थाल्यो। महोत्सव लागेको ठाउको दायाँपट्टि उनी थिइन्, म बाँयापट्टि थिएँ। मैले उनलाई फलो गर्न सुरु गरेँ। म उनी भएको ठाउँमा पुगेँ, उनको छेउमा मेरो गाउँले दिदी हुनुहुन्थ्यो। मैले नदेखेँ झैँ गर्दै थिएँ तर दिदीले देखिहाल्नु भएछ।
उहाँले बोलाउनु भयो, ‘सुकुमार, तिमी कति बेला आयौ?’
म अलि डराए झैँ गर्दै ‘ए ए… दिदी, म भखर्रै आएँको हजुर कतिबेला आउनु भो?’
‘म पनि केही अघि आएको अनि तिमी एक्लै हो सुकुमार?’
‘हैन दिदी, साथीहरु पनि छन् अनि हजुर नि?’
‘म र बहिनी।’
दिदीले बहिनी भन्दा म अक्क न बक्क भएँ किनकि उहाँ दिदीको आफ्नो बहिनी थिइन। अनि उहाँको छेउमा मैले माया गर्ने मान्छे उभिएकी थिई। फेरि मैले प्रश्न गरेँ, ‘को बहिनी दिदी? हजुरको बहिनी छ र?’
‘नाई, मामाको छोरी आएकी छ सहरबाट, उसैसित आएको।’
‘ए ए.. उहाँ हो?’ भनेर इसारा गर्दै देखाएँ। दिदीले ‘हो हो, भाइ’ भन्दै कुराको बिट मार्नुभो। मलाई त्यसपछि थाहा भयो उनी मेरो स्कुल आएको बेला रक्षा दिदीको कक्षा कोठा खोज्दै रहेछिन् भनेर।
म केही समय त्यही नजिकै उभिरहेँ। एकछिनमा केही परबाट एकजना व्यापारी ‘गुडिया ले लो’ भन्दै आए। दिदीले उसको नाम पुकार्दै भन्नुभयो, ‘राधा, त्यो परको गुडिया हेर त कति राम्रो छ!’
उसले के भनी त्यो महोत्सवको होहल्लाले मैले केही बुझिनँ। महोत्सव सकिएपछि म घर आएँ। घर आए पनि मन मस्तिष्कमा उसैको तस्बिर नाचीरह्यो। बेलुकाको खाना खाएपछि सुत्न भनी पल्टिएँ तर आँखा खोल्दा चिम्लिदाँ उसैलाई मात्रै देख्न थालेँ। निन्द्रा पनि कता गायब भयो पत्तो भएन।
एकछिन मोबाइलमा डेटा अन गरेँ र फेसबुकका पाना पल्टाउँदै थिएँ। यतिकैमा एकजनाको फ्रेन्ड रिक्वेस्ट आयो। हत्तपत्त हेरेँ, केटीको पो रहेछ। कहिले केटीको रिक्वेस्ट नआउने मलाई त्यो दिन आएको देखेर अच्चम परेँ।
यसो प्रोफाइलमा गएँ। नाम राधा, फोटो उही पिंक कलरको सारीमा सजिएको थियो। प्रोफाइल फोटो पुरै ओपन गरेँ त मेरी राधा पो रहेछ। त्यो क्षण मेरो लागि संसारकै सबैभन्दा ठूलो खुसी प्राप्त गरेको क्षण थियो। झट्ट फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेँ र हेलो भनी म्यासेज छोडेँ। उनी पनि अनलाइन नै रहेछिन्, म्यासेजको जवाफ तुरुन्तै आयो ‘हजुर’ भनेर।
मैले उनलाई सन्चो बिसन्चो लगायतका थुप्रै कुरा सोधेँ। अनि आजभन्दा पाँच वर्ष पहिले पनि हाम्रो देखादेख भएको कुरा सम्झिएँ। उनलाई पनि त्यो कुरा याद रहेछ। यस्तै सामान्य कुरा गर्दागर्दै त्यो दिन राति एक बजेपछि हामीले सुत्ने निर्णय गर्यौं। राति दुवै जना मोबाइलको सामीप्यताबाट टाढा भयौँ।
यसैगरी अर्को रात पनि हामीबिच च्याटिङ चलिरहेको थियो, उनलाई मैले घर परिवारको बारेमा सोधेँ। उनको घर सहरमा रहेछ, उनी एक सुसम्पन्न डाक्टरकी छोरी रहेछिन्। उनका आमा-बुवा दुवै जना पेसाले डाक्टर रहेछन्, उनी पनि एचए कोर्स गर्दै रहेछिन्।
उनीसँगका ती मिठा सम्वाद मेरो लागि आजभोलि बाच्ने सहारा बनेको छ। उनी सितको भौतिक सामीप्यता घटे पनि मन र उनीसँग बितेको पलको सामीप्यता भने आज पनि ताजै छ। मैले निर्जीव वस्तुहरुलाई जति नै माया गरे पनि आखिर म यो सब उनलाई भुलाउन गरिरहेको छु तर पनि म भुल्न सकिरहेको छैन।
मेरो आत्माले उसलाई नै मेरो जीवनसाथी रोजिसकेको थियो। उसको अनुपस्थिति बिनाको जीवन मेरो लागि कुनै पनि हालतमा स्वीकार्य थिएन। त्यो बेला जानी-जानी भनुँ या अन्जानबस् हामी दुईबिच जे निर्णय भयो सही भएको थियो। धर्ती र आकाश साक्षी राखी हामीले एकअर्कामा कहिल्यै नछुट्टिने, सँगै मर्ने सँगै बाँच्ने कसम खाएका थियौँ।
दोस्रो च्याटमा हामीले मोबाइल नम्बर पनि साटासाट गर्यौं, उनले आफ्नो नम्बर पठाउने बित्तिकै मलाई उनको बोली सुन्न मन लागिरहेकाले कल गरुँ भनी प्रश्न गरेँ, तर उनले दिदी सँगै सुतेकाले नगर्न अनुरोध गरी। मैले भोलि बिहान गर्छु है भनेँ। उनले हस् भनी। त्यो दिन हामीले धेरै कुरा गरेनौँ। एघार बजेसम्म मात्र कुरा गर्यौं।
यसरी नै हाम्रा मायाका दिन सुरु भए। दिनमा हामी पानी भर्ने निहुँमा पानी कुवामा भेट गर्थ्यौं। एकछिन भए पनि एकअर्काको आँखाको भाव पढेर आनन्द लिने गर्थ्यौँ। उनी सितका ती पाँच दिनले नै पाँच हजार वर्ष पुरानो सम्बन्धको गहिराइमा पुर्यायो।
उनी आफ्नो फुपूको घर पाँच दिनको लागि आएकी थिइन्। पाँच दिनपछि उनले सहर जाने कुरा गरिन्। मलाई भने उनको सहर जाने कुराले आहात बनायो। नजाऊ भन्न पनि सक्दैन थिएँ। उनको घर-परिवार, पढाइ सबै सहरमै त थियो म कसरी रोक्न सक्थेँ र?
अन्ततः उनी आफ्नो घर जाने दिन पनि आयो। मिलनको पल कति मिठो र प्यारो हुन्छ है? बिछोडको पल किन आउँदो होला? मलाई उनी आफ्नो घर जाँदा मेरो दायाँ हात नै सदाको लागि मबाट गएको जस्तो महसुस भइरह्यो। बायाँ हातले आँसु पुछ्दै उनलाई बिदाइ गरेँ। उनले जाँदै गर्दा हामी जतिसक्दो चाँडो फेरि मिल्ने छौँ भनिन्।
उनले मबाट पहिलोपल्ट छुट्टिएर जादाँ गुडिया उपहार दिएर गइन्, मेरो मन थाम्न उनले मलाई बेलाबेला फोन गरिहने वाचा खाएर गई। उसलाई हेर्न म लुकी-लुकी गाडी आउने ठाँउसम्म पुगेको थिएँ, उ गाडीमा बसेपछि म उसको चढेको गाडी मेरो दृश्यबाट विलीन हुन्जेलसम्म हेरी रहेँ अनि मनमा माया र हातमा मायाको चिन्हो लिएर म घर फर्किएँ।
यस्तै दिनहरु बित्दै गए, हाम्रो माया गहिरो बन्दै गयो। उनीसित मेरो घण्टौँ कुराकानी हुन्थ्यो। कहिले त कुरा गर्दागर्दै बिहानको पाँच बजेको समेत थाहा पाउँदैन थियौँ। उनी सित एक जादु थियो कि जति कुरा गर्दा पनि मलाई थाकेको महसुस नै नहुने, उनी सित जति कुरा गर्दा पनि म अघाउँदैन थिएँ, सायद उनी पनि।
मैले गाउँकै कलेजबाट कक्षा बाह्र पास गरेँ, त्यसपछिको पढाइ गर्न मैले सहर जानु नै थियो र यसै बहानामा मेरो मायासित पनि भेट हुने संयोग थियो। त्यसपछि मैले सहर गएर ब्याचलर गर्छु भनी घरमा सल्लाह गरेँ। बाबाआमाको एक्लो छोरा म, उनीहरु पनि मलाई आफ्नो आँखाबाट टाढा राख्न चाहन्नथिए। तर मेरो पढाइकै लागि भए पनि मैले गाउँ छोड्नु नै थियो। आमाबुबाको बुढेसकालको लठ्ठी म आफ्नो माया पाउने र ब्याचलर गर्ने भनी उनी बस्ने यो सहर पसेको थिएँ।
साँच्चै आमा-बाबाबाट छुटिँदा खुबै पीडा हुँदो रहेछ। मैले एकछिन देखेको मान्छेबाट छुट्टिन त मलाई कस्तो गाह्रो भएको थियो भने वर्षौंदेखि सँगै बसेका भगवानरुपी आमाबुबालाई छोडेर टाढा जाँदा कसको मन नरुँदो होला? म पढाइको सिलसिलामा काठमाडौं सहर आएको हुँ जहाँ मेरी मायालु पनि थिइन्।
यो सहर आउने त केवल पढाइ बहाना थियो, खास म मेरी मायालुको निम्ति यो सहर छिरेको थिएँ। उनी बस्ने यो सहर कति ठूलो हो कति। हुन त मेरो देशको राजधानी नै यही हो। यहाँ सबै किसिमका मान्छे बस्ने गर्दछन्। राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर अशक्त गरिब मान्छे बस्ने सहर पनि यही हो।
ब्याचलर र मास्टर डिग्री मैले यही सहरमा बसेर गरेको हो। यो मेरो ब्याचलर पढ्दै गर्दाको कहानी हो। म त्यो दिन गाउँबाट सहर आएँ, सहर पुग्नेबित्तिकै मैले उसलाई कल गरेँ। ऊ मलाई रिसिभ गर्न बसपार्क आएकी थिई। हामी बसपार्कबाट सँगै गयौँ। उसले मेरो लागि कोठा खोजिसकेकी रहेछे। मलाई लिएर ऊ त्यो कोठासम्म पुगी अनि मलाई ‘यो तपाईंको कोठा हो, यहाँभन्दा १० मिनेट अगाडि गएपछि तपाईंको कलेज आउँछ।’
कलेज नजिकै मेरो रुम खोजेकी थिई। त्यसपछिका केही वर्ष मेरा सुखमय बिते। मसित सबै कुरा थियो, मेरी माया, पढाइ, पैसा, सुख, शान्ती सबै। पढाइसँगै मैले सानो जागिर पनि गर्न थालेँ। मलाई लाग्थ्यो म संसारकै सबैभन्दा खुसी व्यक्ति हुँ। भगवानले त्यो खुसी केही दिनलाई दिएको हो भने कुरा मलाई के थाहा?
मेरो पढाइ राम्रो थियो। अनि साथमा मेरो शक्ति थियो, उर्जा थियो, प्रेरणा थियो, मेरी माया थिई त सबैथोक थियो। हामी बिदामा घुम्न जाने गर्थ्यौं। घुम्न जाने हाम्रो ठाउँ भनेको पशुपति मन्दिर र टुँडिखेल हो। हामी बढीजसो पशुपति मन्दिर तिर नै जान्थ्यौँ किनकि हामी दुवैजना शिव भगवानका भक्त थियौँ। बिदाको दिन हामी पशुपति मन्दिर जान्थ्यौँ। मन्दिर पुगेपछि हामी रोकिथ्यौँ। एकछिन दुवैजना मूल गेट तिर जान्थ्यौँ। उनी भगवानलाई ढोग्थिन्, म भने उनलाई ढोग्थेँ।
अनि गेट बाहिर आउँदा उनी मलाई प्रश्न गर्थी, ‘सुकुमार, तपाईंले के माग्नु भो?’
म भने उनको प्रश्नको उत्तर दिनुको सट्टा उनलाई प्रतिप्रश्न गर्थें। ‘तिमीले के माग्यौ नि?’
उनी भन्थिन्, ‘मैले त तपाईंलाई अनि तपाईंले नि?’
मैले ‘तिम्रो मनोकामना र सबै इच्छा पुर्याइदेऊ भनी प्रार्थना गरेँ’ भन्ने गर्थेँ। त्यसपछि हामी दुवैजना टुँडिखेल तिर जाने गर्थ्यौं र टुँडिखेल पुगेपछि एउटा ठाउँमा बस्दै गफिँदै एक बोतल जुसमा दुई मुख लगाई पिउथ्यौँ। अनि चैतमासको घाममा दहीको चिसोसँगै माया बाढ्थ्यौँ।
मैले ब्याचलर पनि सकेँ, मेरो ब्याचलरको त्यो तीन वर्ष कति छिट्टै बित्यौ मलाई नै थाहा भएन। ब्याचलरको यात्रा सकिएसँगै उनीसँगको यात्रामा पनि पूर्णबिराम लाग्यो। उनी सितको अटुट माया अब पानामा पनि नकोरिने इतिहास बनिसक्यो। केबल मलाई तड्पाइरहने इतिहास।
ब्याचलर सकेर मैले आमाबुबालाई भेट्ने अनि उनीलाई दुलही बनाएर मेरो घरमा प्रवेश गराउने भनेर गाउँ जाने निर्णय गरेको थिएँ। त्यो निर्णय उनलाई पनि सहमत थियो। उनको अनुमति लिएर म त्यो दिन गाउँ गएँ। अफिसबाट धेरै दिनको बिदा नदिएकाले म दश दिनको लागि गाउँ गएँ। मलाई उनी गाडीमा बसाउन त्यही बसपार्क आइन्। उनीबाट दश दिनको लागि म छुटिँदै थिएँ तर त्यो बिछोडको पल मेरो लागि एक जुनी पुरै उनीबाट टाढा भइरहेको जस्तो महसुस भयो।
त्यो दिन उनी बिहानै मेरो रुममा आइन् र मेरो सबै लुगा फाटो मिलाउन थालिन्। साथै घरको लागि भनेर खानेकुरा र आमाबुबाको लागि नयाँ लुगा किनेर ल्याएकी थिइन्। उनले आफ्नो तर्फबाट आमालाई तिलहरी बनाएकी रहेछन्। मलाई उनले ‘आफूले नै बनाएको हुँ भन्नू, मेरो नाम नलिनू’ भनेर आमाको लागि त्यो उपहार स्वरुप तिलहरी पठाइन्।
मेरो बस बेलुकी चार बजेको थियो। हामीले त्यो दिन सुखदुःख र जीवनका बाँकी पाइला कसरी अघि चाल्ने भन्ने विषयमा कुराकानी गर्दागर्दै बेलुकाको तीन बजिसकेको रहेछ।
अनि उसले नै ‘सुकुमार, हजुरको जाने समय भयो जाउँ अब बसपार्क तिर’ भनी। मैले हुन्छ भन्दै दुवैजना बसपार्क तिर लाग्यौँ। म जाने बस तयार भइसकेको रहेछ। मैले पनि अब मेरो मायालाई छोडेर जानु थियो, मेरो आमाबुबालाई भेट्न। मलाई त्यो बेला यस्तो लागि रहेको थियो कि म अब मेरो मायालाई कहिले पनि नभेट्ने गरी जाँदैछु। मलाई बसपार्कबाट गाउँको गाडीमा जान मन नै लागि रहेको थिएन तर पनि बाध्यता बस् जानु नै थियो, मेरो भगवानरुपी आमा-बुबा गाउँमा थिए मेरो प्रतिक्षा गर्दै बसेका होलान्।
मेरो गाडी गुड्ने बेला भएछ, हामीले छुट्टिने समय आयो। त्यो दिन हामी तीन वर्षपछि केही दिनको लागि भौतिक रुपले टाढिँदै थियौँ। उनका आँखा आँसुले टिलपिलाएका थिए। म गाडीमा चढेँ अनि मसँगै उनी पनि चढिन्। खलासी दाइले पेसेन्जरलाई छिटो बस्न अनुरोध गर्दै थिए।
म मेरो सिट नजिकै गए सिटमा बस्नुभन्दा अघि मेरी मायाले मलाई च्याप अंगालोमा बाधी र बेसरी रोई। उसको मुटुको धड्कन धावकभन्दा बढी बेगले धड्किरहेको म सहजै महसुस गर्न सक्थेँ।
उसलाई मैले सम्झाउँदै भनेँ ‘हेर माया, यसरी तिमी रोयौ भने मेरो यात्राको यादमा म तिमीलाई रोइरहेको मात्रै पाउनेछु। यो दश दिनको बसाइमा तिम्रो आँखामा म आँसु आएको मात्रै देख्नेछु, त्यसैले मलाई हाँसीहाँसी बिदाइ गर, फेरि म सदाको लागि जाँदै पनि हैन। तिमी र म सधैँ एक हुन म गाउँ जाँदैछु। फेरि यो खुसीमा कोही यसरी रुन्छ त? लाटी ल हाँसेको खै?’ भन्दै फकाएँ।
उसले आँसुका बुध लुकाए जस्तो गरी देखावटी हाँसो हाँसेर मलाई बिदाइ गरी गाडीबाट ओर्लिएसँगै मेरो धड्कने मुटु पनि उसैसित ओर्लिएको जस्तो भान भयो।
ऊ त्यो दिन गाडीबाट मात्रै हैन, मेरो जीवनबाट नै ओर्लिएकी रहेछ। त्यस दिनपछि मैले उसलाई कता-कता खोजिनँ। मैले भ्याउने ठाउँसम्म खोजेँ तर कतै भेटिनँ। फेसबुक, म्यासेन्जर, फोन सबै सञ्चारका माध्यमबाट मलाई ब्लक गरेकी रहेछ। उसका साथीहरुलाई सोधेँ, कसैले बताउन चाहेनन् त कसैले ऊ बाहिरी देश गएको कुरा बताए। उसको आमा-बाबालाई पनि भेटेर सोध्न मन त नभएको कहाँ होर तर बाध्यता र परिधिले रोक्यो मलाई।
मैले घरबाट आएपछि मेरो कोठामा एक जोर पाउजु पाए ती पाउजु ऊ मेरो कोठामा नै बिर्सिएकी रहेछ। आजभोलि म ती पाउजु र उसले दिएको पहिलो उपहारलाई माया गर्छु। खासगरी म वस्तुसित मायाप्रेम गर्छु। मान्छेहरुले ती वस्तुहरुलाई निर्जीव भने पनि म भने तिनलाई माया गर्छु। व्यक्तिसँग मात्रै हैन वस्तुसँग पनि सम्बन्ध गाँसिदो रहेछ र मैले गाँसे।
म अब कुनै पनि व्यक्तिसँग सम्बन्ध गाँस्दिनँ किनकि व्यक्ति सधैँ मेरो नजिक रहँदैनन् र म एक्लोसँग सम्बन्ध राख्दैनन् तर ती निर्जीव वस्तु न अरु कसैसँग सम्बन्ध गाँस्छन, न त मबाट टाढा नै हुन सक्छन्। त्यसैले म दुई वर्षदेखि वस्तुलाई नै माया गर्दै आएको छु।
उनी गएकोमा मलाई अपसोच त छैन तर किन त्यसरी गइन् भन्ने कुरामा अपसोस पक्कै हो। उनले एकचोटि मबाट टाढिनुको कारण भनेको भएँ म उनीसँगै बिताएका यादसँगै सारा जीवन बिताइ दिने थिएँ। उनले मेरो मायाको शक्ति बुझेकै रहेनछन्।
त्यसपछिका समयमा म भौतारिएँ बहुत। त्यसपछि म वस्तुसँग माया गरेर उनीसँग बिताएका मिठा यादहरुमा बाचिरहेको छु। मैले एउटा कुरा थाहा पाएँ। मेरो नाम कृष्ण नभएरै उनी मेरी राधा नबनेकी हुन्। पछि अर्को कुरा पनि थाहा पाएँ कृष्णले माया, प्रेम राधासित गरे पनि विवाह रुकमणी सित गरेका थिए।
अन्ततः मैले यो बुझेँ कि हामी त एकै आत्मा हौँ। एकै आत्मा कसरी मिल्छ होला? ऊ त पहिलादेखि नै स्वतः मिलेको हुन्छ। यहाँ मिल्ने र मिलन हुने दुई आत्माको हो। उनको लागि म को थिएँ थाहा भएन। तर मेरो लागि उनी मेरो आत्मा थिइन् र छन् सधैँ रहिरहने पनि छन्।
पूर्णिमाको रातहरुमा अझै पनि आकाश तिर फर्केर चन्द्रमाको उज्यालो हेर्छु। अनि सोच्छु, यो चन्द्रमा तिमीले पनि त हेरिरहेकी होलिऊ? यो चन्द्रमाको शीतलता तिम्रो शरीरमा पनि त सञ्चारित भइरहेको होला? धेरै कुरा बदलिए प्रिय मान्छे, तर तिमीले हेर्ने चन्द्र र मैले हेर्ने चन्द्रसँगै मैले गर्न माया उस्तै छ प्रिय मान्छे।
प्रिय मान्छे, यो पत्र पायो भने पनि मलाई देख्न खोज्न नहिँड्नु है? यदि तिमी खोज्दै आयौ भने म झन् आफूलाई सम्हाल्न सक्ने छैन। अब म यसै ठिक छु। तिमी तिम्रो सुन्दर संसारमा रमाउनु है? मलाई दैवले माया गर्ने मुटु त दियो तर माया पाउने भाग्य रेखा कोर्न बिर्सिएछ। यदि मैले यो कुरा लेखेर कुनै गल्ती गरेको रहेछु भने एक अन्जान साथी सम्झेर माफ गरिदिनु ल।
उहीँ तिम्रो
अभागी सुकुमार ।
सेतोपाटीबाट साभार
फेसबुक प्रतिक्रियाहरु