आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं,देवीको पूजा र उपासना गरी मनाइँदै छ। असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुनेगर्छ ।
पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर यो समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली हुनुका साथै दसैँको भोजन र हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ । दसैंमा घर-घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने असार र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।
काठमाण्डौ उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालीकास्थान, बज्रयोगिनीलगायत उपत्यका बाहिरका पीठमा आज विशेष पूजा हुन्छ । शक्तिपीठमा गएर पूजा आराधना एवम् दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन विशेष पूजा गरिन्छ ।
फेसबुक प्रतिक्रियाहरु