बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • विद्युत सर्ट हुँदा आगलागी, ३८ घरगोठ जले
Breaking News

विद्युत सर्ट हुँदा आगलागी, ३८ घरगोठ जले

रामेछाप । रामेछाप, सर्लाही र दोलखामा भएको आगलागीमा ३८ वटा घरगोठ जलेका छन् । आज दिउँसो रामेछाप नगरपालिका–७ सुकाजोरमा आगलागी हुँदा २२ घरगोठ जलेका छन् । रामेछापमा विद्युत् सर्ट भइ आगलागी हुँदा एकै गाउँका ११ वटा घर र ११ वटा गोठ गरी २२ वटा घर गोठ जलेर नष्ट भएको हो । आज दिउँसो स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत् सर्ट भइ आगलागी सुरु भएको थियो ।

श्रेष्ठको घरमा लागेको आगो हावाहुरीका कारण नजिकका छिमेकी चिरञ्जीवी श्रेष्ठ, ठेगबहादुर मगर, हिमाल श्रेष्ठ, एकलाल श्रेष्ठ, दलबहादुर मगर, ईश्वरलाल श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, शंकर श्रेष्ठ र प्रेमकुमार श्रेष्ठका गरी ११ वटा घर र ११ वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए । आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ । आगलागीले नगद, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेका छन् ।

क्षतिको पूर्ण विवरण आउन अझै बाँकी नै छ । अहिले पीडितका लागि अस्थायी टहरा बनाउने काम भइरहेको रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले जानकारी दिए । तत्काललाई खाद्यान्न र लत्ताकपडा नेपाली सेना र रामेछाप नगरपालिकाबाट व्यवस्थापन गर्ने काम भएको छ । आगलागी पीडितका लागि खाद्यान्न, ओड्ने र ओछ्याउने म्याट, भाँडाकुडा लगायतका सामाग्री व्यवस्थापन गरिएको रामेछाप नगरपालिकाका उप–प्रमुख सिर्जना खड्काले जानकारी दिइन् ।

यस्तै सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवामा आज दिउँसो आगलागी हुँदा १४ घर जलेका छन् । स्थानीय प्रदीप पासवानको घरबाट सुरु भएको आगोले १४ घरमा क्षति गरेको हो । आगोले घरसहित खाद्यान्न, लत्ताकपडा नष्ट भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिए । दिउँसो एक बजेदेखि सुरु भएको आगो प्रहरी, स्थानीय बासिन्दा र हरिवन नगरपालिकाको दमकलले तीन घण्टापछि निभाइएको थियो ।

प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवानलगायतको घर जलेको र क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ । यस्तै गरी दोलखाको कालीञ्चोक गाउँपालिका वडा नम्बर–५ लापिलाङमा दुई वटा घर जलेर नष्ट भएका छन् । बिहान भएको आगलागीमा परि विकास थापा र कृष्णबहादुर थापाको घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । खाना पकाउने क्रममा कृष्णबहादुर थापाको घरबाट आगो सल्केको प्रहरीले जनाएको छ । आगलागीले दुई वटा घरसँगै घरमा रहेको अन्नपात नगदलगायत जलेर नष्ट भएका छन् । आगलागीबाट झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार