शुक्रबार, पुस ५, २०८१
  • होमपेज
  • माओवादी ब्रान्ड समातेर देश विकास नहुने : भट्टराई
Breaking News

माओवादी ब्रान्ड समातेर देश विकास नहुने : भट्टराई

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी ब्रान्ड समातेर देश विकास नहुने बताए । आज शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाण्डौमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै उनले यस्तो बताए । भट्टराईले समय धेरै फेरिसकेको भन्दै अब माओवादीका नेताहरूलाई अब आर्थिक विकास र समृद्धिको बारेमा सोच्न पनि सुझाव दिनुभयो । उनले भने, ‘अब माओवादी ब्रान्ड समातेर देशको विकास हुँदैन । जनयुद्धप्रति मलाई गर्व छ, माओवादको एउटा फौजी पक्ष थियो, त्यसको हामीले सफलतापूर्वक प्रयोग गरेका थियौँ । तर अब जहाँसम्म आर्थिक निर्माणको पक्ष छ, पुरानो सत्ता भत्काउन त फौजी पक्षको आवश्यक्ता थियो हामीले भत्कायौँ । तर नयाँ निर्माण गर्नका निम्ति अब त अर्थ राजनीति पक्ष जरुरी छ । अब माओवादी भएर होइन, अब त्याङवादी भएर काम गरेमा आर्थिक विकास र समृद्धि ल्याउन सकिन्छ । हामीले छिटो दुई अङ्कको वृद्धि दर हासिल गर्नुछ, रोजगारी सिर्जना गर्नुछ, व्यापार घाटा घटाउनुछ र देशको तीव्र गतिले विकास गर्नुछ भने हामीले हिजोको उदारवाद र हिजोको साम्यवादको मोडेलभन्दा फरक ढङ्गले अघि जाने आँट गरौँ ।’

यस्तै नेता भट्टराईले अर्थतन्त्रलाई तथ्याङ्कको खेलबाट मुक्त गर्न युवा अर्थशास्त्रीहरूलाई सुझाव दिए । उनले नेपालको अर्थतन्त्र कसरी यस्तो भयो, कसरी समाधान गर्ने भन्ने कुरा सोच्न आवश्यक रहेको पनि बताए । उनले भने, ‘हामीले अहिले के भइरहेको छ, के चाहिएको छ, हामी गरिब छौँ, बेरोजगार छौँ, परनिर्भर छौँ, आयातमा निर्भर छौँ, पुँजीको अभाव छ, भएको पुँजी पनि खर्च गर्ने क्षमता छैन । भ्रष्टाचार छ । असमानता छ, विभेद छ । हामी सबैलाई थाहा छ । तर किन भयो, यो त रोगको लक्षण छैन । ज्वरो आयो त्यो त रोगको लक्षण हो, तर ज्वरो धेरै तरिकले आउँछ । त्यसैले ४०र५० वर्षदेखि किन यो भइरहेको छ ? आर्थिक वृद्धि दर ३०र४० वर्षदेखि चार प्रतिशत मात्रै छ । जबकि यो बीचमा हाम्रा छिमेकी देशहरूले हामीलाई उछिनेर अघि गइसक्यो । अनि हामी चाहिँ कहाँ चुक्यौँ ? यसबारे छलफल हुनुपर्छ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार