शनिबार, पुस ६, २०८१
  • होमपेज
  • ‘कतै मैले पनि छोरी भई जन्म लिनुमा गल्ती पो गरें कि?’
Breaking News

‘कतै मैले पनि छोरी भई जन्म लिनुमा गल्ती पो गरें कि?’

रेखा कलौनी

 

लामो लठ्ठ परेको कपाल सायद कपालभरि जुम्रा पनि थिए होलान्। शरीरमा लगाएको लुगामा फोहोरै-फोहोर टाँसिएको थियो। उनको शरीरबाट निस्कने दुर्गन्ध केही परसम्म पुग्थ्यो।

सायद लामो समयसम्म ननुहाएकाले पनि होला। उनको नजिक पनि कोही जान चाहँदैन थिए। उनी त्यो सहरमा कहाँबाट आइन्, कसैलाई पनि थाहा थिएन। उनको नाम पनि थाहा थिएन।

उनी कहिले सडकका पेटी त, कहिले मन्दिरका पेटीमा निदाउने गर्थिन्। रात कटाउने गर्थी। उनको संसारमा कोही आफ्नो छ कि छैन कसैलाई थाहा पनि थिएन। एक्लै मुस्कुराउँथिन्,एक्लै रुन्थिन्। यो देखेर सबै उनलाई पागल नामले बोलाउने गर्थे। तै पनि उनी लडिबुडी पापी सहरमा विवश भएर हिँडिरहन्थिन्।

कहीलेकाहीँ गुड्दै गरेका ती सवारीसाधन रोकी दिन्थिन्। त्यो बेला उनलाई गाडीवालाहरूले चुडेल्नी, राक्षसनी नाम दिने गर्थे। उनलाई यो सब सुन्ने बानी बसिसकेको हो भन्ने मलाई लाग्थ्यो। उनलाई सबैले आफूले खाएर छोडेको खाने कुरा दिने गर्थे। उनको लागि ताजा भात रोटी खानु भनेको ‘आकाशको फल आँखा तरी मर’ भने झैं थियो।

उनको यो अवस्था देखेर मलाई खुब फिक्री लाग्थ्यो। म पनि त्यो सहरमा नयाँ-नयाँ थिएँ। उनलाई बुझ्न त चाहन्थेँ तर मनले भन्ने गर्थ्यो कि अब उनलाई बुझ्ने समय गइसक्यो। किनकि, उनले आफूसँग भएको असली दिमाग गुमाइसकेको भान मलाई पर्थ्यो।

एक दिन उनी म बस्ने घरको पछाडिपट्टि आएकी देखेँ। यही मौका छोपी उनीसित बोल्ने कोसिस गरेँ। म उनीनजिकै जाँदा उनी मलाई अँगाल्न पुगिन् र डाँको छोडी रुन थालिन्। सायद, उनीनजिक आजसम्म त्यसरी कोही नगएकाले होला।  मैले पनि आफूलाई सम्हाल्न सकिनँ। दुबै जना धित मरुञ्जेलसम्म रोयौं। एकछिन मौनता छायो। उनलाई लिएर म मेरो रुमतिर गएँ। दुबै जनाले खाना खायौं। उनको बारेमा थोरै कुरा मैले गरेँ।

उनी आर्थिक रुपले विपन्न परिवारमा हुर्केकी मान्छे रहिछन्। गरिब परिवारबाटै भए पनि उनले ब्याचलर पास गरेकी रहिछन्। उनका यति कुराले नै म स्तब्ध भएँ। उनले ब्याचलर पास गरेर पनि यसरी सडकमा भौंतारिनु परेको छ।

केहीबेर दुबैले दुःख-सुखका कुराकानी गर्‍यौं। उनलाई छोड्न राति म उनी बस्ने ठाउँसम्म गएँ। उनी एक मन्दिरको पछाडि पेटीमा बस्दिरहिछन्। उनको यो अवस्था देखेर आफैंसित बसाउन मन त थियो तर पनि मलाई यो पापी दुनियाँले उसैसँगको दर्जा दिने डर मनभरि भयो। अनि उनलाई छोडेर फेरि भेटुँला भनी प्रतिज्ञाका साथ रुमतिर फर्किएँ। कोठमा त पुगेँ तर मन भने उनी भएकै ठाउँतिर थियो।

म उनलाई बेला-बेला भेट्न जाने थालेँ र आफूसँग भएको खाने कुरा दिएर आउने गर्थे। एक दिन हामी दुबै जना अबेरसम्म बस्यौं र उनको विगत बताउन आग्रह गरेँ। उनीले भनिन्, ‘यो सबैको कारण मेरो विवाह थियो। सायद विवाह नै नभएको भए म आज यो भोग्ने थिइनँ होला।’

‘हुन त कर्म र भाग्यको कुरा हो। भन्न केही सकिँदैन सानी,’ उनका यी शब्द सुन्दा म पूरै पसिनाले भिजिसकेकी थिएँ। मेरो आवाज एकैछिन हरायो।

के विवाह भनेको नारीको लागि बाधक नै हो र? किन समाजले बुझ्दैन एउटी नारीभित्र बितिरहेका पीडाहरू? किन नारीलाई झुटा र कहिले सत्यमा परिणत हुन नसक्ने कुरामा दोषी ठहर्‍याउँछ? कि  बालिकाले एक छोरी भएर जन्मिनु पाप हो या बुहारी, श्रीमती, भाउजू भएकोमा?

उनको नाम पूजा रहेछ तर नाम पूजा भएर के गर्ने उनको मन, भावना र कर्मको कहिले पूजा भएन। म उनलाई प्रश्न गर्छु- पूजा बिहेको कारणले यो सबै भयो भन्यौ तर कसरी भयो?

मेरो प्रश्नले उनको विगत मागिरहेकाले उनको मन पोलिरहेको म महसुस गर्दैथें। उनले बताउन मानिरहेकी थिइनन्। मैले जिद्धी गरेँ। अनि बल्ल सुरू गरिन्।

ब्याचलर सकिएपछि उनको बिहे आर्थिक रुपले सम्पन परिवारमा भएको रहेछ। उनी घरकी माइली छोरी अनि सासु-ससुराकी कान्छी बुहारी रहिछन्। घरमा नयाँ दुलही, सबैतिर रंगीचंगी छाएकाले केही दिन घरको वातावरण एकदमै खुसी र सुखी भएछ। कान्छो छोरो आमाको लाड्लो हुन्छ भन्छन्, हो त्यसरी नै कान्छाकी दुलही पनि सासुकी खुबै लाड्ली थिइन्।

उनकी सासुले गाउँलेहरूलाई आफ्ना बुहारीहरूको बारेमा चर्चा परिचर्चा गर्ने गर्थी। कान्छीको अलि बढी नै गर्थी। सायद नयाँ-नयाँ बुहारी या लाड्ली भएकाले होलिन्।

बुहारी पनि उनकी दुबै सुशील र सुन्दर संस्कारी थिइन्। कोही-कोही गाउँले उनको परिवार देखेर जल्ने गर्थे रे। यसरी नै केही समय रमणीय बित्यो। भनिन्छ नि खुसी लामो समयसम्म टिक्दैन हो। बिचरी कान्छीको जीवनमा पनि ‍औँसीको कालो रातले घेर्‍यो।

उनका खुसी, सपना, भनौं भने संसार नै एक क्षणभरमै लुटियो। भाग्यको खेल भन्ने कि के भनौं दैवको लीला हामी मनुष्यले चाहेर पनि मेट्न सक्दैनौं।

कस्तो निष्ठुरी दैव! कोही-कोही सम्बन्ध सम्झनामा मात्रै राख्ने गरी जोडी दिन्छ। अब कान्छीको त्यो घरसँगको सम्बन्ध एक सपनाजस्तै हुने भयो।

एकदिन कान्छीको श्रीमान् अफिसबाट घर आउँदै रहेछन्, अचानक बाटोमा गाडी दुर्घटनामा परेछ। नजिकको प्रहरी चौकीले उनलाई यथाशीघ्र अस्पताल पुर्‍याएर घरमा जानकारी गराएछन्। तर, कान्छीको स-परिवार र कान्छी, कान्छाको समिप पुग्ने बेलासम्म उनले सदाका लागि कान्छीसँगको सहयात्रामा पूर्णविराम लगाए रे।

उनका यति कुरा सुन्दासम्म मेरा गाला आँशुले भिजेका थिए। म आफ्नो पछ्यौरीले आँशु पुछ्दै हिक्क-हिक्क गर्दैथे। उनी उता पल्टेकी थिइन्। मैले कान्छीतिर हेरेँ, उनका ती ठूला-ठूला आँखाबाट वर्षात झैं बलिन्द्र धारा आँशु आइरहेका थिए। मैले उनको आँशु पुछिदिएँ। तर पनि रोक्न भने सकिनँ। दुबै जना खुब रोयौं।

कान्छी अगाडि थप्छिन्- एकै छिनपछि उहाँको मृत शरीर घर ल्याएर आयौं। घरमा छिमेकीहरू जम्मा भएका थिए। सबै जनाको आँखामा आँशु थियो। कान्छीको समुदाय नै शोकमा डुब्यो। उनको समुदायले एक होनहार युवा गुमाएको थियो।

आखाँमा देखावटी आँशु र मुखमा चिप्ला कुरा गर्ने छिमेकीहरूले कान्छीको बारेमा कुरा काट्न सुरू गरिसकेछन्। बिचरी सानै उमेरमा विधुवा भई अब के गर्छे? न त सन्तानै छ, सहारा लिएर बाँच्न उसले त सानै उमेरमा सेतो बस्त्र पो लगाउनु पर्‍यो।

किन कान्छीले कान्छाबिना बाँच्न र कुनै प्रगति गर्न सक्दिन र? अब जति जे भए पनि कान्छालाई फर्काएर ल्याउन सक्ने कुरा पनि भएन।

समय बित्दै गयो। समयसँगै कान्छीका मन मुटुभरिका घाउ पुरिएलान् कि भने लाग्थो रे। तर पुरिनुको सट्टा छरछिमेकी, घरपरिवार र समाजबाट नै उनका घाउहरूमा नुनचुक छर्ने काम हुन थालेछ। हिजो अस्तिसम्म कान्छी बाटोमा हिँड्दा नयाँ दुलही आई भनेर लुकीलुकी हेरेर जिस्काउँदै बोलाउने साना भुराभुरी पनि उनलाई देख्नेवित्तिकै अलछिना आई भनेर उनीतिर थुकेर जाने गर्छन् रे।

यति मात्रै हो र छरछिमेकीले त उनी हिँड्ने बाटो नै छुट्याएछन्। उनले कसैको बाटो काटेमा असुभ हुन्छ रे! उनलाई देख्नेवित्तिकै ढोका बन्द गरिदिन थालेछन्। अलछिना, आफ्नै श्रीमानलाई खाई अब हामीलाई पनि खान्छे लगायतका कुरा सुनाउँछन्। गाउँमा आफ्नी बुहारीको चर्चापरिचर्चा गर्ने ती सासुको पनि रुखो बोली हुन थाल्यो। कान्छीलाई एक गाँस खाना दिन पनि कुकुरलाई झैं व्यवहार गरी दिन थाले। मेरो छोरा त खाइस्, अझै क-कस्लाई खाने होस्?  लगायत धेरै कुराले उन्नलाई डाम्ने गर्थे।

मलाई उनका यी कुरा सुनेर अत्यास लाग्यो। कान्छाको दुर्घटनामा परेर ज्यान जानुमा कान्छीको के दोष? मान्छे पनि अलछिना हुन्छ र भन्या? मैले बुझ्नै सकिनँ यो समाजलाई। उफ!

उनले कैयौं रात घरको पेटीमै बिताइन्। कैयौं छाक भोकै बसिनन्। सासु-ससुराको छुच्चो र रुखो बोली कति सुनिन् कति, छरछिमेकीको छुद्र व्यवहार कति सहिन्। यो सबै उनकै मनभरि छ। म त एक आभास गर्ने व्यक्ति परेँ। ‘छन् गेडा सबै मेरा, छैन गेडा सबै टेडा’ भने झैं उनको नजिकको मान्छे नै टाढा भइदिँदा अब अरु उनको नजिक को नै जान्थ्यो र? उनीमाथि झन्-झन् अभद्र व्यवहार हुँदै गयो। माइत पनि जान सकिनँ। उता पनि छर-छिमेकीकै डर अनि बाबाआमाको इज्जतको कुरा थियो।

उनीमाथि पीडापिच्छे पीडा बर्सिन थाल्यो। यो बेला घरपरिवारले उनलाई सहयोग र सान्त्वना दिएर उनका घाउमा मलमपट्टी लगाउनुको सट्टा उल्टै उनलाई अलछिना भनी लखेटे।

अन्त्यमा उनलाई घरबाट निकालेरै छोडेछन्। त्यो बेलादेखि उनी अन्जान सहर पसेकी रहेछन्। सहरमा चिनेजानेका कोही भएनन्। केही गरीखान पावर, पैसा भएन। आफूसँग भएको ऊर्जा, साहस सबै श्रीमानको यादमा गुमाइन्। अनि सहरको गल्ली र पेटीलाई सहारा बनाउन विवश भइन्।

उनको त्यो अवस्था, कहालीलाग्दो जीवन कथा सम्झिँदा मेरो मुटुमा आज पनि भूकम्प कम्पित हुन्छ। कहिलेकाहीँ एक मनले सोच्ने गर्छु- कतै मैले पनि छोरी भई जन्म लिनुमा गल्ती पो गरें कि? फेरि अर्को मनले जवाफ दिन्छ – हैन हैन छोरी भएर जन्मिनु गल्ती गरिनँ। बरु यस्तो समाजमा जन्मेर गल्ती गरेँ कि!

छोरी त महान् हुन्छे, छोरी भएको घरमा लक्ष्मीको बास हुन्छ रे भन्ने भनाई मेरो कानमा आज पनि गुज्रिरहन्छ। छोरी सबै आमाबुवाको भाग्यमा हुँदैन। जुन आमाबुवाले छोरी जन्माउँछन् उनले कुनै न कुनै जन्ममा पुण्यको काम गरेकै होलान्। नत्र छोरी जन्माउने सौभाग्य, साहस र क्षमता सबै आमाबुवाले पाउनुपर्ने हो नि, हैन र?

छोरीले दुई-दुई घरको इज्जत, मान, मर्यादा, प्रतिष्ठा जोगाएर राखेकी हुन्छे। तर गलत सोच, विचार र रुढिवादी भावनामा हामी छौं। श्रीमान बितेको शोकमा डुबेकी पूजालाई सम्हाल्ने मान्छे नहुँदा सडकमा भौंतारिन पुगिन्।

परिवारले एक छोरीजस्तो सम्झी सहयोग गरी उनीका आँशु पुछिदिएको भए उनी सडकमा हुने थिइनन् होला। उनीजस्तै जीवनमा कति छोरीबेटी यो अवस्थासँग गुज्रिरहेका छन् कुन्नी? अहिलेको युगमा पनि हामी कस्तो सोच लिएर बाचेका छौं। कानुन र नियम खाली कागजी पानामा राखेर केही हुँदैन, त्यो पूर्णरुपमा लागू हुनुर्‍पयो। लागू गर्नका लागि कुनै छुट्टै नीति पनि चाहिँदैन। हामी हैन, म बाटै सुरू गर्ने हो। अनि छोरीहरूको जिवनमा बल्ल सूर्यको किरण छाउने छ।

 सेतोपाटीबाट साभार

प्रकाशित मिति: शनिबार, असार ५, २०७८, १२:२८:००

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार