शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • नेकपा एकीकृत समाजवादीद्वारा स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटाईयो
Breaking News

नेकपा एकीकृत समाजवादीद्वारा स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटाईयो

 

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटाएको छ । बिहीबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचन अभियानका लागि सातवटा प्रदेशमा खटिने नेताको टुंगो लगाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल तुलाधार, गण्डकीमा उपाध्यक्ष जयन्ती राई खटिनेछन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिममा स्थायी समिति सदस्य रामचन्द्र झा खटिनेछन् ।नेकपा एकीकृत समाजवादीले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि ‘जनतामा जाऊ, एकीकृत समाजवादीलाई जिताऊ’ भन्ने नारासहित चुनावी अभियान गर्न लागेको छ । सो अभियानका लागि सातवटै प्रदेशमा पदाधिकारीसहितको टोली पठाउन लागेको हो ।

यसैबिच नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले आउँदो स्थानीय तहको चुनावमा आफ्नो पार्टीको शक्ति देखिने बताएका छन् । आज बिहीवार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले आउँदै गरेको स्थानीय तह चुनावमा आफ्नो पार्टीको शक्ति देखिने भन्दै आफूहरूलाई खिसीटियुरी गर्नेहरूको हरिबिजोग हुने बताए ।अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीको भविष्य उज्ज्वल छ । वैशाख ३० गतेको चुनावमा सत्य र न्यायको प्रतीकको रूपमा रहेको कलमले अवश्य कमाल गर्नेछ । पार्टीको शक्ति चुनावको मैदानमा देखिनेछ । हाम्रा खिसी टिउरी गर्ने तत्त्वहरूको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ ।’
अध्यक्ष नेपालले स्थानीय तह चुनावमा प्रगतिशील भूमिका खेल्नेहरू पुरस्कृत र प्रतिगामी भूमिका खेल्नेहरू दण्डित हुनुपर्ने धारणा राखे । प्रतिगामी भूमिका खेल्नेहरू पुरस्कृत भएमा समाज बाँच्न लायक पनि नहुने उनको थियो । राजनीतिलाई आकर्षणको विषय बनाउनका लागि राजनीतिमा असल पात्र, प्रवृत्ति र चरित्रलाई अगाडि सार्नुपर्ने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार