बुधबार, असार ५, २०८१
  • होमपेज
  • बझाङमा दन्त शिविर : २० वर्षपछि फर्केको खुसी
Breaking News

बझाङमा दन्त शिविर : २० वर्षपछि फर्केको खुसी

 

बझाङ — दौंतरी लौरोको सहारा नलिई हिँडडुल गर्न सक्दैनन् । जयपृथ्वी नगरपालिका–६ नौराका ८० वर्षीय रणबहादुर सिंह अझै भने ठमठम हिँड्छन् । अग्ला कदका उनी सहाराबिनै २ घण्टा हिँडेर सदरमुकाम चैनपुर आउजाउ गर्न सक्छन् ।

बझाङको जयपृथ्वी–६ नौरका ८० वर्षीय रणबहादुर सिंह पहिले र अहिले। तस्बिर स् कान्तिपुर
सानोतिनो भारी बोक्ने मात्रै होइन, परिआए जवानसरह काम गर्न सक्ने बताउँछन् । एउटै कुराले मात्रै आफूलाई बूढेसकाल लागेको चिन्ता उनलाई थियो । चिन्ताको विषय थियो दाँत ।

रोटी र मासु खान औधी रुचाउने सिंहको मुखमा एउटा पनि दाँत थिएनन् । उनको मनले रुचाउने खाना खान नपाउँदा भित्रभित्र आफू कमजोर हुँदै गएको महसुस हुन्थ्यो । बूढेसकालले छोप्दै गएको कुराले निराश हुँदै गएका थिए । ‘घरमा मीठोमसिनो पाक्दा मनले खान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । खान मन लागे पनि दाँतले चपाउन त हुँदैन,’ उनले भने ‘मनले मागेको छ, घरमा पाकेको छ तर खान मिल्दैन । अनि अब मेरा दिन सकिँदै गएछन् भनेर चिन्ता लाग्ने रहेछ ।’

बिहीबार यो कुरा सुनाउँदै गर्दा उनको शरीरमा बेग्लै उमंग र अनुहारमा मुस्कान देखिन्थ्यो । ६० वर्षमै सबै दाँत गुमाएका उनी २० वर्षको दन्तविहीन जिन्दगीबाट मुक्ति पाएकामा निकै हर्षित देखिन्थे । ‘दाँत नहुँदा कति पीडा हुन्छ भन्ने कुरा भनिसाध्य छैन । २० वर्षपछि पहिला जस्तै चपाउन सक्ने भएँ, नौलो जुनी पाए जस्तो लागेको छ,’ उनले भने । अब चाहेको कुरा खान सक्ने भएपछि सय वर्ष बाँच्ने विश्वास उनले व्यक्त गरे ।

खप्तड छान्ना गाउँपालिका–७ किमरुखकी ७१ वर्षीया गौरी रोकायाको कथा पनि उस्तै थियो । ५५ वर्षको उमेरमा सबै दाँत झरेपछि १६ वर्षयता उनले राम्ररी खान मात्रै होइन, मन खोलेर हाँस्न पनि सकेकी थिइनन् । परिवार, छिमेकी र दौंतरीहरूले जिस्किएर ‘थोते बूढी’ भन्दा उनको चित्त दुख्थ्यो । बोली स्पष्ट बुझिँदैन थियो । त्यही कारण उनलाई हाँस्न मात्रै होइन, कसैसँग गफिने जाँगर पनि चल्दैनथ्यो ।

‘कहिलेकाहीँ त एउटै कुरा १० पटकभन्दा पनि अरूले बुझ्दैनन् । थोते बूढी खोइ के भन्छ, बुझिँदैन भनेर उल्टै जिस्काउँथे,’ उनले लामो हाँसो हाँस्दै भनिन्, ‘गफ गर्ने त मन नै लाग्दैनथ्यो । कुनै बेला मैले बोलेको नातिनातिनाले नबुझेर एउटा सामान माग्दा अर्कै ल्याइदिन्थे ।’ दाँत लगाएपछि भने उनको आवाज प्रस्ट र खिरिलो सुनिन्थ्यो ।

बिहीबार रणबहादुर र गौरी जस्ता थुप्रै वृद्धवृद्धा जिल्ला अस्पताल बझाङको प्रांगणमा यस्तै खालका अनुभव सुनाउँदै एकआपसमा मुस्कान साटासाट गरिरहेका थिए । केदारस्यु गाउँपालिकाकी ७५ वर्षीया कृष्णदेवी मल्ल भन्दै थिइन्, ‘आँतले मागेको कुरा नखाएरै मरिने भइयो भन्ने लागेको थियो । आज त पहिला जस्तै चपाउन सक्ने दाँत पाएकी छु ।’

खर्च अभावका कारण सबै दाँत गुमाएर असहज जीवन बाँचिरहेका वृद्धवृद्धाको गुमेको मुस्कान निःशुल्क दन्त शिविरले फर्काइदिएको हो । स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल बझाङसँगको सहकार्यमा आयोजना गरेको कृत्रिम दाँत राख्ने यो शिविरबाट तलमाथि दुवैतिरका दाँत र बंगारा गुमाएर कष्टसाथ बाँचिरहेका १ सय ५० जना वृद्धवृद्धाले सेवा पाएका छन् । चपाउन मिल्ने नयाँ दाँतसँगै दीर्घ जीवनको आत्मबल पाएको उनीहरूले बताए । ‘धनगढी, काठमाडौं गएर उपचार गर्ने क्षमता थिएन । अहिले त देलाखी ९दैलोनेर० भगवान् आया,’ जयपृथ्वी–४ गोलाइकी जुना कामीले भनिन्, ‘बेली ९हिजो० सम्म रोटी चबाउनु हुँदैनथ्यो । आज त हड्डी पन ९पनि० फुटाउला मान्दो छौउ ९भन्ने लाग्छ० ।’ दाँत नहुँदाको समस्या शब्दमा भनेर बुझाउन नसकिने उनले बताइन् ।

जुनाले भने जस्तै पूर्ण रूपमा नयाँ दाँत राख्नका लागि निकै खर्चिलो छ । बझाङदेखि काठमाडौं आउजाउ र बस्ने–खाने खर्चको हिसाब गर्ने हो भने धेरै खर्चिलो यो सेवा जिल्लामै निःशुल्क पाउनु ठूलो उपलब्धि भएको कान्ति बाल अस्पतालका दन्त चिकित्सक डा। कुम्भराज जोशीले बताए । ‘दुर्गम ठाउँका कम आय भएका वृद्धवृद्धाका लागि काठमाडौं गएर यो उपचार गराउन असम्भव जस्तै हुन्थ्यो,’ उनले भने, ‘यहाँका बासिन्दा थुप्रै जना यस्तो समस्यामा छन् भन्ने थाहा पाएर बझाङमा शिविर आयोजना गरिएको हो ।’

दाँत नहुँदा वृद्धवृद्धाले विभिन्न खालका शारीरिक र मानसिक समस्याहरू भोग्नु परिरहेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तथा दाँत तथा मुख रोगका प्रमुख कन्सल्टेन्ट डा। प्रकाश बुढाथोकीले उपचार खर्च बेहोर्न नसक्ने दुर्गमका ज्येष्ठ नागरिक लक्षित शिविर आयोजना गरिएको बताए । ‘संविधानमा सबै नागरिकलाई स्वास्थ्यको हक हुने उल्लेख भए पनि दुर्गमका बासिन्दाले यस्तो सेवा पाउन सकेका छैनन्,’ उनले भने, ‘त्यही अभाव हटाउन हामीले मुलुककै नाम चलेका दन्त चिकित्सकलाई बझाङ ल्याएर शिविर चलाएका हौं ।’ शिविरमा आएका बिरामीको संख्या र वृद्धवृद्धाहरूको फर्किएको मुस्कानले आफूहरूलाई दुर्गम क्षेत्रमा यस्ता सुविधा पुर्‍याउन प्रोत्साहन गरेको उनले बताए ।

दाँत नहुँदा राम्रोसँग हाँस्न, बोल्न, खाना चपाउन र निल्नसमेत गाह्रो हुने, चाहेको कुरा खान नपाएपछि शरीरमा पोषक तत्व कमी हुँदै जाने र जबर्जस्ती खाए नपच्ने र झाडापखाला लाग्ने समस्या देखिने गरेको बताउँदै उनले भने, ‘यस्तो अवस्थामा मान्छेले आफूलाई मानसिक रूपमै कमजोर महसुस गर्छ ।’ कृत्रिम दाँत राखिसकेपछि यस्ता खालका समस्याहरूबाट छुटकारा पाइने उनले बताए ।

प्राडा सुरज माथेमा, वीर अस्पतालका दन्त विभाग प्रमुख प्राडा शैली प्रधान, नेपाल प्रहरी अस्पतालका डा। प्रमोदराज जोशी, धुलिखेल अस्पतालका प्राडा दिलीप प्रजापतिलगायत २२ जना चिकित्सक र ६ जना प्राविधिकहरूले ६ दिन लगाएर नयाँ दाँत राख्ने र दाँतसम्बन्धी समस्याको उपचार गर्ने काम गरेको जिल्ला अस्पताल बझाङले जनाएको छ । सबै दाँत झरेका १ सय ५०, आंशिक गुमाएका ७७ र दाँतका अन्य समस्या भएका ४ सय २५ जना शिविरबाट लाभान्वित भएको अस्पताल प्रमुख डा। सन्दीप ओखेडाले बताए ।                                                            कान्तिपुर दैनिकबाट साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार